पाँचथर । पाँचथरको सुख्खाक्षेत्र कुम्मायक गाउँपालिकाको डिप बोरिङ खानेपानी लिफ्ट गर्न सौर्य ऊर्जा जडान गरिएको छ । सङ्घीय खानेपानी ढल व्यवस्थापन कार्यालय इलामले ८० लाख ९३ हजारको लगानीमा पानी लिफ्ट गर्न सोलार प्यानल जडान गरेको हो ।
कार्यालयको आर्थिक वर्ष २०७९/०८० को ८० लाख ९३ हजारको लागतमा पाँच वटा डिप बोरिङको खानेपानी लिफ्ट गर्न सौर्य ऊर्जा जडान गरिएको सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजना इलामका प्रमुख सुरतलाल चौधरीले बताए । यसअघि विद्युत् महसुल र कर्मचारी व्यवस्थापन गर्दा लागत महसुल महँगो भई खानेपानी व्यवस्थापनमा पनि समस्या उत्पन्न भएको भन्दै सोलार जडान गएिको हो । सोलार प्यानल जडानसँगै विद्युत् महसुल र कर्मचारी खर्च बचत हुने र न्यूनतम् शुल्कमा स्वच्छ खानेपानीको पहुँचमा नागरिकलाई जोड्न सकिने चौधरीको भनाइ छ ।
गाउँपालिकाको ५ वटा डिपबोरिङ खानेपानी लिफ्ट गर्न ९ हजार ८ सय २५ वाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको छ । प्रतिसोलार प्यानलबाट प्रतिकिलोवाट ६ सय ५५ मा सौर्य ऊर्जा उत्पादन हुन्छ । सोही क्षमताको ५ वटा डिपबोरिङमा ८० वटा सोलार प्यानल जडान गरिएको सिस्टम एण्ड इनर्जी प्रा.लि. पोखराले जनाएको प्राविधिक दीपेश योङ्हाङले बताए । जडान गरिएको सोलारबाट बिहानदेखि बेलुकासम्ममा खानेपानी लिफ्ट हुने प्रा.लि.का प्राविधिक योङ्हाङले बताए । प्रत्येक खानेपानी योजनामा सेन्सर समेत जडान गरिएकाले यसमा विद्युत् र कर्मचारी आवश्यक नपर्ने उनको भनाइ छ ।
कोशी प्रदेश सरकारले ३ वर्षअघि खानेपानीको हाहाकार मच्चिएपछि कुम्मायकका ५ स्थानमा डिपबोरिङ खानेपानी योजना १ करोड ६० लाखको लागतमा सञ्चालनमा ल्याएको थियो । विद्युत् महसुल र कर्मचारी व्यवस्थामा समस्या हुँदा नियमित खानेपानी सञ्चालनमा आउन सकेको थिएन ।
तर, पछिल्लो समय सौर्य ऊर्जाको प्रयोगपछि भने नियमित योजना सञ्चालन हुने तमोर पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मेघराज निरौलाले बताए । गाउँपालिकाको पाँच वटा डिपबोरिङ खानेपानी योजना अन्तर्गत कुम्मायक–१ मल्लिडे डिपबोरिङ खानेपानी लिफ्ट गर्न ६ सय ५५ वाटको १७ पाता प्यानल, कुम्मायक–३ को देवलमा १६, कुम्मायक–४ को उत्तिसेमा १७ वटा जडान गरिएको छ । त्यस्तै कुम्मायक–५ को गोलेडाँडा र स्वाबुङ डिपबोरिङमा १५–१५ वटाको दरले पाँच स्थानमा ८० पाता सोलार जडान गरिएको छ । जसबाट ९ हजार ८ सय २५ वाट सौर्य ऊर्जा उत्पादन हुने अध्यक्ष निरौलाको भनाइ छ ।
गाउँपालिकामा देशकै ठूलो पम्पिङ प्रणालीको खानेपानी योजना सचालन हुँदै आएको छ । सोही खानेपानी सञ्चालन तथा व्यवस्थापनको जिम्मा पाएको तमोर पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले डिपबोरिङ खानेपानी योजनाको पनि जिम्मेवारी पाएको समितिकै महासचिव जकेन्द्र लावतीले बताए । दुवै खानेपानी योजनालाई एकीकृत गरी उपभोक्तालाई वितरण गर्ने लक्ष्य राखिएको लावतीको भनाइ छ ।