इनरुवा । पानीमुनीको गहिराइमा पुगेर खोज तथा उद्धारमा खटिने जनशक्ति थप गर्न सशस्त्र प्रहरी बल नेपाल नं. १ वराह वाहिनी मुख्यालय पकलीले गोताखोर तालिम सञ्चालनमा ल्याएको छ ।

सीमित जनशक्तिले प्रदेशभरको माग धान्न नसकेको यथार्थलाई मध्यनजर गर्दै वराह वाहिनी पकलीले २० जनालाई समावेश गरी गोताखोर तालिम सञ्चालनमा ल्याएको हो । वाहिनीले कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वय र सहकार्यमा गोताखोर तालिम सञ्चालनमा ल्याइएको जनाएको छ । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव डा.दीपक काफ्लेको उपस्थितिमा वराह वाहिनीले तालिम सुरुवात तथा पहिलो सत्र प्रथम प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।

सो क्रममा प्रमुख सचिव काफ्लेले विपद् व्यवस्थापनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सशस्त्र प्रहरीले सञ्चालनमा ल्याएको गोताखोर तालिमले खोज तथा उद्धार कार्य थप छिटो र छरितो हुने विश्वास व्यक्त गरे । उनले खोज तथा उद्धारको कार्यलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले यथेष्ट सहयोग गर्ने बताए । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १ वराह वाहिनी मुख्यालय पकली सुनसरीका बाहिनीपति डिआइजी अञ्जनीकुमार पोखरेलले सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन दक्ष, साहसिक, समर्पित र व्यावसायिक जनशक्ति उत्पादन गर्दै आएको बताए ।

उनले तालिमपश्चात् तयार हुने दक्ष जनशक्ति आवश्यकताका आधारमा विभिन्न स्थानमा खटिने भएकाले प्रदेशमा खोज तथा उद्धारको कार्य छिटो र छरितो तवरले सम्पादन हुने बताए । पोखरेलले नेपालमा घट्ने विभिन्न जटिल घटनाहरूमा खोज तथा उद्धार गर्नु पर्ने आवश्यकता पूरा गर्नका लागि विपद् प्रतिकार्य योजना अभिवृद्धि गर्ने कार्य अनुरूप प्रत्येक प्रदेशमा एक गोताखोर टिम उत्पादन गर्ने सङ्गठनको नीति रहेको बताए । सोही अनुरूप वराह वाहिनीसमेत अघि बढेको बताए । 

उनले कोशी प्रदेशमा विभिन्न नदी तथा खोलामा डुबेका तथा बेपत्ता भएकाहरूको खोजीमा परिचालित हुने गोताखोरको सङ्ख्या ६ जना मात्रै रहेकाले अपुग सङ्ख्यालाई मध्यनजर गरी जनशक्ति थपका लागि तालिमको आयोजना गरिएको बताए । पोखरेलका अनुसार तालिमप्राप्त जनशक्ति अक्सिजनयुक्त विशिष्ट उपकरणसहित स्थिर तथा निश्चित बहावयुक्त पानीभित्र स्थानअनुसार १ सय ८० फिट गहिराइसम्म पुगेर १ घण्टा खोज तथा उद्धारमा खटिन सक्नेछ । डिआइजी पोखरेलका अनुसार बाहिनीले सञ्चालनमा ल्याएको पछिल्लो सिसम ४ गोताखोर तालिम हो । पोखरेलका अनुसार नेपालमा पहिलो पटकसमेत वराह वाहिनीले नै सिसम १ गोताखोर तालिमको आयोजना गरेको थियो ।

यसैबीच वराह वाहिनी मुख्यालय पकलीले सम्पादित काम तथा कारबाहीका बारेमा समेत जानकारी गराएको छ । वाहिनीले पत्रकार सम्मेलनको आयोजना गरी कोशी प्रदेशको विपद् व्यवस्थापन तथा सीमा सुरक्षालगायत सम्पादित कार्यबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सशस्त्र प्रहरी बल नेपालले कोशी प्रदेशमा आ.व.२०७९÷०८० मा जम्मा ६ सय २२ वटा घटनामा परेका १ हजार ५ सय ३८ जना र आ.व.२०८०÷०८१ मा ७० जनाको उद्धार गरेको छ । सशस्त्र प्रहरी बल नेपालका गोताखोरहरूले हालसम्म देशभरमा ३२ जनाको जीवित उद्धार गरेको छ भने २ सय ५६ वटा शव पानीको गहिराइबाट बाहिर निकालेको छ । कोशी प्रदेशमा भने १७ वटा शव निकालिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

यसैगरी वराह वाहिनीले विभिन्न समयमा विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिनुका साथै ठूलो मात्रामा भन्सार छलीका सामान बरामद गरी भन्सारमा बुझाएको समेत जनाएको छ । उसले शून्य सहनशीलतालाई कडाइका साथ अवलम्बन गरिएको समेत जनाएको छ । पत्रकार सम्मेलनमा बोल्ने क्रममा वाहिनीपति डिआइजी पोखरेलले सङ्गठनको नीति र मर्यादा उल्लङ्घन गर्ने विभिन्न दर्जाका कर्मचारीलाई सचेतदेखि विभागीयसम्मको कारबाही गरिएको जनाए । उनले सशस्त्रका कोही जुनकुनै दर्जाका भए पनि नियम विपरीतको कार्य गरेको पाएमा आफूलाई खबर गर्न प्रदेशवासी समक्ष आग्रहसमेत गरे ।