भद्रपुर । झापा कारागारमा साउन १९ गते भएको आगजनी घटनाले कारागारमा हुने गरेको नयाँ तथ्य बाहिर ल्याइदिएको छ ।

नयाँ गएका कैदीबन्दी र पुराना निहत्था कैदीबन्दीमाथि कारागारभित्र अमानवीय तरिकाले यातना दिने गरेको छुटेका कैदीबन्दीले बताएका छन् । जेलमा रहेको चौकीदार तथा उनीहरू निकट समूहले निहत्था कैदीबन्दीमाथि बारम्बार यातना दिने गरेको हालै छुटेका व्यक्तिहरूले बताएका छन् । अदालतले दिएको माना चामलको पत्र लिएर कारागारको भित्री गेट प्रवेश गरेदेखि नै राणा शासन भोग्नुपरेको कारागारबाट छुटेका व्यक्तिहरूले बताएका छन् । उनीहरूका अनुसार कारागारबाट छुटेका व्यक्तिहरू ४० प्रतिशत मानसिक रोगी भएर घर फर्किने गरेका छन् । छुटेका कैदीबन्दीहरूले सुनाएको घटना विवरणअनुसार कारागारभित्र प्रवेश गर्नेबित्तिकै एउटा अँध्यारो कोठामा लगिन्छ । त्यहाँ १५ देखि २० जनाले केही नबोली लगातार पिट्दै जाने उनीहरू सुनाउँछन् । त्यसपछि साँझमा हात र खुट्टा तनक्क तन्काएर घोप्टो पारेर पछाडि हिर्काउने गरेको उनीहरूको भनाइ छ ।

दुईदेखि तीन पटकसम्म हिर्काउँदा बोलेन भने छाड्ने गरेको तर, कुटाइ सहन नसकेर चिच्याएमा बोरामा झुण्ड्याएर कालो पाइपभित्र रड राखेर पिट्ने गरेको उनीहरूले पीडा सुनाए । ‘कोठामा लगेर नियम र निर्देशन लागू गरिन्छ, त्यो एक प्रतिशत मात्रै अवज्ञा गरेमा बेहोस हुने गरी कुट्छन्’–छुटेका एक कैदीबन्दीले भने । चौकीदार, भाइ चौकीदार, नाइके र सह–नाइकेमध्ये कोहीसँग पनि आँखा जुधेमा वा बाटो क्रस गर्दा भेटिएमा बाथरुम पुग्दा जे भेटियो त्यही सामग्रीले कुट्ने गरेको पीडितहरू बताउँछन् । त्यतिमात्र नभई गोदामभित्र हत्कडी लगाएर पिट्ने गरेको समेत सुनाए । कारागारभित्र पसिसकेपछि क्लब, जिम हाउस र बन्दी पुस्तकालय, सरसफाइमा अनिवार्य ५ हजार रुपैयाँसम्म रकम बुझाउनु पर्ने नियम बनाइएको उनीहरू बताउँछन् । उनीहरूले सञ्चालन गरेको क्यान्टिनबाट नै सामान खरिद गर्नुपर्ने बाध्यता हुन्छ । ‘बाहिरको भन्दा तेब्बर मूल्य तिर्नुपर्छ । सरकारी भात खान नसक्ने हुन्छ । त्यहाँ रहेको गोदामभित्र तोकिएको मान्छेमात्र जान पाउने नियम छ । पैसावालाहरूले गोदामभित्र जुवातास समेत खेल्ने गरेका छन्’ पीडितहरू बताउँछन्, ‘गाई, गोरु, हरिण, बँदेललगायतको मासु पाइन्छ भने लागूऔषध, मादक पदार्थ, सुर्तीजन्य पदार्थसमेत उपलब्ध हुन्छ ।’ त्यहाँभित्र नाइके र चौकीदार नै राजाजस्तो हुने गरेको उनीहरूले बताए । खान लागेको कुरा चौकीदारलाई नसोधी खान नमिल्ने, चौकीदारको हली, नाइकेको गोठालो बन्नुपर्नेे प्रणाली हटाइनु पर्ने उनीहरूले बताए । समूह बनाएर गफ गर्न नपाइने, उनीहरूलाई शङ्का लाग्यो भने कुटाइ खाइने, उनीहरूले निर्देशित गरेका मान्छेसँग जान पनि नपाइने, आन्तरिक व्यापारलाई असर पु¥याउन नपाइने, चौकीदारसहित नाइकेले पानी प्रयोग गरिरहेको अवस्थामा अरूले पानी भर्न जान नमिल्नेलगायतका अनेकौँ सास्ती खेप्नुपरेको उनीहरूले सुनाए ।

