विजयपुर । धरान–१७ स्थित ठकुरी खोला (खोल्सा) मा वर्षा नहुँदा पानी बग्दैन । तर, वर्षा हुन थालेसँगै बाढी आउँछ । त्यसपछि खोला किनारका सर्वसाधारण निदाउँन सक्दैनन् ।

डाँफे मार्गको सुकुम्बासी बस्तीमा ६२ घर बस्छन् । उनीहरू पानी नपर्दा आनन्दले निन्द्रा लाग्छ । तर, जब पानी पर्न थालेपछि भने उनीहरू निदाउन सक्दैनन् । कतिखेर बस्तीमा बाढी पस्छ भन्ने चिन्ताले उनीहरू निदाउन नसकेका हुन् । स्थानीय तारा शङ्कर भन्छिन्, ‘पानी पर्न थालेपछि निदाउन सकिँदैन । बगाउँछ कि भन्ने त्रास हुन्छ ।’

उनले सो क्षेत्रका ६२ घरका मानिसहरू ननिदाउने गरेको बताइन् । उनी भन्छिन्, ‘बर्सेनि पानी परेको बेला बाहिरै बास हुन्छ । नगरले पनि हालसम्म तटबन्ध गरिदिएको छैन ।’ स्थानीयका अनुसार उक्त क्षेत्रमा २०६५ सालदेखि बस्ती बसेको हो । डेढ दशक लामो अवधिमा पनि सरकारले तारजाली गरेर खोल्सा तटबन्ध नगरिदिँदा बर्सेनि जोखिममा बस्नुपरेको स्थानीय बताउँछन् । स्थानीय नवराज परियारले पानी नपर्दा आनन्द भए पनि पानी पर्न थालेपछि समस्या उत्पन्न हुने गरेको बताए । उनले भने, ‘पानी परेपछि रातभर खोला हेर्दै बित्ने गर्छ ।’

ठकुरी खोल्सामा विभिन्न वडाका नाली मिसाएको हुनाले जोखिम हुने गरेको छ । नालीको पानी आउँदा ठूलो बाढी हुने भएकाले बस्ती पस्ने जोखिम हुने गरेको तल्लो फोक्लेन टोल विकास संस्थाका सल्लाहकारसमेत रहेका स्थानीय विवेक राईले बताए । उनका अनुसार धरान–११, १२, १३, १६, १७, १८ समेत नालीको पानी आउने गरेको छ । स्थानीय सरकारमा बजेट माग गरे पनि टालटुले बजेट मात्रै दिने गरेको उनीहरूको गुनासो छ । स्थानीय राई भने, ‘पानी नपर्दा जोखिम देखिँदैन । पानी पर्न थालेपछि सुत्न पाउँदैनौँ ।’ स्थानीय सरकारले केही जाली प्रदान गरे पनि पर्याप्त बजेट नदिएको उनीहरूको गुनासो छ । धरान उपमहानगरका प्रवक्तासमेत रहेका धरान–१७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले सुकुम्बासी बस्तीतर्फ वाल लगाइदिएको बताए । उनले भने, ‘भर्खरै पनि सिंचाइ कार्यालयको १० लाख योजना परेको छ ।’ उनले ठाउँ–ठाउँमा समस्या रहेको बताएका छन् । उनले भने, ‘ठाउँ–ठाउँमा जाली हाल्नुपर्ने अवस्था छ । अहिले खर्च गर्न सुरु भएको छैन । जाली लगाइदिन्छौँ ।’

अहिले ठूलो पानी नपरेकाले समस्या छैन । पानी पर्न थालेपछि जोखिम हुने भएकाले दाता र श्रमदानबाट जाली लगाउन थालेका छन् । स्थानीय दिनेश राईको पहलमा किशोर राई, नरेश अग्रवाल र सपन श्रेष्ठले केही जाली सहयोग दिएका छन् । श्रमदानबाट जाली लगाएर तत्कालीन समस्या समाधान गने उनीहरूको भनाइ छ ।