एउटा छापामारको झण्डै दुई दशकअघिको दैनिकी बन्दुक बोकेर, बन्दुकलाई नै अँगालेर अनि बन्दुककै सिरानी लगाएर बित्ने गथ्र्यो । गरिब उत्पीडित र निमुखा जनताको मुक्तिका लागि निस्किएको थियो ऊ बन्दुक भिरेर । आज त्यही छापामार बिहान ब्युँझिने बित्तिकै फूलको स्याहार गर्छ । फूलबारीमा रमाउँछ । फूलको सुवास लिन्छ, आफ्नो आत्मनिर्भरता र परिवारको पालन–पोषणका लागि ।
एउटा आलोचनात्मक चेतले हेरौं–हिजो छापामारको बन्दुकको ‘एउटा गोली’ कुनै परिवारको विभाजनको कारक बन्थ्यो । आज परिवर्तित छापामारको उत्पादन ‘एउटा फूल’ चेली–माइतीको सम्बन्ध जोड्ने सेतु बन्न पुग्छ । बन्दुकको कठोरता समाएका हातले कुनै दिन फूलको कोमलता स्पर्श गर्लान् भन्ने सोचेका थिएनन् उनले । जीवनलाई जनताका निम्ति उत्सर्ग गर्न माओवादी जनयुद्धमा होमिएका एक छापामारको दैनिकी सम्पूर्णरूपले कायापलट भएको छ यतिबेला । माओवादी शान्ति प्रक्रियामा आएपछि पहुँच र प्रतिनिधित्व प्राप्त गर्नु एउटा गाउँले ठिटोका लागि बन्दुक उठाउनुभन्दा बढी सङ्घर्षमय बन्यो । सहयोद्धाले राजनीतिक उचाइ लिँदा उनी आफू भने व्यक्तिगत स्वभाव र स्वाभिमानजन्य कारणले त्यो स्थानमा पुग्न सकेनन् र आफ्नै परिवेशमा कृषिकर्मलाई अँगाल्न पुगे । अहिले त्यही कृषि पेशा नै आत्मसन्तुष्टिमा परिणत भएको छ उनका लागि ।
असीको दशकको मध्यतिर उदाएको र नब्बेको दशकमा आफ्ना गीत सङ्गीतले पारखीको मन जितेको ब्याण्ड ‘गन्स एण्ड रोजेज’ को झल्को दिने सङ्गीतमय जीवन छ, तुलसी पाण्डेको ।
माओवादी सङ्घर्षमा बन्दुक बोकेका पूर्व छापामार बन्दुक विसर्जनपछि अहिले फूलखेतीमा लागेका छन् । पहिले जनताको मुक्तिका लागि बन्दुक बोकेका स्पेसल टास्क फोर्स (एसटिएफ) सेक्सन कमान्डर अहिले बन्जर जमिनमा आत्मनिर्भरताका लागि फूल उत्पादनमा लागेका छन् । ‘हिजोको परिस्थिति र आजको परिस्थिति बदलिएको छ । हिजो नेपाली जनताको मुक्तिका लागि सङ्घर्ष गरिएको हो । आजको परिस्थितिमा सबैलाई आत्मनिर्भर बन्नु पर्ने अवस्था छ । त्यसैमा ध्यान केन्द्रित गर्दै पुष्प खेती सुरु गरेको छु’ २०५६ सालदेखि माओवादी जनयुद्धमा समाहित पूर्व एसटिएफ सेक्सन कमान्डर वराहक्षेत्र–१ का युवा तुलसी पाण्डेले भने, ‘पार्टी शान्ति प्रक्रियामा आइसकेपछि व्यक्तिगत जीवन निर्वाहका लागि गाह्रो–अप्ठेरो होला कि भन्ने ठानेर आत्मनिर्भरताको बाटो अपनाएको हुँ ।’
सात कठ्ठामा सयपत्री फूल खेती
तुलसी पाण्डेले आत्मनिर्भरताका लागि अघिल्लो वर्ष ५ कठ्ठा जग्गामा व्यावसायिक सयपत्री फूल खेती गरे । अनुभवका लागि लगाइएको फूलखेतीबाट केही हजार रुपैयाँ आम्दानी भएपछि यही पेशालाई निरन्तरता दिए । ‘कृषि र पशुपालन पेशामा पनि असफलता भोगेकै हुँ’–पाण्डेले भने । यसअघि उनले बाख्रापालन व्यवसाय गरे । त्यो पेशाले उनलाई पोसाएन । त्यसपछि राँगा पालन गरे । त्यसमा पनि उनले सफलता हात पार्न सकेनन् । रोगव्याधिले व्यवसायबाट भनेजस्तो आर्थिक आय हुन सकेन । १२ कठ्ठामा तरकारी खेतीसमेत गरे । सिँचाइ सुविधा नहुँदा बारीमै तरकारी सुकेर गयो ।
