सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका नेकपा (एमाले) का हिक्मतकुमार कार्कीलाई ‘संवैधानिक व्यवस्था’ नै भारी पर्ने देखिएको छ । 

संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने प्रावधान छ । यसअघि ४६ मत मात्रै प्राप्त गरेका कारण उनी दोस्रो पटक पदमुक्त भएका थिए । पहिलो पटक उनी २०७९ पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनी नेतृत्वको सरकार २०७९ असार १५ गते ढलेको थियो । गठबन्धनबाट कोशी प्रदेशका मुख्यमन्त्री बनेका उद्धव थापा दोस्रोपटक पनि पदमुक्त भए । सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार विश्वासको मत लिने प्रक्रियामा संविधान मिचिएको ठहर गर्दै थापाको नियुक्ति बदर गरिदिएको छ । सर्वोच्चले साउन ११ गते उनको दाबी नै गैर संवैधानिक भएको भन्दै बदर गरेको थियो । यसपटक विश्वासको मत नपाएको देखिएको भन्दै सर्वोच्चले पदमुक्त गरिदिएको छ । ६ वटै प्रदेशमा सरकारको नेतृत्व गरिरहेको सत्ता गठबन्धनको हातबाट कोशी प्रदेश तत्कालका लागि एमालेको पोल्टामा परेको छ । पदमुक्त गरेको अदालतले संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभामा रहेको ठूलो दल एमालेको संसदीय दलका नेता कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।

संविधानको धारा १६८ को उपधारा (४) अनुसार ३० दिनभित्र कार्की नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्ने हुन्छ । मत आफ्नो पक्षमा नआए सरकार गठन प्रक्रिया उपधारा (५) अनुसार हुनेछ । उपधारा (५) मा सहमतीय आधारमा सरकार बनाउने बाटो खुल्ला हुनेछ । उक्त सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ । फेरि विश्वासको मत लिन नसके प्रदेशसभा विघटन हुने र मध्यावधिमा जाने सम्भावना प्रबल देखिएको छ । धेरै राजनीतिक विश्लेषकले प्रदेशसभा मध्यावधिमा जाने सम्भावना बढेको सामाजिक सञ्जालमा आफ्ना धारणा व्यक्त गरेको देखिन्छ । 

यसअघि असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भए पनि सर्वोच्चको आदेशले साउन ११ गते पदमुक्त भएका थिए । पुनः संविधानको सोही धारा र उपधारा अनुसार साउन १७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले संवैधानिक व्यवस्थालाई मिचेर मत लिएको भन्दै एमालेले भदौ ७ गते रिट निवेदन दायर गरेको थियो । उनले प्रदेशसभाको अध्यक्षता गरेका सांसद् इस्राइल मन्सुरीलाई पनि मतदानमा सहभागी गराएर बहुमत (४७) सांसद् पु¥याएका थिए ।

अदालतले सभाध्यक्षको मतलाई अस्वीकार गरेसँगै उनी पदबाट मुक्त भएका हुन् । विश्वासको मत लिने यो प्रक्रियालाई सर्वोच्चको भदौ ७ गतेको अन्तरिम आदेशले असंवैधानिक भनिसकेको थियो । अदालतको अन्तरिम आदेशले नै कामचलाउ भइसकेका थापाले दोस्रो कार्यकालबाट पनि ३८ दिनमै बिदा लिनुपरेको छ । अघिल्लो पटक असार २१ गते सभामुखसहितको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थापाको नियुक्ति प्रक्रिया सर्वोच्चले साउन ११ गते खारेज गरेको थियो ।

त्यसबेला पनि मुख्यमन्त्री थापाले २२ दिन मात्रै काम गर्न पाएका थिए । यो पटक उनी ३८ दिन मुख्यमन्त्रीको रूपमा बहाल रहे । यसअघि भने अदालतले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नै नयाँ सरकार गठनको लागि बाटो खोलिदिएको थियो । यस पटक भने सर्वोच्चले संविधानको सोही धाराको उपधारा (३) अनुसार एमाले संसदीय दलका नेता कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।

तर, बहुमत सिद्ध गर्न नसकेर सत्ताबाट बाहिरिनु परेका कार्कीले फेरि बहुमत सिद्ध गर्न नसक्ने स्पष्ट छ । प्रदेशसभा अहिलेसम्म सभामुखविहीन छ । उपसभामुख एमालेबाटै निर्वाचित सिर्जना दनुवार छिन् । एमालेले राप्रपाको सहयोगलाई कायम राख्न सकेर उपसभामुख दनुवारलाई राजीनामा गराएको खण्डमा मात्रै कार्कीले ४६ मत पु¥याउन सक्ने देखिन्छ । दनुवारको राजीनामा नआएको खण्डमा भने संसद्मा यसअघि पाएको ४६ मत पु¥याउन पनि कार्कीलाई सकस देखिन्छ । यस्तै केन्द्रमा सत्ता गठबन्धनसँग नजिक हुँदै गएको राप्रपाले पनि एमाले दलका नेता कार्कीलाई सहयोग गर्छ या गर्दैन भन्ने विषय अन्यौल नै छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ ।

कोशी प्रदेशमा एमालेको उपसभामुखसहित ४०, काङ्ग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी) को ४ र जनता समाजवादी पार्टीको १ सांसद् छन् । एमाले र राप्रपा एकातिर तथा  अन्य दल एकातिर भएको अवस्थामा भने नयाँ सरकार गठन भए पनि स्थिर हुने सम्भावना कमजोर छ । जसका कारण प्रदेशसभा विघटनको दिशामा जानसक्ने धेरैले अनुमान गरिरहेका छन् । दलहरूले गठबन्धन फेरबदल नगरेसम्म वा नयाँ सहमति नगरेसम्म प्रदेशको परिस्थिति जटिल मोडतिरै जाने देखिन्छ । 

मुख्यमन्त्रीले लिए शपथ
तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सर्वोच्च अदालतको परमादेशअनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई शुक्रबार संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । सर्वोच्च अदालतले प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा कार्कीलाई बिहीबार ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेअनुसार प्रदेश प्रमुख खापुङले शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री कार्कीले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले ताप्लेजुङका तिलकुमार मेन्याङ्वो खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री बनाएका छन् । मेन्याङ्बो यसअघि पनि कार्की नेतृत्वमै यही मन्त्रालय सम्हालेका थिए ।

sapatha-hikmat

त्यस्तै खोटाङबाट निर्वाचित सांसद् पाँचकर्ण राईले पर्यटन, वन तथा वातावरण मन्त्री र झापाबाट निर्वाचित सांसद् एकराज कार्कीले भौतिक पूर्वाधार विकास मन्त्रीको शपथ ग्रहण गरेका छन् । यस्तै भोजपुरबाट समानुपातिक सांसद् सृजना राई सामाजिक विकास राज्यमन्त्री भएकी छन् । नियुक्त भएर शपथ लिने सबै एमालेका सांसद्हरू हुन् ।

राप्रपा भने तत्काल कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ । यद्यपि कार्कीको नेतृत्वमा बन्ने सरकारलाई भने समर्थन गर्ने राप्रपाले जनाएको छ । सर्वोच्चको पत्र शुक्रबार प्राप्त भएपछि कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । अदालतले बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गर्दै पदमुक्त गरी प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको थियो ।