सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका सबै ढोका खोलिएको छ । सोमबार बिहान ४ बजेको मापनअनुसार सप्तकोसी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ७ सय १० क्युसेक पुगेपछि चारवर्षपछि पुनः कोसी ब्यारेजका सबै ढोका खोलिएको हो । केही दिनयता पहाडी भेगमा निरन्तरको वर्षाका कारण आइतबार रातिदेखि सोमबार बिहानसम्म पानीको बहाव उच्च मापन गरिएकोमा सोमबार दिउँसो ३ बजेको मापनअनुसार सप्तकोसी नदीमा पानीको बहाव ३ लाख ५७ हजार क्युसेक थियो भने ५६ वटा ढोका खोलिएका थिए ।
सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक बढेपछि सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सोमबार बिहानै कोसी ब्यारेजको अवस्थाको बारेमा बुझ्दै नदी आसपास क्षेत्रका सर्वसाधारणलाई सतर्क भएर बस्न आग्रह गरेकी थिइन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सम्भावित जोखिमलाई मध्यनजर गर्दै रोकथाम तथा नियन्त्रण गर्न हाई अलर्ट अवस्थामा रहेको उनले बताइन् ।
ब्यारेजमा बढ्दो खतरा
सन् १९६२ मा निर्माण भएको कोसी ब्यारेजको आयु ५० वर्ष तोकिएको थियो । यसर्थ कोलकाताको जोसेफ एन्ड कम्पनी लिमिटेडले निर्माण गरेको कोसी ब्यारेजको आयु सकिएको ११ वर्ष पुगेको छ । तैपनि आवश्यक मर्मत सम्भार गरिएको छैन । आयु सकिएको मिति लम्बिँदै जाँदा पानीको बहाव थेग्ने कोसी ब्यारेजको क्षमतासमेत दिन प्रतिदिन कमजोर हुँदै गएको छ । जसले गर्दा बर्सेनि कोसी ब्यारेजमा खतरा बढ्दो क्रममा छ । कोसी ब्यारेजको इतिहासमा सोमबार गरी जम्मा तीनपटक ५६ वटै ढोका खोलिएको छ ।
ब्यारेज निर्माण भएको ६ वर्षपछि अर्थात् सन् १९६८ मा पानीको बहाव ९ लाख १३ हजार पुग्दा सबै ५६ वटै ढोका खोलिएको थियो भने चार वर्षअघि सप्तकोसी नदीमा पानीको बहाव ३ लाख ७१ हजार क्यूसेक नाघेपछि दोस्रोपटक ५६ वटै ढोका खोलिएको थियो । मर्मतसम्भार नहुँदा कुनै बेला ९ लाख पानीको बहाव थेग्ने कोसी ब्यारेज अहिले ३ लाख ५० हजार क्यूसेक भन्दामाथि पुग्दा खतरा बढ्ने गरेको छ । निर्माण भएको ६१ वर्ष पुगे पनि ठोस मर्मतसम्भार नभएकोले जुनसुकै बेला भत्किन सक्ने खतरा रहेको स्थानीय बताउँछन् । आयु सकिएको कोसी ब्यारेज पानीको बहाव थेग्न नसकेर भत्किएको खण्डमा त्यसबाट ठूलो धनजनको क्षति हुने देखिन्छ । तर, यसतर्फ न नेपाल सरकारले कुनै पहल गरेको पाइन्छ, न त भारत सरकारले मर्मतसम्भारमा तदारुकता देखाएको पाइन्छ ।
१५ वर्षअघि २०६५ साल भदौ २ गते सामान्य बहावमै कोसीको पूर्वी तटबन्ध भत्किँदा ठूलो धनजनको क्षति भएको थियो । सोही कुरा सम्झिँदै प्रत्येकवर्ष सप्तकोसीमा पानीको बहावमा उतारचढाव आउँदा कोसी क्षेत्रका बासिन्दा त्रसित हुने गरेको कोसी गाउँपालिका–८ भण्टाबारीका फेकन मियाँ बताउँछन् । सप्तकोसीमा पानीको बहाव उच्च हुँदा तटबन्ध भत्किने र बाढी आउने डरले कोसी आसपास क्षेत्रका बासिन्दा त्रसित हुँदै आएको उनको कथन छ । ब्यारेजको आयु सकिएको र नदीमा बालुवा भरिएको हुँदा खतरा बढेको मियाँले बताए । कोसी सम्झौताअनुरूप कोसी ब्यारेज मर्मतसम्भार गर्ने जिम्मेवारी भारत सरकार हो । तर, कोसी ब्यारेजको आयु सकिएको ११ वर्ष पुग्दासमेत भारत सरकारले मर्मतसम्भार गर्न तत्परता देखाएको पाइँदैन ।
वि.सं. २०११ वैशाख १२ गते नेपाल–भारतबीच भएको सम्झौताअनुसार पुलको रेखदेख, मर्मत, ब्यारेजको ढोका खोल्ने, बन्द गर्ने काम भारतीय पक्षको हो भनी उल्लेख छ । यता बेलाबखत कोसी ब्यारेज क्षेत्रमा स्थलगत निरीक्षणमा आउने भारत बिहार राज्यका जल संसाधन मन्त्री सञ्जयकुमार झाले कोसी ब्यारेजको आयु सकिएको हुँदा त्यसको विकल्पको बारेमा बिहार सरकारले सोचिरहेको प्रतिक्रिया दिँदै आएका छन् । यद्यपि त्यो कार्यान्वयनमा आएको पाइँदैन । केही हप्ताअगाडि कोसी ब्यारेजको स्थलगत निरीक्षणपछि स्थानीय भारतीय सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले कोसी ब्यारेजको वर्तमान अवस्थाको बारेमा अध्ययन गरी आवश्यक निर्णय/कदम चालिने बताएका थिए ।
कोसी सम्झौताअनुरूप नेपाली भू–भागमा कोसी ब्यारेज अवस्थित रहेको हुँदा त्यसको लागि भारत सरकारले बिहार राज्य सरकारको रोहवरमा नेपाल सरकारसँग आवश्यक समन्वय÷सहकार्यको लागि पहल गरिरहेको मन्त्री झाको भनाइ थियो । यस्तै कोसी नदीको बारेमा सबैकुरा अध्ययन/विश्लेषण गर्न भारत बिहार राज्य सुपौल जिल्लास्थित वीरपुरमा बन्न लागेको अनुसन्धान केन्द्रको समेत मन्त्री झाले निरीक्षण गरेका थिए ।