धनकुटा । धनकुटा बसपार्कमा मानिसहरू भेला भइरहेका थिए । त्यसैबीच एकातिरबाट एउटा गाडी र अर्कोतिरबाट एउटा मोटरसाइकल आइरहेका थिए ।
हेर्दा हेर्दै ती सवारी ठोक्किएर भयङ्कर दुर्घटना हुन्छ । मोटरसाइकलमा सवार भूईंमा अलपत्र अवस्थामा लडिरहेका हुन्छन् । त्यहीबेला कोही भने ‘ऐया मरेँ... बचाओ बचाओ, म त मरेँ बचाओ बचाओ’ भन्दै कोही कराउन थाल्छन् । त्यसपछि मानिसको ठूलो हुल आएर गाडी चालकलाई मरणासन्न हुने गरी कुटपिट गर्छन् । लगत्तै एम्बुलेन्स, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गाडी साइरन बजाउँदै गाउँमा पुगेर व्यक्तिगत सुरक्षा तयारीका साथ उद्धार कार्य तीव्र पार्छन् । खुल्ला ठाउँमा रेडक्रसकर्मीहरू प्राथमिक उपचार गर्न व्यस्त देखिन्छन् ।
गम्भीर घाइतेलाई थप उपचारका लागि एम्बुलेन्समार्फत् अन्यत्र उपचारको लागि पठाउन थालिन्छ । झट्ट हेर्दा धनकुटाको बसपार्कमा ठूलै दुर्घटना भएजस्तो देखिन्थ्यो । तर, त्यहाँ वास्तविक कुनै दुर्घटना नभई जिल्ला विपद् व्यवस्थापन समितिले आयोजना गरेको सडक दुर्घटनामा आधारित कृत्रिम घटना हो यो । सवारी दुर्घटना आइलागे कसरी पूर्व तयारी गर्ने भनेर कृत्रिम घटना बनाएर खोज, उद्धार, प्राथमिक उपचार र आपत्कालीन स्वास्थ्यसम्बन्धी अभ्यास गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । उनले दुर्घटना भएमा कसरी उद्धार गर्ने भन्ने, कसरी तयारी गर्ने र पूर्व तयारी कसरी गर्ने भन्नेबारे योजना बनाउन सहज हुने जानकारी दिए ।
दुर्घटनाका समयमा मानवीय सहायता प्रदान गर्न र समुदायस्तरमै प्राथमिक उपचार गरी जनधनको क्षति हुनबाट बचाउनका लागि यस प्रकारको अभ्यास निकै प्रभावकारी भएको पौडेलको भनाइ छ । अझ नजिकिँदै गरेको चाडपर्वमा दुर्घटना कसरी कम गर्ने भन्ने तयारी गर्न पनि सहज भएको उनको भनाइ छ । नेपाल सरकारको विपद् तयारी तथा प्रतिकार्य योजना मार्ग दर्शन २०६७ को प्रथम संशोधन २०७६ अनुसार कुनै पनि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिसकेपछि त्यसलाई प्रमाणीकरण गर्न अभ्यास गर्नुपर्छ भन्ने मार्ग निर्देशन रहेको छ ।