विजयपुर । पाँचथर रानीगाउँ हाङ्ठुवाका मैतबल लिम्बू २०१९ सालमा घरबाट निस्किएर हिँडे । २० वर्षीय लिम्बू एक जना साथीसँग विना कारण घरबाट गन्तव्यहीन यात्रामा निस्किए ।
६० वर्ष पहिले के कारणले घर छाडेर हिँडे लिम्बू अहिले आफै अनभिज्ञ छन् । ‘२० वर्षको उमेरमा इन्डियातिर पसेको । पसेको पसेकै कताकता गइयो, कता हिँडियो । अहिले अरुणाञ्चलतिर घर लिएर बसेको छु’–मैतबल भन्छन् । उनले थपे, ‘के भएर हिँडेँ–हिँडेँ अचानक, खोइ अहिले मनमा सोचेर पनि सोचमै आउँदैन के भएर हिँडेँ–हिँडेँ । कमाउँला भनेर हिँडेको थिएँ, बूढो भइयो ।’ ६० वर्षअघि उनको गाउँ पाँचथरमा कुनै सुविधा नभएको उनी सम्झन्छन् । सेवा सुविधाको खोजीमा नै घर छाडेर निस्किएको हुनसक्ने उनी अनुमान लगाउँछन् । उनी कोइलाखात (मेघालय) अरुणाञ्चल हुँदै असम पुगे । काम गरे; कमाए । उतै घरबार जोडे ।
उनी भारतको असममा बस्छन् भने अरुणाञ्चलमा खेती गर्छन् । असममा उनको परिचय पनि फेरिएको छ । मैतबलबाट उनी जयबहादुर बनेका छन् । उनी असममा घरबार गरेपछि नेपालका घरपरिवारलाई माया मारे । नेपाल फर्किन बिर्सिए । उनी भन्छन्, ‘घरपरिवारको माया त थियो तर, कामको व्यस्तताले आउन सकिएन ।’ छ दशकपहिले छुटेका चार दाजुभाइमध्ये जेठा ८० वर्षीय मैतबललाई खोज्न माइला भाइ ७६ वर्षीय पदमप्रसाद लिम्बूको ठूलो भूमिका छ । उनको विशेष पहलमा अहिले चारैजना दाजुभाइबीच भेट भएको छ ।
७४ वर्षीय साहिँला भाइ काउनबाजे सम्बाहाम्फे र ६८ वर्षीया बहिनी सुकमाया लिम्बूसँग भेट भयो । छ दशकपछि भेट हुँदा औधी खुसी देखिए । पदमका अनुसार दाजु छ भन्ने जानकारी भए पनि नाम नै परिवर्तन गरेकाले खोज्न कठिन भएको बताउँछन् । उनी भन्छन्, ‘इन्डियामा पनि धेरै ठाउँ खोजेँ, यहाँ त मैतबल–मैतबल भन्थ्यो, उता नाम फेरेर बसेछ ।’ दाजुलाई मोबाइलको सहयोगबाट खोज्न सहज भएको हो । माइला भाइ पदमबाहेक अन्य भाइ र बहिनीसँग भने एक महिनाअघि नै भेट भएको थियो । मैतबलको महिनादिनअघि कान्छा भाइसँग भेट भयो । विडम्बना भेट भएको केही दिनमा कान्छा भाइको निधन भयो । अब भाइहरूले जेठा दाजुको नागरिकता बनाइदिने भएका छन् ।
माइला भाइ पदम भन्छन्, ‘अहिले दाइलाई उता ठीकै होला तर, पछि कुनै बेला भुटानी भनेर खेदायो भने के गर्ने छोराछोरी कहाँ जान्छन् ? त्यसैले नागरिकता बनाइदिन्छौँ । दाइको अंश पनि हामीले राखिदिएका छौँ ।’ माहिला भाइ (पदमप्रसाद) का छोरा गणेश लिम्बू आफ्नो बुबाको अथक प्रयासपछि बडाबासँग भेट हुन पाएकोमा खुसी छन् । बुबा, काका र फुपूको बडाबासँगको माया, स्नेह देखेर उनी गद्गद् छन् । उनी बडाबा (जयबहादुर) को नागरिकता बनाउन हरसम्भव प्रयत्न गर्ने बताउँछन् । मैतबलको अरुणाञ्चलमा जायजेथा छ । गाईबाख्रा छन् । तिनैको मायाले फेरि उनलाई उतै डो¥याएको छ । मैतबल भन्छन्, ‘यतै बस्न रहर त छ नि, उता पनि गाईबस्तु, बाख्रा छन् ।’ मैतबल नागरिकता बनाउन पछि आउने विचार गरेर आइतबार नै फेरि असमतिर हिँडिसकेका छन् ।