भद्रपुर । झापाको दक्षिणी क्षेत्र भद्रपुर–३ मा एउटा चोकको नाम छ, ‘ज्ञाने चोक’ ।
चन्द्रगढीबाट करिब ८ किलोमिटर दक्षिणको चारआली–केचना मुख्य सडकमा पर्ने यो चोकको नाम वि.सं. २०३४ मा स्थानीय ज्ञानबहादुर तामाङ्को नामबाट नामकरण भएको थियो । अरूलाई समेत जग्गा दिएर बस्ती बसाएका समाजसेवी ज्ञानबहादुर अहिले १८ वर्षयताबाट गुमनाम मात्र हैन, भूमिविहीन नै बनेका छन् ।
वि.सं. २००७ सालमा सङ्खुवासभामा जन्मिएका तामाङ बसाइसराइको क्रममा वि.सं.२०१३ सालमा बुबाआमाको साथमा झापाको बाहुनडाँगी आए । त्यसपछि वि.सं. २०२२ सालमा पुनर्वास कम्पनीमार्फत् साविक पृथ्वीनगर गाउँ पञ्चायत त्रिवेणी चोकमा डेढ बिघा जमिन पाए । त्यसबेला सो क्षेत्रमा कोही मान्छे नभएपछि तामाङले केही व्यक्तिहरूलाई आफै जग्गा दिएर बसोबास गराए । उनी समाजसेवी मात्र भएनन्, उनकै नामबाट त्यहाँका स्थानीयले वि.सं. २०३४ सालमा ‘ज्ञाने चोक’ नामकरण गरे ।
साधारण लेखपढ गरेका तामाङ सो स्थानमा विभिन्न सामाजिक कार्यमा सक्रिय भए । नजिकै रहेको देउनियाँ नदीमा घरमा लगाइएका काठ उप्काएर मान्छे हिँड्ने पुलसमेत बनाएको इतिहास उनीसँग छ । उनीसँग रहेको केही जमिन जीविकोपार्जनका लागि बिक्री गरे भने उनले बसोबास गराएका व्यक्तिले मुद्दा लडेर ३ कठ्ठा जमिन लगेको उनी सुुनाउँछन् । दुई श्रीमती र ४ छोरीका अभिभावक तामाङले १२ वर्ष काठमाडौँसम्म रात्रीकालीन तथा छोटो दूरीका गाडी चालक, सह–चालक भएको बताए । रात्रीकालीन गाडी चलाउँदा काठमाडौँबाट फर्किने क्रममा नेपालटारछेउको भीरमा ब्रेक फेल भएर भित्तामा गाडी ठोक्किँदा उनका दुईवटा करङ भाँच्चिएपछि गाडी चलाउन छाडेको उनले सुनाए ।
कम्पनीले दिएको जग्गा विविध कारणले सकिएपछि ज्ञानेचोकबाट कान्छी श्रीमती धनमायाको साथमा विस्थापित भई सुकुम्बासी बनेका उनले गहभरि आँसु पार्दै भने, ‘मैले नै राखेका व्यक्तिले सुकुम्बासी बनाएपछि झापाचोकस्थित अस्थायी टहरामा जीवन बिताउँदै आएको छु ।’ जेठी श्रीमती बाहुनडाँगीमै रहेको उनको भनाइ छ । छोरीहरूको विवाह दान भइसकेको उनले बताए । नेपाल सरकारले दिँदै आएको वृद्ध भत्ताबाट छाक टार्दै आइरहेको भावुक बन्दै उनले सुनाए ।
केही महिनाअघि भद्रपुर–४ का दीपक राईबाट एकजना जोडीको दयनीय अवस्थाको बारेमा भद्रपुरका सामाजिक अभियन्ता सञ्जय भूईंमाली र भावना क्षेत्रीले थाहा पाएपछि तामाङको बारेमा सार्वजनिक भएको हो । तामाङ जोडीको दयनीय अवस्था सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभिन्न क्षेत्रबाट राहत सामग्री सहयोग आएको अभियन्ता भूईंमाली बताउँछन् । घरबारविहीन बनेका तामाङलाई बासस्थानको व्यवस्था गर्न पहल गरेको उनले सुनाए । केही महिनाअघि भद्रपुर–५ का भीमासिं राजपुतले स्वर्गीय बुबा लक्ष्मीसिं राजपुतको नाममा सामाजिक सञ्जालमार्फत् ५ धुर जग्गा दान गर्ने सार्वजनिक गरेपछि राजपुतसँग सम्पर्क गरेको उनले सुनाए । तामाङको विषयमा जानकारी गराएपछि भीमाको सहमतिपश्चात् घर निर्माणसमेत सुरु गरिएको उनले बताए ।
यता जग्गाधनी भीमाले बुबाले ४० वर्षयताबाट भोगचलन गर्दै आइरहेको भद्रपुरको ऐलानी जमिन दान गरेको बताए । तामाङ्सहित ४ जनालाई प्रतिपरिवार ५ धुरका दरले सहयोग गरेको उनले बताए । मेची नदी किनारमा रहेको ऐलानी जग्गामा भूमिहीनलाई बसाउँदै आइरहेको वडा नम्बर ५ का अध्यक्ष बन्धु कार्कीले बताए । वर्षायाममा यो क्षेत्र डुबान हुँदै आइरहेकोमा हाल तटबन्ध गरेपछि सुरक्षित बस्ती भएको उनले बताए । तामाङ जोडीलाई बसाउन वडाबाट तथा आफ्नो व्यक्तिगत सहयोग जारी रहेको उनले जनाए ।
जग्गादान दिएपछि अभियन्ता जोडीले बुधबार बिहान एक कार्यक्रमको आयोजना गरी घर शिलान्यास गरेका छन् । प्रदेश सांसद् भूमिप्रसाद राजवंशीले घर शिलान्यास गर्दै सहयोग गर्ने आश्वासन दिए । आफ्नै निर्वाचन क्षेत्रमा यस्ता व्यक्तिलाई सहयोग गर्न आफू पछि नपर्ने उनले बताए ।
दुई कोठे आवास निर्माणका लागि सगरमाथा फाउण्डेसनका अध्यक्ष विकास लिम्बूले नदीजन्य सामग्री सहयोग गर्ने वचन दिएका छन् । करिब ४ लाख रुपैयाँ खर्च हुनेमा सहयोगी दाताबाट हालसम्म डेढलाख रुपैयाँ सहयोग सङ्कलन भएको अभियानकर्ता भावनाले बताइन् । योभन्दा अघि पनि भद्रपुर–९ का शारीरिक अपाङ्गता भएका एक परिवारलाई घर निर्माण गरी भद्रपुर नगरपालिकामार्फत् जिम्मा लगाइएको उनले बताइन् ।
अभियन्ता भूईंमालीको अध्यक्षतामा भएको कार्यक्रममा झापा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष खड्क लिम्बू, युवा नागरिक समाज झापाका अध्यक्ष प्रेम खनाल, सगरमाथा फाउण्डेसनका अध्यक्ष विकास लिम्बू, वडानम्बर ५ का वडासदस्य जेष्ठमल ठाकुरलगायतले तामाङ जोडीको आवास निर्माणमा सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिएका थिए ।