विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएको छ ।
एमालेको कोशी प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाले शनिबार उम्मेदवारी दर्ता गराएपछि चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ । खतिवडालाई सर्वसम्मत अध्यक्ष बनाउने केन्द्रीय नेताहरूको प्रयास असफल भएपछि दुई नेताले प्रतिस्पर्धा गर्ने निश्चित भएको हो । ढकालको प्रस्तावक मुकेश बुढाथोकी र समर्थक महेश भट्टराई बसेका छन् । खतिवडाको प्रस्तावकमा रामप्रसाद दङ्गाल र छत्रपति प्याकुरेल रहेका छन् । प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरूले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेका थिए । तर, खतिवडालाई सर्वसम्मत अध्यक्ष बनाउने कतिपय केन्द्रीय नेताको प्रस्ताव मान्न ढकाल तयार भएनन् ।
खतिवडालाई सर्वसम्मत अध्यक्ष बनाउनका लागि नेताहरूले ढकाललाई पार्टीको पोलिटब्यूरो सदस्य बनाउने प्रस्ताव गरेका थिए । तर, उनले प्रदेश अध्यक्षमा नै आफ्नो रुचि रहेको बताउँदै उक्त प्रस्ताव अस्वीकार गरे । सर्वसम्मत अध्यक्ष चयन गर्ने प्रयास असफल भएपछि दुवै नेताले चुनावी अभियान सुरु गरेका छन् । मदन भण्डारी फाउण्डेसनमार्फत् एमालेमा केपी शर्मा ओलीको गुट स्थापित गर्दा ढकाल प्रमुख खम्बा थिए । तर, पछिल्लो समय अध्यक्ष ओलीसँग ढकालको सम्बन्ध चिसिएको छ ।
ढकाललाई साथ दिइरहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएका कारण पनि कतिपय नेताले ढकालको साथ छाडेका छन् । खतिवडा र ढकाल एमालेको पाँचौं जिल्ला अधिवेशनमा मोरङ जिल्ला अध्यक्षमा भिडेका थिए । त्यतिबेला ओली समूहका ढकालले माधव नेपाल समूहका खतिवडालाई पराजित गरेका थिए । शुक्रबार अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले केही नभन्ने तर, नेताको इशारा बुझ्न आग्रह गरेका थिए ।
‘चुनाव लडेपछि हार्न, जित्न सम्भव हुन्छ, यो पार्टीभित्रको कुरा हो’ उनले भनेका थिए, ‘भरसक त्यो नौवत नआओस्, अलिकति पार्टीका नेताहरूको, नेतृत्वहरूको के मूल्याङ्कन छ, अलिकति इशारा पनि बुझ्नुहोस् र काम गर्नुहोस्, यदि त्यसो गर्न सक्नुहुन्न भने स्वस्थ हिसाबले प्रतिस्पर्धा गर्नुहोस्, मैले अध्यक्षको हिसाबले केही भनिरहनु आवश्यक छैन ।’ अध्यक्ष ओलीले निर्देशन दिनुभन्दा पहिले नै कोशी प्रदेशको नेतृत्व लिन नेताहरू खतिवडा र विनोद ढकालले दौडधुप तीव्र पारिसकेका थिए । उनीहरू शुक्रबार बिहानैदेखि एमालेमा प्रतिनिधिहरूसँगको संवादमा जुटिसकेका देखिन्थे । एक हप्तादेखि नै यी दुई नेताले एमालेको चुनावी माहोल तताइसकेका छन् ।
