आज ब्लाष्ट टाइम्स २९ औँ वार्षिक उत्सव मनाउने दिनमा पुग्न सफल भएकोमा सबैलाई बधाई एवम् शुभकामना व्यक्त गर्दछु । नेपाली पत्रकारिताको इतिहासमा एउटा सानो सहरको एक कुनाबाट हाते मेसिनको सहयोगबाट निस्किन थालेको ब्लाष्टटाइम्स आज आधुनिक मेसिनबाट निस्किएर हजारौंको हातसम्म पुग्न सफल भएको छ । यो भन्दा ठूलो उपलब्धि अरू के हुन सक्छ र १ पत्रकारितामा निरन्तरता र निष्पक्षता यी दुई धर्म निभाउन सक्यौँ भने त्यो नै ठूलो सफलता हो । निष्पक्षतामा पनि कहिलेकाहीँ आरोप प्रत्यारोप लागिरहेको हुन्छ । मुख्य समस्या भनेको पत्रिका बचाउन सक्नु नै ठूलो कुरा हो । यो लडाइँमा धेरैले हात उठाएका छन् । तर, ब्लाष्ट विगत ३० वर्ष देखि अविरल अविच्छिन्न प्रकाशित भइरहनु नै यसले आधा विजय हासिल गर्नु हो । यस अर्थमा म यस पत्रिकाको संस्थापक सम्पादक भएको नाताले गौरव गर्दै यसको जन्म, नाम र जन्माइसकेपछि भोगेका चुनौतीहरूबारे केही संस्मरण सुनाउन चाहन्छु । जसले गर्दा ब्लाष्टका पाठकहरू माझ बचेखुचेका जिज्ञासाहरू पनि शान्त होऊन् भन्ने मेरो उद्देश्य रहेको छ ।
ब्लाष्टको जन्म संयोग नभई बाध्यता
ब्लाष्ट जन्मदा नेपालमा गोरखापत्रबाहेक कान्तिपुर भर्खर निस्कँदै थियो । मोफसलमा त दैनिक अखबार नगण्यरूपमा थिए । एदाकता दर्ता नै भएको भए पनि नियमित प्रकाशनमा कतै थिएन । हामीले पनि दैनिक पत्रिका निकाल्ने, व्यावसायिकरूपमा अघि बढ्ने भन्ने सपनामा पनि चिताएका थिएनौँ । तर, जब २०५० सालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई धरानमा स्थापना गर्न भनी आन्दोलन नै चलायौँ, तब ब्लाष्ट टाइम्स एउटा पर्चाको रूपमा बाहिर निकालेका थियौँ ।
वामपन्थीहरूको उत्पादन केन्द्रको रूपमा परिचित धरानमा पञ्चायती व्यवस्थाको अवसानपश्चात् पनि विकास निर्माणमा कुनै फड्को मार्न सकेको थिएन । बरू उल्टै तत्कालीन सरकारले धरानमा रहेका केही सरकारी कार्यालयहरू पनि अन्यत्र सारेर मृत सहरको रूपमा परिणत गर्र्दै थियो । हामीलाई यो सह्य भएन । धरानको विकासमा केही आर्थिक सहयोग पुर्याउँदै आएको तत्कालीन घोपा क्याम्प अर्थात् ब्रिटिश क्याम्प उठेर पोखरा गएपछि धरानको आर्थिक गतिविधि ह्वात्तै घटेको थियो ।
अझ धरानमा रहेको अञ्चल अदालत, क्षेत्रीय अस्पतालहरू पनि विराटनगरतिर सरेपछि धरान सुनसान नै भएको थियो । यसैबीच तत्कालीन घोपा क्याम्पमा रहेको क्षेत्रीय अस्पताल पनि उठ्ने चर्चा चलेपछि हामी केही युवाहरूले यदि क्षेत्रीय अस्पताल उठाउने हो भने धरानमा तत्कालीन भारतीय सरकारले विराटनगरको डायनियाँ हाटमा बनाइदिन लागेको हालको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई धरानमा स्थापना गर्न आवाज उठायौँ । यदि यो अस्पताल नदिने भए अमेरिकामा बस्ने भारतीयमूलका मानिसहरूले बनाइदिने भनेको एक हजार शय्याको मणिपाल शिक्षण अस्पताल बनाउन सरकारले अनुमति देओस् भन्ने हाम्रो दोस्रो माग रह्यो ।
