संविधानको धारा १६८ (३) अनुसार कोशी प्रदेशको मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएपछि संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि बाटो खुलेको छ ।
कुनै सांसदले प्रदेश सभामा बहुमत सदस्यको आफूलाई समर्थन छ भन्ने प्रमाण लिएर गए प्रदेश प्रमुखले बहुमत सिद्ध गर्ने सांसदलाई मुख्यमन्त्री नियुक्त गर्नेछन् । यसमा मुख्यमन्त्री दाबी गर्न दलको नेता चाहिन्न, प्रदेशसभाका कुनै पनि सदस्यले बहुमत जुटाएर दाबी गर्न सक्छन् ।
कोशी प्रदेशमा मुख्यमन्त्री बन्न नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा र माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी गरेका छन् । तर, अहिलेसम्म दलहरुले मुख्यमन्त्रीबारे निर्णय गर्न सकेका छैनन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संविधानको धारा १६८ (५) अनुसारको मुख्यमन्त्रीमा पनि आफ्नो दाबी रहेको बताए । नेपाली कांग्रेसमा पनि थापाबाहेक अरुलाई अगाडि सारेर जानुपर्ने आवाज उठेको छ । कांग्रेसभित्र केदार कार्कीले पनि मुख्यमन्त्री दाबी गरेका छन् । तर संसदीय दलका नेता थापाले भने मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताए ।
प्रदेशसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले भने, ‘मुख्यमन्त्रीमा दाबी चाहिँ मेरो छ, निर्णय चाहिं गठबन्धनका शीर्ष नेताहरुले गर्नुहुन्छ ।’ दुई पटक मुख्यमन्त्री बन्ने अवसर पाए पनि काम गर्ने मौका नपाएको उनको भनाइ छ ।
‘कांग्रेसभित्र विकल्प खोज्नुपर्ने मत छ’ भन्ने प्रश्नमा उनले भने, ‘अब मुख्यमन्त्री बन्न दलको नेता जरुरी छैन । तर दल त छ, दलको निर्णय त हुन्छ नि । दल मात्र छैन, गठबन्धन पनि छ, गठबन्धन तोडेर हामी मुख्यमन्त्री बन्न जान्छौं !’
कोही दलको अनुशासन तोडेर जान्छ भने मान्न नसकिने संसदीय दलका नेता थापाले बताए ।
यता माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशीको मुख्यमन्त्रीमा दाबी रहेको बताए । नेपाली कांग्रेसले दुई–दुई पटक सरकार बनाए पनि विश्वासको मत प्राप्त गर्न नसकेकाले अब माओवादीको नेतृत्वमा सरकार बनाउनुपर्ने आङ्बोको तर्क छ ।
प्रदेशसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी संसदीय दलका नेता आङ्बोले कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादीले धेरै त्याग गरेको बताए । तर कांग्रेस नेतृत्वको सरकारले दुईपटक विश्वासको मत नपाएर उपधारा ३ हुँदै ५ मा पुगेको भन्दै उनले भने, ‘अब फेरि विश्वासको मत प्राप्त नगर्ने गरी सरकारको नेतृत्व दाबी गर्नु हुँदैन भन्ने हाम्रो निष्कर्ष छ ।’
अहिले तुलानात्मक रुपमा माओवादीको नेतृत्वमा सरकार बनाउँदा बहुमत पुग्ने र विश्वासको मत पनि प्राप्त गर्न सक्ने उनको दाबी छ । राप्रपासँग केन्द्रमा नेताहरुले संवाद गरिरहेको भन्दै माओवादी संसदीय दलका नेता आङ्बोले भने, ‘मध्यावधिलाई रोक्न र प्रदेशलाई राजनीतिक स्थायित्व दिन गठबन्धनसँग सहकार्य गर्न राप्रपा अलिकति नजिक छ ।’