धनकुटा । साँगुरीगढी गाउँपालिका धनकुटाले भने जिल्लामा मै पहिलो पटक दिगो विकासको लागि एकीकृत भू–उपयोग योजना निर्माणको लागि मापदण्ड जारी  गरेको छ । गाउँपालिकाले भू–उपयोग ऐन–०७६, भू उपयोग नियमावली ०७९ अनुसार पालिका भित्रको जग्गाहरूको भू–उपयोग योजनाहरू तथा जग्गामा वर्गीकरण निर्माण कार्य सम्पन्न भएको जनाएको छ । 

नेपाल सरकारको भूमि व्यवस्था, सहकारी  तथा गरिबी निवारण मन्त्रालयको ०७० ज्येष्ठ २७ को मन्त्री स्तरीय निर्णय एवं ०७९ मङ्सिर ११ को निर्णयलाई आधार मान्दै साँगुरीगढी गाउँपालिकाले भू–उपयोग योजना तथा जग्गा वर्गीकरण योजना निर्माण गरेको हो । 

अध्यक्ष जितेन्द्र रुम्दालीका अनुसार ०७९ ज्येष्ठ ४ गते जग्गा वर्गीकरण एवं भू–उपयोगको लागि गाउँपालिकाले अन्तिम निर्णय गरेको बताए । उनले गाउँपालिका क्षेत्र भित्रको भूमिलाई आवश्यकता र उपयुक्तताको आधारमा उपभोगका क्षेत्रहरू वर्गीकरण गरिएको स्पष्ट पारेका छन् । गाउँपालिका भित्रको जग्गाहरूलाई कृषि, व्यावसायिक, आवास, औद्योगिक, खानी तथा खनिज, नदीनाला, ताल तलैया क्षेत्र, वन जङ्गल, सार्वजनिक उपभोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व र अन्य उपभोगको क्षेत्रहरूमा वर्गीकरण गरिएको छ । 

मालपोत र नापी कार्यालयलाई हस्तान्तरण गरियो भू–उपयोग पुस्तिका :

गाउँपालिका भित्रको जग्गाहरूको उपभोग क्षेत्रहरूमा वर्गीकरण गरी भू–उपभोग योजनालाई अन्तिम रूप प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार ठाकुरले बताए । गाउँपालिको निर्णय र विधि भित्र रही स्थानीय भू–उपयोग परिषदबाट पारित भू–उपयोग नियमावली ०७९ बमोजिम काम कारबाही अघि बढाइएको छ । ठाकुरले भने–‘भू–उपयोग योजना कार्यान्वयनको लागि सहजीकरण गर्न मालपोत र नापी कार्यालय धनकुटालाई पालिकाले तयार पारेको भू–उपयोग योजना मापदण्ड सहितको जग्गा वर्गीकरण पुस्तिका हस्तान्तरण समेत गरिएको छ ।’ 

साँगुरीगढी गाउँपालिकाले भूमिबाट अधिकतम लाभ लिन, भूमिलाई विभिन्न क्षेत्रमा वर्गीकरण गरी प्रयोगमा ल्याउन र दिगो विकासको लागि एकीकृत स्थानीय भू–उपयोग योजना सञ्चालन गर्न अवधारणको विकास गर्नको निम्ति मापदण्ड पारित गरी लागु गरेको हो । मापदण्डमा साँगुरीगढी गाउँपालिकाको वडागत भू–उपयोग वर्गीकरण र वितरणलाई क्षेत्र निर्धारण समेत गरिएको छ ।  

वडागत भू–उपयोग वर्गीकरण अन्तर्गत कृषि क्षेत्र ७ हजार, ३०.५३ हेक्टर, वन तथा वनस्पति क्षेत्र ५ हजार ५ सय ६०.४ हेक्टर, आवास क्षेत्र २ हजार, ४ सय १७.५६ हेक्टर, व्यावसायिक क्षेत्र ६ सय ४३.९४ हेक्टर, औद्योगिक क्षेत्र ०.१० हेक्टर, सार्वजनिक क्षेत्र २ सय ६४.५९ हेक्टर, खानी तथा खनिज क्षेत्र ३४.८६ हेक्टर, धार्मिक तथा सांस्कृतिक क्षेत्र २.०२ हेक्टर, नदी तथा ताल तलैया ५ सय, १८.८८ हेक्टर र अन्य ३ सय, ४६.१२ हेक्टर गरी जम्मा १६ हजार, ८ सय १८ हेक्टर भू–उपयोग पुस्तिकामा उल्लेख गरिएको छ । 

भू–उपयोग निर्धारणको आधारहरू विद्यमान भू–उपयोगको अवस्था,नापी विभागले पठाएको भू–उपयोग क्षेत्र वर्गीकरणको तथ्याङ्क, सडक, बाटोको पहुँच र सो को वर्गीकरण, कृषि उत्पादन र उत्पादकत्वको अवस्था, वातावरण तथा विपद् संवेदनशीलता, भू–उपयोग ऐन२०७६, भू–उपयोग नियमावली–२०७९ आदि रहेका छन् । त्यसै गरी सामाजिक तथा आर्थिक पूर्वाधारको वितरण, सहरी विकास योजना/आयोजनाहरूमा वडा तहबाट आएको राय सुझाव र विभिन्न क्षेत्रका विज्ञहरू र सर्वदलीय भेला वाट प्राप्त राय सुझावलाई आधार मानेका छन् ।