डेंगी प्रकोपका कारण धरान आक्रान्त छ । ज्वरो आए, टाउको दुखे डेंगी लाग्यो भन्ने जाने हुन्छ । अस्पतालमा भीडभाड छ । निजी क्लिनिकहरु खाली छैनन् । डेंंगीबाट तङ्ग्रिनका लागि सुप, जुस, अत्यधिक पानी, झोलिलो खानेकुरा खान चिकित्सकले सल्लाह दिने गरेका छन् । 

धरानमा जुस तथा फलफूलको बिक्री साविक भन्दा शत प्रतिशत वृद्धि भएको खुद्रा व्यापारीहरु बताउँछन् । डेंगीको मौका छोपेर धरानका फुटपाथमा पानीयुक्त काँचो नरिवल बिक्री गर्नेहरुले चार दिनमै दोब्बर मूल्य वृद्धि गरेका छन् । चार दिन अघि ७५ रुपैयाँदेखि १ सय रुपैयाँमा पाइने हरियो नरिवल अहिले बजारमा १ सय ५० रुपैयाँदेखि २ सय रुपैयाँमा बिक्री गर्दै आएका छन् । 

Nariwal Pani Byapar Dharan (1)

‘डेढ सयमात्र होइन, अलि ठूलो भारतीय भनेर २ सय भन्दा रहेछन् म पनि झस्केर आएँ,’ धरानस्थित कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले भने,‘कृषि बजारमा काँचो नरिवल आउँदैन, व्यापारीले बोटबोटबाटै बगानबाटै उठाएर ल्याउँछन्, ती भारतीय व्यापारी हुन् ।’ 

बगानबाट ल्याएर व्यापारीले अथाहा नाफा लिएर बजारमा बिक्री गरिरहेको व्यवस्थापक भट्टराई बताउँछन् । ‘पाँच सात दिन अघि सय रुपैयाँमा पाइन्थ्यो, अहिले २ सय रुपैयाँ भन्न थालेका छन् दाम ठ्याक्कै दोब्बर भयो, कतिमा किनेको कतिमा बिक्री गर्नुपर्ने हो केही थाहा छैन,’ व्यवस्थापक भट्टराई भन्छन्, ‘संक्रमणका बेला नियामक निकायको ध्यान छैन, स्थानीय सरकारले पनि अनुगमन गर्नुपर्छ ।’

किसानबाट उठाएर ल्याउने यो व्यापारको ठूलो च्यानल नभएको व्यवस्थापक भट्टराईको भनाइ छ । डेंगी लागेका बेला नरिवलको पानी खायो भने शक्ति दिन्छ, ‘प्लेटलेट्स’ बढाउन मद्दत पुर््याउँछ भन्ने सन्देश गएपछि नरिवलको पानी खोज्ने उपभोक्ताहरु बढेका छन् । यही मौकामा व्यापारीले अत्यधिक नाफामा बिक्री गरिरहेका छन् । 

Nariwal Pani Byapar Dharan (2)

यस्ता व्यवसायी न करको दायरामा आएका छन् न नियामक निकायको नियमनमा छन् । यसतर्फ स्थानीय सरकार र सरोकारवालाको ध्यान जान आवश्यक रहेको उपभोक्ता बताउँछन् । 

***

धरानमा डेंगी प्रकोपका रुपमा फैलिएको छ । डेंगीका कारण धरानमा ८ जनाको मृत्यु भएको छ भने ३ हजार ९ सय ८१ जनाको परीक्षण गर्दा  २ हजार ३ सय ५३ जनामा डेंगी पोजेटिभ देखिएको छ । 

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको तथ्यांकअनुसार परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेंगीको सङ्क्रमण देखिएको छ ।