बिर्तामोड । बिर्तामोडको प्रमुख समस्याका रूपमा रहेको फोहोर व्यवस्थापनमा व्यवसायीकै असहयोग रहने गरेको छ । व्यवसायीले रातको समयमा राजमार्ग किनारमा फोहोर फाल्ने गरेकाले नगरपालिकाले अघि सारेको स्वच्छ नगर बनाउने योजना अलपत्र पर्ने सम्भावना बढेको हो ।
प्रतिष्ठित व्यवसायीले नै नगरपालिकामा जथाभावी फोहोर पmाल्ने गरेको पाइएको छ । हल्दीबारी गाउँपालिकाका पूर्व उपप्रमुख डम्बर गिरीले सञ्चालन गरेको ‘साल्ट एण्ड पेपर रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर’ मा उत्पादित फोहोर राजमार्गमा फाल्दै गरेको अवस्थामा नगर प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ ।
होटल नजिकै रहेको राजमार्ग किनारमा फोहोर फाल्दै गरेका राजु साशङ्करलाई ठेलासहित नगर प्रहरीले पक्राउ गरेको हो । साशङ्करलाई ठेलासहित कारबाहीका लागि नगरपालिकामा बुझाइएको नगर प्रहरी महेन्द्र पाण्डेले जानकारी दिए ।
यसैगरी बिर्ता सिटी हस्पिटलमा रहेको क्यान्टिनको फोहोर फाल्दै गरेको एउटा पिकअपलाई नगरप्रहरीले नियन्त्रणमा लिएको छ । को.१ च ३२४ नम्बरको पिकअपलाई फोहोर फाल्दै गरेको अवस्थामा पक्राउ गरी नगरपालिकामा बुझाइएको नगर प्रहरी प्रमुख किरण पाण्डेले बताए । बिर्ता सिटी हस्पिटलको क्यान्टिन ब्यवसायी भोला साहले सञ्चालन गरेका छन् ।
जथाभावी फोहोर फाल्नेलाई नगरपालिकाले ५ हजारदेखि १५ हजारसम्म जरिबाना गराउने गरेको छ । दोस्रो पटक पनि फोहोर फालेको पाइएमा ५० हजार रुपैयाँसम्म जरिबाना गर्ने प्रावधान रहेको छ । यसअघि पनि बसपार्क नजिकै सडकमा फोहोर फाल्दै गर्दा नगर प्रहरीले सवारी साधन नियन्त्रणमा लिएको थियो ।
बिर्तामोडको फोहोर सङ्कलनको जिम्मा निराकार सरसफाइ सेवा नामको कम्पनीले लिएको छ । सो कम्पनीले मासिक रूपमा शुल्क लिए पनि फोहोर सङ्कलनका लागि गाडी पठाउने नगरेको स्थानीयको गुनासो रहेको छ । नियमित रूपमा फोहोर सङ्कलन गर्ने गाडी नआउँदा व्यवसायीले बाध्य भएर सडक किनारमा फोहोर फाल्दै आएका छन् ।
साल्ट एण्ड पेपर रेष्टुरेन्ट एण्ड सेकुवा कर्नरका सञ्चालक डम्बर गिरीले नगरपालिकामा फोहोर सङ्कलन गर्ने गाडी नआएको विषयमा पटक–पटक जानकारी गराउँदासमेत बेवास्ता गरेपछि बाध्य भएर ठेला चालकलाई पैसा दिएर फोहोर व्यवस्थापन गर्न लगाएको बताए । उनले ठेला चालकले फोहोर कहाँ फाल्ने भन्ने कुराको जवाफदेही आफू हुन नसक्नेसमेत बताए । ‘मैले नगर प्रमुख, उप–प्रमुखलाई धेरै पटक यो समस्या समाधान गर्नका लागि अनुरोध गरेँ’ गिरीले भने, ‘उहाँहरूले बेवास्ता गरेपछि ठेला चालकलाई पैसा दिएर फाल्न लगाएको हुँ । फोहोर गन्हाएर होटलमा बस्न नसक्ने भएपछि मेरो उपाय नै के रहन्छ र ?’
बिर्तामोडमा सयौं होटल, दर्जनांै हस्पिटल, सयौंको सङ्ख्यामा व्यावसायिक प्रतिष्ठान रहेका छन् । यहाँ सचेतवर्ग नै फोहोर व्यवस्थापनप्रति जिम्मेवार नभएको पाइएको छ । केही रकम दिएर साना सवारी साधन प्रयोग गरी सार्वजनिकस्थलमा फोहोर फाल्न पठाउने गरेकाले राजमार्ग आसपास दुर्गन्ध बढ्दै गएको छ । सचेत वर्ग नै जिम्मेवार नबन्दा सहरको सौन्दर्य कुरूप बन्दै गएको छ । अर्काेतर्फ फोहोर सङ्कलनको ठेक्का पाएको कम्पनीले रकम सङ्कलन मात्र गर्न थालेपछि वर्षांैदेखिको फोहोर व्यवस्थापनको समस्या समाधान हुन सकेको छैन ।