तर, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले यी दुवै माग पूरा गर्न आनाकानी गर्न थाल्नुभएपछि पत्रकार राजकुमार कार्कीको संयोजकत्वमा एक इण्डिपेण्डेण्ट युथ अर्गनाइजेसन एक्सन गु्रप अफ धरानको गठन गरी आन्दोलनका कार्यक्रमहरू बनायौँ । राजकुमार कार्कीको संयोजकत्वमा बनेको सो कमिटीका अन्य साथीहरूमा सचिव म स्वयम् थिएँ भने कोषाध्यक्ष सरिता राई, सदस्यहरूमा गोपाल देवान, राजेन्द्र रिमाल, महेश श्रेष्ठ, विशाल भण्डारी रहेका थिए ।
धरानलाई मृत सहर हुनबाट बचाउने हाम्रो एक सूत्रीय मागको आन्दोलनले ठूलो रूप धारण गर्न थालेपछि काठमाडौँलगायत पूर्वका धेरै जिल्लाहरूमा युथहरूको सङ्गठन बन्न थालेका थिए । धरानका प्रायः सबै बुद्धिजीवी, पत्रकार, मजदुर, गोर्खा भूपू सेना र नागरिक समाजले साथ दिन थालेपछि हामीले पनि ब्लाष्ट नामक पर्चा निकालेर आन्दोलनको गतिविधिबारे हरेक दिन जानकारी गराउन थाल्यौँ । यो पर्चा छ अङ्कसम्म निकाल्यौँ । हाम्रो शान्तिपूर्ण आन्दोलनचलिरहेको बेला प्रधानमन्त्री कोइराला धरानको महेन्द्र क्याम्पसमा एक कार्यक्रममा सहभागी हुन आउने भए । हामी तीनकुनेदेखि क्याम्पसको गेटसम्म नै हातमा कालो झण्डा बोकेर साङ्लो बनाएर बस्यौँ ।
अन्ततः धराने जनताको आक्रोस देखेर प्रधानमन्त्री कोइरालाले सोही कार्यक्रममा भारत सरकारले बनाइदिने भनिएको हजार बेडको प्रतिष्ठान धरानमा नै बनाइदिन्छु भनेपछि हाम्रो माग पूरा भएको थियो । आन्दोलनको क्रममा प्रकाशित हुँदै आएको ब्लाष्ट पर्चालाई बन्द नगरी साप्ताहिक पत्रिकाको रूपमा निकाल्न पाठकहरूबाट दबाव, सुझाव आए पछि हाम्रो जुझारु सम्पादक टिमले यसलाई सुुरुमा साप्ताहिक, त्यसपछि ३ दिने र अझ लोकप्रिय बन्दै गएपछि दैनिक अखबारको रूपमा स्थापित भएको हो ।
ब्लाष्ट नाम जुराउन १५ दिन
धरानका प्रायःजसो सबै पत्रपत्रिका नेपाली भाषामा प्रकाशित हुने भए पनि एकताका पत्रिकाको नाम भने अङ्ग्रेजीकै बढी थियो । जस्तोः ब्लाष्ट टाइम्स, मर्निड पोष्ट, मर्निड टाइम्स, एक्सन टाइम्स, न्युज पोष्ट आदि । यो ब्लाष्ट टाइम्स नाम जुराउन पनि हामीलाई पन्ध्र दिन लागेको थियो । नाम जुराउने जिम्मेवारी मेरो थियो । माथि नै उल्लेख गरिसकेको छु कि यो ब्लाष्ट नाम पत्रिकाको लागि नभएर एउटा आन्दोलनकारी घटनाको सन्देश दिने पर्चाको लागि थियो । त्यसैले नाम पनि क्रान्तिकारी नै हुनुपर्छ भन्ने मेरो धारणा थियो । सोही अनुसारको नाम जुराउन म लागेँ । त्यतिबेला म भारतीय उपन्यास लेखक सुरेन्द्र मोहन पाठकको उपन्यास खुब पढ्थेँ । उनको उपन्यासमा एउटा पात्र थिए सुनिल पाठक ।
