सुनसरी । सीप, ज्ञान र काम गर्ने जाँगर भयो भने कोसीटप्पु क्षेत्रमा खेर जाने पटेरबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्, कोसी गाउँपालिका वडा नम्बर ३ स्थित पश्चिम कुसाहाका स्थानीयवासीले ।

कोसी प्रभावित क्षेत्रका सरदार र उराँव समुदायले कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको सिमसार क्षेत्रमा त्यतिकै खेर जाने पटेरबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । सप्तकोसी नदीको किनारमा रहेको सिमसारमा पाइने प्राकृतिक पटेरबाट गुन्द्री बनाएर यहाँका सयौंले जीविकोपार्जन गरिरहेका छन् । उनीहरूले पटेरबाट हातले गुन्द्री, झोला तथा अन्य सामग्री बनाएर लौकही, इनरुवालगायतका बजारमा बिक्रीवितरण गर्न गर्छन् ।

कोसी गाउँपालिका वडा नम्बर ३ पश्चिम कुसाहास्थित सरदार बस्तीकी जानकी सरदार विगत १५ वर्षदेखि पटेरबाट गुन्द्री बनाएर जीविकोपार्जन गरिरहेकी छन् । आधुनिक बजारमा सजिलै पाइने प्लास्टिकका गुन्द्री र म्याटको प्रयोग बढिरहेको बेला उनले यही पेसाबाट १२ जनाको परिवार पाल्न सहयोग गर्दै आएकी छन् । ‘हामीले सिकेको र जानेको पेसा भनेको यही हो’ जानकीले भनिन्, ‘घरमै बसेर पटेरको गुन्द्रीबाट प्राप्त आम्दानीले जीविका चलाउन केही सहज भएको छ ।’ यद्यपि विगतको तुलनामा गुन्द्रीको माग घटेको उनी बताउँछिन् । विगतमा गुन्द्रीको माग धेरै हुने गथ्र्यो । आजभोलि भने परम्परागत पटेर र परालको गुन्द्री बुन्ने चलन हराउँदै गएको जानकी बताउँछिन् । उनी भन्छिन्, ‘त्यसलाई संरक्षणसँगै पटेरबाट गुन्द्री बनाएर जीविकोपार्जन गरिरहेका छौँ ।’

घर नजिकैको कोसीटप्पुमा प्रशस्त मात्रामा पाइने काँचो पटेर सिजनमा सङ्कलन गरेर जम्मा गरी वर्षभरि नै सोही पटेरबाट गुन्द्री बनाएर स्थानीय बजारमा बिक्रीवितरण गर्दै जीविकोपार्जन गर्दै आएको स्थानीय कमली सरदारले बताइन् । सरदारले आफ्नै नजिकको हाटबजार लौकही, मधुवन र इनरुवासहित गाउँघरमा केहीले मात्र आफूहरूको गुन्द्री किन्ने भएकाले विगतको भन्दा थोरै मात्रैले गुन्द्री बुन्दै आएको बताइन् । अहिले बजारमा प्रतिगुन्द्री ४ सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्ममा बिक्री हुन्छ । लगानी अनुसारको प्रतिफल नपाए पनि पटेरबाट गुन्द्री बनाएर स्थानीय बजारमा बिक्री गर्दै उनीहरूले जीविकोपार्जन गरिरहेका छन् ।

कोसी क्षेत्रमा पहिले पहिलेजस्तो सघनरूपमा घरैपिच्छे गुन्द्री बनाउने चलन हराएको छ तर, यस्तो अवस्थामा पनि कोसी गाउँपालिका–३ का सरदार र उराँव समुदायले भने परम्परालाई धानेका छन् । उनीहरूले हरेक वर्ष सय देखि १ सय ५० वटासम्म गुन्द्री बुन्दै आएका छन् । जुटको डोरी र पटेरको प्रयोग गरेर गुन्द्री बुन्दै आएका उनीहरूले पुख्र्यौली पेसा धान्दै जीविकोपार्जन गर्दै आएका छन् । चिसोबाट बच्न र बिस्कुन सुकाउन गुन्द्री अति उपयोगी हुने स्थानीय बताउँछन् ।

‘गुन्द्रीले धेरै न्यानो बनाउँछ, खाटमा होस् वा पलङमा हामी यसलाई ओछ्याएपछि मात्र बिस्तारा लगाउँछौँ’ प्रमिला उराँवले भनिन्, ‘पाहुनालाई स्वागत गर्दा ओछ्याउने गाउँले गलैँचा भनेकै गुन्द्री नै हो ।’ मधेसी समुदायको विवाह, ब्रतबन्ध होस् वा अन्य सामाजिक संस्कारका काम गर्दा पनि गाउँघरमा गुन्द्री अति उपयोगी मानिन्छ । पटेरबाट बनाइएको सामग्री बिक्री गरेर उनीहरू मासिक ८ हजारदेखि १५ हजारसम्म आम्दानी गर्न सफल भएका छन् ।