चौकीदारले मासिक ८ लाख रुपैयाँसम्म कमाउने गरेको उनीहरूले दाबी गरे । कमाएको रकम भित्र चौकीदारलाई जोगाएर राख्ने समूह, चौकीदारले निर्माण गरेको सैनिक जत्था (मान्छे कुट्ने समूह) लगायत बाहिरी पक्षबाट आन्तरिक प्रशासनलाई सघाउनेलाई वितरण गरिँदै आएको उनीहरूले सुनाए । चौकीदारले जेलभित्रै आफू बस्नुपर्ने अवधिभरि डेढदेखि २ करोडसम्म कमाउने गरेको उनीहरूले बताए । सम्पन्न बन्दी या कैदीलाई चौकीदारले माया गर्ने तर, रकम निकाल्न नसक्नेलाई मरणासन्न हुने गरी मानसिक तथा शारीरिक यातना दिने गरिएको गहभरि आँशु पार्दै उनीहरूले सुनाए ।

कैद भुक्तान गरी बाहिरिएका उनीहरूले प्रशासनलाई विभिन्न सुझाव दिएका छन् । आन्तरिक प्रशासनको तर्फबाट भित्री गेटमा लगाउँदै आएको साँचो हटाउनु पर्ने, क्यान्टिन र चेकजाँचस्थलमा क्यामेरा जडान गरिनु पर्ने, एक व्यक्तिलाई बाहिरबाट नगदको हकमा मासिक २ हजार मात्र दिन पाउने, आन्तरिक प्रशासन कारागार प्रशासनको अधीनमा हुनुपर्ने, विदेशी र बन्दीलाई भित्रको जिम्मेवारी दिन नहुने, कैदी तथा बन्दीलाई दिँदै आइरहेको यातना बन्द गरिनुपर्नेलगायतको सुझाव दिएका छन् । त्यसैगरी कैदीबन्दीको श्रमशोषण चरम् रूपमा हुने गरेको उनीहरूले बताएका छन् । मुढा बुन्ने, फर्निचरका सामान, हस्तकला निर्माण, सिलाइ बुनाइलगायतका काम चौकीदारले लगाउने र एउटा सामान तयार गरेबापत १० रुपैयाँ ज्याला पाउने गरेको बताउँछन् । कारागारबाट छुटेका व्यक्तिको घरमा सोही दिन चौकीदारले १५–२० जना मान्छे पठाएर कारागारभित्रको कुनै कुरा बाहिर ल्याएमा ज्यान जोखिम हुने धम्की दिएका कारण जो कोहीले भित्र भोगेका पीडा सुनाउन नचाहेको उनीहरूको भनाइ छ ।

केही दिनअघि भएको कारागारभित्रको आगजनी चौकीदार लय सिवाकोटीलाई सरुवा गराएर मनोज लावतीको समूहलाई चौकीदार बनाउन गरिएको उनीहरूको बुझाइ छ । मानवअधिकारवादी, उपभोक्ता मञ्च, खाद्य नियन्त्रणलगायतले कारागारभित्रको अवस्था नियाल्न उनीहरूले माग गरे । कारागारभित्र चामल, दाललगायतका सामग्रीको गुणस्तर जाँच गर्न तथा बन्दीलाई तयार पारिएको खाना खान पनि उनीहरूले अनुरोध गरेका छन् । कारागार सुधार गृह नभएर साधारण मान्छेलाई मानसिक रोगी बनाउने ठाउँ भएको उनीहरूले बताए ।

अहिले कारागार चौकीदारविहीन छ । भाइ चौकीदारको विषयले साउन १९ गते शुक्रबार आगजनी भएपछि चौकीदार लयप्रसाद शिवाकोटीको सरुवा मागेका थिए । कर्तव्य ज्यानमा सजाय भोग्दै आएका अघोषित चौकीदार लावती र हालका अघोषित भाइ चौकीदार भरत सार्कीले जनआन्दोलन दिवसको उपलक्ष्यमा आम माफी पाउनुपर्ने माग राखी वि.सं. २०६३ सालमा पनि आगजनी गरेका थिए । कारागारभित्र लागूऔषध सेवन हुने विषयको उजुरी अख्तियारमा परेपछि कारागार विभागका निर्देशक तथा प्रवक्ता कमलप्रसाद पाण्डे र झापा कारागारका तत्कालीन जेलर तथा कारागार व्यवस्था विभागका शाखा अधिकृत राजेन्द्र गौतमको टोलीले  केही महिनाअघि कारागारभित्र छानबिन गरेको थियो । छानबिनका क्रममा लावतीसहितका केही कैदीबन्दीलाई सरुवा गर्ने विभागबाट पत्र आएको थियो ।