उनी एउटा राम्रो जासुसी रिपोर्टर थिए । उनको पत्रिकाको नाम थियो ब्लाष्ट टाइम्स । ब्लाष्टको प्रतिद्वन्द्वी पत्रिका थियो द क्रिमिनल । त्यो उपन्यास पढेर म पनि आफूलाई सुनिल नै सम्झन थालेको थिएँ । त्यस्तै एक निडर पत्रकार बन्छु भन्ने लाग्थ्यो । सबै साथीभाइहरूसँग सल्लाह गरेपछि मैले प्रस्ताव गरेको ब्लाष्ट नाम कै पर्चाको नाम राख्ने निधो भएपछि त्यसको लोगो पनि भयङ्कर आकर्षक नै हुनुपर्छ भनेर त्यतिबेलाका काठमा खोपेर लोगो बनाउने कलाकार इटहरीका विक्रमश्रिलाई जिम्मा दियौँ । त्यसमा कलमबीच विष्फोट भएको हुनुुपर्छ भनेर राजकुमार दाइले वरिष्ठ कलाकार विक्रमश्रिज्यूलाई सुझाव दिनुभयो । लोगो सोहीअनुसार बन्यो ।
यो नाम र लोगो देखेर सुरुका दिनमा धेरैतिरबाट आलोचना पनि आयो । हैट् पत्रिकामा पनि कस्तो खतरनाक देखिने लोगो राखेको भनेर । तर, हामीले लोगो र नामअनुसारकै समाचारहरू पनि हटकेक, रुचिपूर्ण, सनसनीखेज दिन थाल्यौँ । सुरुका दिनमा समाजमा भएका भ्रष्टाचार, बलात्कारजन्य घटनालाई खोजीखोजी हालेर स्टन्ट पनि ग¥यौँ । जसको असर पाठकमा सकारात्मक र नकारात्मक दुवै प¥यो । सकारात्मक यस अर्थमा प¥यो कि ब्लाष्टमा यस्ता घटना आउँछ भनेर सबैले खोजीखोजी पढ्न थाले र पत्रिकाको माग जताततै बढ्न थाल्यो । नकारात्मक चाहिँ भर्खर निस्किएको पत्रिकाले खाली बलात्कारको मात्र समाचार छाप्दोरहेछ भनेर बुद्धिजीवीमाझ आलोचनात्मक चर्चाको विषय बन्थ्यो ।
तर, विस्तारै यसले समाजका हरेक पक्ष, जस्तोः कृषि, शिक्षा, स्वास्थ्यलगायत समाजका कुरीतिहरूको भण्डाफोर गर्दै गयो र ब्लाष्ट पूर्वाञ्चलकै एक मात्र हिरो पत्रिका बन्न पुग्यो । देशमा अनेकौं राजनीतिक, सामाजिक, आर्थिक उथलपुथल हुँदा पनि ब्लाष्टले निरन्तर आफ्नो यात्रालाई अघि बढाउन सक्नुलाई म त एउटा चमत्कार नै मान्छु । यसले निरन्तरता पाउनुमा चाहिँ एक व्यक्तिको मात्र हात नभएर सुरुका दिनदेखि नै टिम स्पिरिट हो भन्ने म ठान्दछु ।
बीच बीचमा सम्पादक, प्रकाशक समूहमा आएको आर्थिक समस्याले पत्रिका लर्खराउन खोजे पनि अब ब्लाष्ट नेपाली पत्रकारिताजगत्मा एक मिथक भइसकेको हुनाले यसलाई जोगाउन प्रकाशकको मात्र जिम्मेवारी नभएर सिङ्गो राज्य र सञ्चार संस्थाहरूको पनि जिम्मेवारी भएको म सम्झन्छु । सुरुका कठिन दिनहरूमा हामी पुराना संस्थापकहरूले गरेको योगदानलाई पनि प्रकाशक समूहले सम्झिदिएमा हामीले पनि अझै सहयोग पुर्याउने थियौँ । तर, खोला त¥यो, लौरो बिर्सियो भन्ने उखानलाई ब्लाष्टले भुल्नु भएन ।