भद्रपुर । भारतबाट ७ करोड ५७ लाख २८ हजार मूल्यको ४ हजार ७ सय ३३ मेट्रिक टन फर्सी आयात भएको छ । कृषिजन्य वस्तु अलैंची, चिया, अदुवा र अम्रिसोको निर्यात बढिरहेका बेला फर्सी भारतबाट ठूलो मात्रामा आयात हुने गरेको हो ।

क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार आर्थिक वर्ष २०७९/०८० को तथ्याङ्कले फर्सी आयात भएको देखाएको छ । कार्यालयका सूचना अधिकारी चण्डेश्वर ठाकुरले यो अवधिमा फर्सी मात्र नभएर कोदो, फापर, खुर्सानी, घिरौंला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका खाद्यवस्तु अपत्यारिलो मात्रामा भारतबाट आयात हुने गरेको स्पष्ट पारे । आ.व. २०७९/०८० मा पूर्वी नाका भएर ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो पनि भारतबाट आयात हुँदा एक वर्षमा १९ करोड ८३ लाख ८४ हजार मूल्य बराबरको १२ हजार ३ सय ९९ मेट्रिक टन हरियो खुर्सानी भारतबाट भित्रिएको उनले जनाए । मेची भन्सार कार्यालय काँकडभिट्टाको अभिलेखले कृषिजन्य वस्तुको निर्यात बढेको तथा क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाको अभिलेखले पूर्वी पहाडी जिल्लमा उत्पादन हुने फर्सी भारतबाट ठूलो मात्रामा आयात हुने गरेको पुष्टि गरेको उनको भनाइ छ ।

सोही अवधिमा ३१ करोड ९८ लाख आठ हजार मूल्य बराबरको १९ हजार ९ सय ८८ मेट्रिक टन करेला, १८ करोड ७४ लाख ७२ हजार मूल्य बराबरको ११ हजार ७ सय १७ मेट्रिक टन भिन्डी र ८ करोड ९६ लाख ८० हजार मूल्य बराबरको ५ हजार ६ सय ५ मेट्रिक टन सिमी भारतबाट काँकडभिट्टानाका हुँदै आयात भएको कार्यालयले देखाएको छ । यता अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा अलंैचीको निर्यात ४२ प्रतिशतले बढेको वा ३ अर्ब ४७ करोड ७१ लाख २४ हजार मूल्य बराबरको अलैंची निर्यात वृद्धि भएको अभिलेख भन्सारसँग छ । तर, कोदो र फर्सी भने भारतबाट बर्सेनि ठूलो परिमाणमा आयात हुने गरेको छ ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले आर्थिक वर्ष २०७९÷०८० मा ८ अर्ब २४ करोड १५ लाख १३ हजार रुपैयाँ मूल्य बराबरको ९९ लाख ३१ हजार ५ सय ४ केजी अलैंची पूर्वी नाका भएर भारत निर्यात भएको जानकारी दिए । आर्थिक वर्ष २०७८÷०७९ को सोही अवधिमा ४ अर्ब ७६ लाख ४३ हजार ८९ हजार मूल्य बराबरको ५२ लाख ८० हजार ४ सय ४३ केजी अलैंची भारत निकासी भएको बताउँदै गत आ.व.को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा अलैचीको निर्यात ४२ प्रतिशतले बढेको वा तुलनात्मक रूपमा ३ अर्ब ४७ करोड ७१ लाख २४ हजार मूल्य बराबरको अलैंची निर्यात वृद्धि भएको जानकारी दिए ।

त्यसैगरी आर्थिक वर्ष २०७९/०८० मा ३ अर्ब ४२ करोड ६९ लाख ५२ हजार मूल्य बराबरको १ करोड ६० लाख ७८ हजार ६३ केजी चिया निर्यात भएको थियो । गत आ.व.को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा तयारी चियाको निर्यात १६ प्रतिशतले वृद्धि भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए । यसैगरी, काँकडभिट्टा नाका भएर हुने चियाको निर्यातसमेत वृद्धि भएको छ । ‘अघिल्लो वर्षको तुलनामा ५५ करोड २३ लाख ४२ हजार मूल्य बराबरको चिया निर्यात वृद्धि भएको रेग्मीले बताए । ‘आर्थिक वर्ष २०७८/०७९ मा २ अर्ब ८७ करोड ४६ लाख १० हजार मूल्य बराबरको १ करोड १७ लाख १३ हजार ६ सय ५९ किलो चिया निर्यात भएको उनको भनाइ छ ।

आर्थिक वर्ष २०७९/०८० मा ६३ करोड ९२ लाख २९ हजार मूल्य बराबरको एक करोड ५५ लाख ४२ हजार ९ सय ३० केजी अदुवा र ८६ करोड ४३ लाख मूल्य बराबरको १ करोड १९ लाख ७३ हजार ९ सय ८० केजी अम्रिसो भारततर्फ निकासी भएको उनले बताए । यसले पूर्वीनाका भएर हुने अदुवा र अम्रिसोको निर्यातसमेत बढेको स्पष्ट हुन्छ । अघिल्लो वर्षको तुलनामा ३० करोड २३ लाख ६ हजार मूल्य बराबरको अदुवा तथा ३३ करोड ६९ लाख २३ हजार मूल्य बराबरको १ करोड ४ लाख ५८ हजार ७० केजी अदुवा निर्यात भएको थियो । अदुवाको निर्यात ४७ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/०८० मा ८६ करोड ४३ लाख मूल्य बराबरको एक करोड १९ लाख ७३ हजार ९ सय ८० केजी अम्रिसो भारततर्फ निकासी भएको छ । अम्रिसोको निर्यात २७ प्रतिशतले वृद्धि भएको छ ।

प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार अघिल्लो वर्षको तुलनामा २३ करोड ५३ लाख १९ हजार मूल्य बराबरको अम्रिसो निर्यात वृद्धि भएको छ भने ६२ करोड ८९ लाख ८१ हजार मूल्य बराबरको १ करोड २४ लाख ४३ हजार २ सय ४५ केजी अदुवा निर्यात भएको थियो । पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा ६ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको थियो । जसमा ३ अर्ब ३५ करोड ९ लाख ८१ हजार मूल्यको ताजा तरकारी र २ अर्ब ९४ करोड ८१ लाख ६८ हजार मूल्यको फलफूल आयात भएको क्वारेन्टाइन कार्यालयको तथ्याङ्कले देखाएको छ ।