सुनसरी । सुनसरी जिल्लाको कोसी गाउँपालिका–४ स्थित कोसी कटान क्षेत्रमा सञ्चालित बाढी, आगलागी र भूकम्पमा आधारित जिल्लास्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीको आयोजनामा बुधबार बिहान जिल्लास्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रम गरिएको हो । सुनसरीमा हुँदै आएको विभिन्न विपदबाट जोगिने र त्यसको पूर्व तयारी तथा व्यवस्थापन स्वरूप कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । बाढीका बेला हुनसक्ने सम्भावित खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि उक्त कार्यक्रम गरिएको हो । अभ्यासका क्रममा आगलागी र अविरल वर्षापश्चात् आउने बाढी र त्यसबाट हुने क्षति र न्यूनीकरणका उपायहरूका बारेमा जानकारी गराइएको थियो । बाढीले डुबानमा परेका व्यक्तिलाई जोगाउन र उद्धार गरी जनधनको क्षति रोक्न सुरक्षाकर्मी परिचालन भएको थियो ।

सुरक्षा फौजको गोताखोर टोलीले डुङ्गामार्फत् डुबानमा परेका व्यक्तिलाई उद्धार गरी प्राथमिक उपचारपश्चात् एम्बुलेन्सबाट अस्पताल पठाएको थियो । अभ्यासका क्रममा घाइतेलाई नदीबाट उद्धार गरी बाहिर निकालेपछि के कसरी व्यवस्थापन गर्ने भनेर देखाइएको थियो । उक्त गोताखोर टोलीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान सम्मिलित थिए । उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनर्ताजगीका लागि खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ प्रत्येक वर्षजस्तै यो वर्ष पनि कृत्रिम घटना अभ्यास गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेकी  प्रजिअ पाण्डेले बताइन् । उनले यस्ता अभ्यासले विपद् प्रतिकार्य गर्न प्रभावकारी हुने विश्वास व्यक्त गर्दै बाढी आएमा त्यसको प्रतिकार्य गर्दै क्षति न्यूनीकरण गर्न जिल्ला व्यवस्थापन समिति तयारी अवस्थामा रहेको बताइन् ।

जिल्लामा यदि कहीँकतै विपद् आएको अवस्थामा सुरक्षा फौजको टोली उद्धार गर्न तयारी अवस्थामा रहेको भनी सन्देश दिन पनि यस्ता कार्यक्रम गर्ने गरिएको छ । विपद् कुनै पनि समयमा आउनसक्ने भएकाले सुरक्षाकर्मी तथा उद्धारमा संलग्न सुरक्षाकर्मीलाई तयारी अवस्थामा राख्न पूर्व अभ्यास गराइएको हो । विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि बनाइएको जिल्ला विपद् व्यवस्थापन समितिको कार्ययोजनाअनुसार सोको प्रभावकारिताका लागि कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरिएको सुनसरी प्रशासनले जनाएको छ ।

उक्त अभ्यासका क्रममा सुख्खा मौसममा हुने आगलागी, वर्षाको बेला आउने बाढी र भूकम्पसम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको थियो । कृत्रिम घटना अभ्यासका क्रममा दमकल, एम्बुलेन्स, स्काभेटर, रबर बोट, मोटर बोड, लाइफ ज्याकेटसहितका बन्दोबस्तीका सामग्री प्रयोग गरिएको थियो । जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीको आयोजना तथा कोसी गाउँपालिकाको संयोजन, वराहक्षेत्र नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र हरिनगर गाउँपालिकाको समन्वय एवम् सहकार्यमा कोसी प्रदेश सांसद्हरू, स्थानीय तहका प्रमुख÷उप–प्रमुख, कार्यालय प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि, गैरसरकारी महासङ्घ सुनसरी, पत्रकार महासङ्घ, नेपाल रेडक्रस, विपद् क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ÷संस्था, स्थानीयलगायतको सहभागिता रहेकोे थियो ।