भाइ चौकीदार लावतीलाई झुम्का कारागार सरुवाका लागि बाहिर निकाल्दा जेलभित्र ठूलो हुलदङ्गा भएको थियो । प्रशासन र सुरक्षाकर्मी पछि हटेकै कारण ठूलो दुर्घटनाबाट जोगिएको कारागारमा अहिले लावती अघोषित चौकीदार बनेका छन् । केही समयअघि चौकीदार शिवाकोटी र लावतीबीच वादविवाद भएको थियो । उनीहरूको द्वन्द्वले कारागारमा आगजनी भएको बुझिएको छ । आर्थिक वर्ष ०८०÷८१ का लागि असार मसान्तमा लावतीलाई चौकीदारका लागि सिफारिस गरिएको थियो । तर, कारागार व्यवस्था विभागले नयाँ मापदण्डअनुसार सिफारिस गर्न साउन १० मा अर्को परिपत्र गरेको थियो । परिपत्रमा त्यसअघिको सिफारिस स्वतः खारेज भएकोसमेत बुझिएको छ । मापदण्डमा नपर्ने भएपछि लावतीलाई झुम्का पठाएर नयाँ चौकीदार सिफारिस गर्ने तयारी गर्दै गर्दा कारागारमा समस्या उत्पन्न भयो ।

कारागार विभागले दिने पैसा र चामल आफै बुझेर चौकीदारले भित्र व्यवस्थापन गर्ने गरेको कारागार प्रशासनले जनाएको छ । चौकीदारले एकमुष्ठ पैसा बुझेर भित्र मेस चलाउने गरेको झापा जिल्ला कारागार प्रमुख (जेलर) मोहनलाल पनेरुले बताए । कानूनले निषेध गरिएका क्रियाकलापहरू भित्र नभएको उनले दाबी गरे । भित्रबाट विभागमा गुनासा पुगेपछि गरिएको छानबिनमा भनेजस्तो नदेखिएको उनले जनाए । घटनापछि सिवाकोटीलाई आन्तरिक प्रशासनले कारबाही गरेको उनले जनाए । सिवाकोटीले झुम्का कारागार सरुवा मागेपछि हाल लावतीले अघोषितरूपमा आन्तरिक प्रशासनको नेतृत्व गर्दै आइरहेको उनको भनाइ छ । लावतीको सरुवा भने स्थगित नभएको उनले जनाए । आन्तरिक प्रशासनबाट चौकीदारको नाम कारागार प्रशासनमा आएपछि विभागलाई जानकारी गराउने र विभागबाट स्वीकृत भएपछि मात्र सदर गरिने उनले जानकारी दिए ।

लावतीलाई सुनसरीको झुम्का कारागारमा सरुवा गरेपछि लावतीलाई झुम्का लान कारागारको गेटबाट बाहिर निकाल्ने बित्तिकै भित्र रहेका कैदीबन्दीहरूले टायर बालेर बाहिर रहेका सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गर्दै घरेलु हातहतियारसहित भवनको छानामा चढेर आन्दोलन गरेका थिए । करिब साढे दुईघण्टा कारागारमा तनाव भएको थियो । कैदीबन्दीहरू घरेलु हतियार लिएर कारागारको छतमा चढेर भाग्न खोजेपछि नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड हवाई फायर र ५ सेल अश्रुग्यास चलाएको थियो । कैदीबन्दीले भित्रबाट ढुङ्गा र इँटा बर्साउँदा कारागारको नवनिर्मित कार्यालय भवन, गाडी, बिजुलीका सामान, सिसी टिभीमा क्षति पुगेको जेलर पनेरुले बताए ।

आगजनी बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, कारागार प्रमुख पनेरु र कैदीबन्दीबीच वार्ता भएको थियो । वार्तामा कैदीबन्दी पक्षबाट चौकीदार  सिवाकोटी र पासाङ भनिने कुमार शेर्पालाई कारागार सरुवाको माग गरेका थिए ।  झापा कारागारमा बिहीबार दिउँसोसम्म १४ सय ७६ पुरुष, १ बालबालिका र ८४ महिला गरी १५ सय ६१ कैदीबन्दी रहेका छन् । २०२० सालमा स्थापना भएको झापा कारागार जीर्ण, अव्यवस्थित र दुर्गन्धित बन्दै गइरहेको छ । कारागारबाट दैनिक निस्किएको फोहोरका कारण आसपासका दर्जनभन्दा बढी स्थानीय पीडित बनेका छन् ।