धरान । आज (आइतबार) बाट नेपालीहरूको महान् चाड बडादसैं सुरु भएको छ ।
आज नवरात्रीको पहिलो दिनलाई घटस्थापना भनिन्छ । आजको दिन दुर्गा भवानीलाई घरघरमा स्थापना गरी जमरा राखिन्छ । घटस्थापनादेखि दशैंको चहल–पहल सुरु हुन्छ ।
आज दशैं मान्नेहरूका घरघरमा जमरा राख्ने प्रचलन छ । दशैंभर धरानको दन्तकालीसहित देशभरका शक्तिपीठहरूमा पूजा गर्ने चलन छ । देवदेवीका मन्दिर र शक्तिपीठहरूमा शक्तिरूपा दुर्गाको पूजा आराधना गरिन्छ । विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटाको पूर्ण घडा स्थापना गरिन्छ ।
शक्तिस्वरूपा दुर्गाभवानीको नौ रूप– शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र बुद्धिदात्रीको पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रसिद्ध छ । घटस्थापना गरिएको स्थानमा शङ्ख, डमरू, घण्टी बजाउँदै सप्तशति चण्डी पाठ गरी दुर्गा भवानीको स्तुतिगान गरिन्छ । जलपूर्ण घडा (कलश) स्थापना गरी त्यसको वरिपरि नौ देवीको स्वरूपको प्रतिमूर्ति तयार गरी गाईको गोबरले देवीहरूका वेदीलाई लेपन गरिन्छ । घडाको वरिपरि जौको बिज रोपिन्छ ।
अनि जलपूर्ण कलशमा पञ्चपल्लव पातहरू चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले ध्यानपूर्वक पूजा गरिन्छ । दशैंघर, घटस्थापना स्थलमा दुर्गा, सप्तशति, चण्डी र भगवतीको स्तोत्र पाठ गरिन्छ । आज नजिकको तीर्थस्थलबाट बालुवा मिसिएको पञ्चमाटो ल्याई वैदिक विधिपूर्वक पञ्चधातु, पञ्चपल्लव, जौ र मकै लगायतका बिजहरू छरेर घटस्थापना गरिन्छ । तान्त्रिक मतावलम्बीले पञ्चमकारसहित तान्त्रिक विधिले माटोमा जौ र मकै छरिन्छ ।
घटस्थापनाका दिन राखिएको जमरालाई नवमीको नवरात्री पूजा सकेपछि समृद्धिको प्रतीक मानेर विजयादशमीका दिन टीकासँगै लगाउने गरिन्छ ।