व्यावसायिक पत्रकारितामा धरानमा ब्लाष्ट टाइम्स दैनिकले नै जग बसालेको हो । ब्लाष्टको प्रकाशन सुरुवातताकादेखि नै खँदिलो छ । यसको भविष्य पनि उज्वल नै छ । पाठकको मन जितेकै कारण यहाँसम्म आएको हो । यसले नियमितरूपमा राजनीति, साहित्य, खेलकुद, कला, अपराध, यौन, स्वास्थ्य सबैजसो विषयलाई समेट्न सफल भएको छ । २९ औँ वर्षमा पुग्नु चानचुने विषय होइन । धेरै ठूलो समय हो । यसले धरानको इतिहासलाई बोक्न सफल पनि छ । यो इतिहास बोक्नु चानचुने कुरा होइन । म ब्लाष्टको नियमित ग्राहक नै छु । यसलाई रिजनेवल पत्रिकाको रूपमा मान्छु ।
पाठकहरू पनि पहिला ब्लाष्ट नै खोज्छन् । समाचार छपाउन पनि त्यसैमा खोज्छन् । अरू नभए पनि ब्लाष्टमा आए पुगिहाल्यो भन्नेहरू अहिले पनि धेरै छन् । विचार छपाउन होस् या समाचार, सुरुमा ब्लाष्ट खोज्छन् अनि मात्रै अन्य पत्रपत्रिकामा आम नागरिकको ध्यान गएको देख्छु । यो ब्लाष्टका लागि राम्रो पक्ष हो । पूर्वाञ्चलमा हेर्ने हो भने यसले नेतृत्व लिएको देखेको छु । अरू पत्रिकाले जे जति भने पनि समग्रको आँखा ब्लाष्टमै छ । ब्लाष्टप्रति आम पाठकमा आकर्षण छ । यही कारण नै २९ औँ वर्षमा प्रवेश गर्न सफल भएको पनि हो ।
पठन संस्कृतिमा पनि ब्लाष्टले धरानमा ठूलो भूमिका खेल्यो । धरानमा मात्रै हैन, प्रदेशभरि नै त्यो छाप छाड्न सकेको छ । विज्ञापनदेखि लिएर विचार लेख्नेहरू पनि पहिला ब्लाष्टमा छपाउन चाहन्छन् । लेख्न चाहन्छन् । मोबाइलका कारण पठन संस्कृति हराउँदै गएको छ । पत्रपत्रिका पढ्ने पाठकहरू कम हुँदै गएको छ । मोबाइलमै सबैथोक आउने भएकाले त्यस्तो भएको हो । अहिले सिनेमा त मोबाइलमै आउन थालेको छ । मोबाइलमा सबै थोक आउँदा चाहिँ के पढ्ने के नपढ्ने भन्ने मान्छेमा अन्यौलता सिर्जना गरेको छ । फेसबुक तथा त्यस्ता सामाजिक सञ्जालमा आउने कुराहरू पत्रकारिताको आचार–संहिताभन्दा बाहिर आइरहेका छन् । त्यो कुरा सबैले बुझेका छैनन् । सबैभन्दा अगाडि फेसबुकले नै ब्रेक गरिदिन्छ । त्यहाँ सही सूचना पनि हुन्छ, गलत सूचना पनि तर मानिसले बुझ्दैन । आखिर सबै खालका पाठकहरू छन् ।
युट्युबमा श्रीमान्श्रीमतीको झगडा हेर्ने मात्रै पनि छन् । त्यस्ता पाठकहरू पनि हुन्छन् । केही न केही त हेरिरहेकै छन् । तर, छापा मिडियालाई केही गाह्रो भइरहेको अवश्य नै छ । ब्लाष्टले आम परिवर्तनमा पनि भूमिका खेलेको छ । प्रजातन्त्रको मूल्यमान्यता मात्रै नभई प्रजातन्त्र मजबुत बनाउन पनि भूमिका खेलेको छ । भ्रष्टाचार, अपराधहरूलाई बाहिर ल्याएको छ । प्रजातन्त्रविना प्रेस र प्रेसविना प्रजातन्त्र लङ्गडो हुन्छ भन्ने मेरो मान्यता हो । यो कुरालाई मैले केही जर्नलमा लेखेको पनि थिए ।
ब्लाष्टको एउटा नराम्रो पक्ष पनि छ । यसले ‘लेफ्टिस्ट’ लाई बढी प्राथमिकता दिन्छ । लेफ्टिस्टमा पनि बढी नेकपा (एमाले) को कार्यक्रमलाई हाइलाइट गर्ने गर्छ । अन्य राजनीतिक दलहरूको समाचार आयो भने पनि झारो टार्ने खालको मात्रै आउँछ । एमालेको सबै कार्यक्रमको समाचार आयो भने काङ्ग्रेसको चार वटामा एउटा मात्रै समाचार आउँछ, त्यो पनि झारो टार्ने हिसाबमा मात्रै आउँछ । कार्यक्रममा बोलाए पनि ब्लाष्टका पत्रकारहरू आएका हुँदैनन् । फोटोहरू त छापिएको पनि हुँदैन । अन्य राजनीतिक दलको कार्यक्रमलाई अनदेखा गरिरहेको हुन्छ । समाचार कम परिरहेको हुन्छ । यसलाई चाहिँ सुधार गर्नुपर्ने देखिन्छ । सबै समूहलाई उत्तिकै प्राथमिकता दिएर छाप्नु पर्छ । किनकि यो प्रदेशको नेतृत्व गरिरहेको पत्रिका हो । कुनै एउटा समूहको आवाजलाई मात्रै मुखरित गर्दा अर्को समूहले ‘इग्नोर’ गर्ने अवस्था आउँछ । त्यसो गर्नु राम्रो होइन ।
कुनै बेला ब्लाष्टमा बलात्कारका समाचारहरू मात्रै धेरै छापिन्थे । त्यसलाई मनोरञ्जनात्मक ढङ्गले प्रस्तुत गरिन्थ्यो । त्यसले पनि समाजलाई मनोरञ्जन दिइरहेकै थियो । त्यो बेला स्थापित हुनका लागि त्यस्ता खालका समाचारले भूमिका खेल्यो । ब्लाष्टको मार्केट पनि बढ्यो । सञ्चालकले व्यावसायिक रूपमा चलाउन सक्षम हुने रहेछौँ भन्ने बुझ्यो । अहिले त्यसैको परिणाम २९ औँ वर्षमा प्रवेश गरेको छ । ब्लाष्टले कम्तीमा पनि व्यावसायिक आचरणभित्र रहेर काम गरिरहेको छ । पत्रकार आचार–संहिता र व्यावसायिक पत्रकारितामा खम्बाको रूपमा प्रदेशभरि रहेको छ ।