सायद त्यही माहोल देखेर हुनुपर्छ, अध्यक्ष ओलीले विराटनगर पुग्नेबित्तिकै नेतृत्वको इशारा बुझ्न अधिवेशनमा आएका प्रतिनिधि र कार्यकर्तालाई निर्देशन दिएका हुन् । गृहप्रदेश भएकाले पनि अध्यक्ष ओलीले कोशीको अधिवेशनलाई विशेष चासो दिएका छन् । तर, ओलीको चाहना पूरा हुने सम्भावना कमजोर भइसकेको छ । लुम्बिनी, बागमती र कर्णालीमा चुनावबाटै नेतृत्व चयन भएकोले कोशीमा पनि चुनाव रोकिने सम्भावना न्यून रहेको नेताहरू बताउँछन् । ‘नेताहरू चुनावबाटपछि हट्ने सम्भावना न्यून छ’ एमाले स्थायी कमिटी सदस्य भीम आचार्यले भने, ‘विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा हुन्छ ।’ आफूले विनोद ढकाललाई सघाएको उनले बताएका छन् । ‘मेरो र मेरा साथीहरूको समर्थन उहाँलाई छ’–उनले थपे ।
घनश्याम खतिवडालाई अध्यक्ष केपी शर्मा ओली, कोशीका मुख्यमन्त्री हिक्मत कार्की, स्थायी कमिटी सदस्य एवम् एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले खुलेर समर्थन गरेको विराटनगरमा चर्चा छ । नेतृत्व चयनका लागि आज (आइतबार) बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन् । एमाले कोशी प्रदेश समिति पदाधिकारीसहित २ सय १५ सदस्यीय हुनेछ । १४ जिल्ला रहेको कोशी प्रदेशमा ९ सय ९७ प्रतिनिधिले पहिलो अधिवेशनबाट नेतृत्व छान्नेछन् ।
अध्यक्षका दुवै उम्मेदवार मोरङका
एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा उम्मेदवारी दिएका खतिवडा र ढकाल मोरङकै हुन् । ढकाल विराटनगर निवासी हुन् भने खतिवडा लेटाङका हुन् । खतिवडा र ढकाल कोशीको नेतृत्वका लागि प्रतिस्पर्धा भए दुवै प्रतिनिधिसभाको निर्वाचनमा पराजित अनुहार हुनेछन् । २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा खतिवडा मोरङ १ र ढकाल मोरङ ४ मा पराजित भएका थिए ।
खतिवडालाई काङ्ग्रेसका डिगबहादुर लिम्बू र ढकाललाई माओवादी केन्द्रका अमनलाल मोदीले हराएका थिए । अहिले ढकाल एमाले केन्द्रीय सदस्य र धनकुटा इञ्चार्ज छन् । रोचक संयोग कस्तो छ भने यसअघि ढकाल र खतिवडा एमाले मोरङको पाँचौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदका पनि प्रतिस्पर्धी थिए । त्यसबेला माधवकुमार नेपाल पक्षबाट खतिवडा र केपी ओली पक्षबाट ढकाल उम्मेदवारका रूपमा मैदानमा थिए । तर, चुनाव ढकालले जिते । काठमाडौंमा भएको एमालेको नवौँ केन्द्रीय महाधिवेशनताका नेपाललाई छोडेर खतिवडा ओलीतिर खुले ।
सुरुदेखि ओलीको पक्षमा रहेका ढकालले दुईपटक मोरङ अध्यक्षका रूपमा काम गरिसकेका छन् । ५४ वर्षीय ढकाल पहिलो संविधानसभा र २०७४ को स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिका प्रमुखमा उठेर पनि पराजित भए । त्यसपछि उनको अर्को पराजय गत मङ्सिरको थियो । ६२ वर्षका खतिवडा भने २०४९ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा मोरङको लेटाङ गाविस अध्यक्षमा निर्वाचित भए ।
२०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा काङ्ग्रेसका डिगबहादुर लिम्बूसँग पराजित उनले तिनै लिम्बूलाई हराउँदै २०७४ सालमा मोरङ १ बाट प्रतिनिधिसभा सदस्य जित्न सफल भए । यी दुई नेताले उम्मेदवारी दर्ता गराएको कारणले लुम्बिनी र बागमतीमा चुनावबाटै नेतृत्व चयन भएपछि कोशीमा सर्वसम्मति गर्ने अध्यक्ष ओलीको प्रयास सफल नहुने नेताहरू बताउँछन् ।