गत वर्षदेखि सयपत्री फूलको खेती गरेका उनले यसमा सम्भावना देखेका छन् । चतरा नहरनजिकै रहेको बस्ती बालचन खोरियाबाट उनले सिँचाइको जोहो गरेका छन् । सयपत्री फूलको खेतीसँगै उनले कागती खेती पनि गरेका छन् । ‘फूल बिक्री गर्न बजार धाउनु पर्दैन, व्यापारी खेतीमै आउने गरेका छन्’ पाण्डेले भने, ‘गत वर्ष २०–२५ हजारको बिक्री गरेँ ।’ ५० वटा फूललाई एक मुठा बनाउँछन्, उनी । अनि एक सय रुपैयाँमा बिक्री गर्छन् । कोसी किनार चतरा नहर नजिक भए पनि खेतीपाती गर्न सिँचाइको अभाव छ । स्थानीय सरकारले वास्ता नगरेपछि पाण्डे र स्थानीयवासी प्रदेश सरकारकहाँ गए । प्रदेश सरकारले पानीको स्रोत पत्ता लगाएको छ । डिप बोरिङसमेत गरिएको छ । अब त्यहाँबाट पम्पिङ गर्न बाँकी छ । आगामी वर्ष प्रदेश सरकारको सहयोगमा सिँचाइ हुनेमा पाण्डे विश्वस्त छन् । सिँचाइपछि खेतीपातीबाट राम्रो आम्दानी गर्न सक्नेमा उनी आश्वस्त छन् ।
हाल भने बालचन खोरियाबाट २ इन्चको पाइपबाट पानी ल्याएरै खेती गर्दै आएका छन् । ‘पालो लगाएर पानीको उपभोग गर्नुपर्छ’ पाण्डे भन्छन्, ‘डिप बोरिङबाट आगामी वर्ष पानी ल्याउनसके खेतीपाती राम्रै होला ।’ तुलसी पाण्डे २०५६ सालमा माओवादी पार्टीमा आबद्ध भएका थिए । उनी २०५७ सालबाट छापामार युद्धमा होमिए । सोलुसल्लेरी छैठौं बटालियनबाट वि. सं. २०५८ मा जनमुक्ति सेनामा भर्ती भए । भोजपुरको दोभानेमा तालिम सकेपछि मेची–कोसी क्षेत्रीय कम्पनी गठन भयो । २०५९ मा उनी स्पेसल टास्क फोर्स (एसटिएफ) सेक्सन कमान्डर बने । छैठौं बटालियनबाट सुरु भएको उनको यात्रा बटालियन १८ औं सम्म पुग्यो । पाण्डेले त्यहाँ आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे ।
जण्डिस लागेकोले उपचार गर्न मोरङको लेटाङ झरेका उनी उपचार गरेर फर्कंदा मोरङको मुर्चुङ्री भन्ने स्थानमा २०६० सालमा पक्राउ परे । उनलाई मोरङको बेलबारी ल्याइयो । केही समय इटहरी पृतनामा राखियो । त्यसपछि इलाका प्रहरी कार्यालय इटहरीको जिम्मा लगाइयो । इटहरी प्रहरीले उनलाई जेल चलान गर्यो । विराटनगर कारागारमा पाण्डेले १५ महिना जेल जीवन बिताए । निहत्था र आधारविहीनलाई पक्राउ गरिएको भन्दै आइसीआरसीको पैरवीमा उनी २०६२ मा जेलमुक्त भए । जेलमुक्त भएपछि पार्टीको नियम ‘निगरानीमा राख्ने’ थियो ।
केही समय उनी घरमै बसे । २०६३ मा उनी वाइसियलको क्षेत्रीय उपाध्यक्ष भए । त्यसपछि उनी जिल्ला कमिटीको सदस्य भए । कोचिला राज्य कमिटीको इञ्चार्ज हरिबोल गजुरेल हुँदा उनी प्रदेश कमिटी सदस्य बने । २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन एकीकृत माओवादीका तर्फबाट वराहक्षेत्र–१ को वडाध्यक्षको टिकट पाए । सहमतिविपरीत पार्टीमा अबाञ्छित गतिविधि भएको भन्दै उनी १७ महिना निष्क्रिय रहे । हाल नेकपा (माओवादी केन्द्र) को सुनसरी जिल्ला कमिटी सदस्यमा उनलाई पार्टीले निरन्तरता दिएको छ । ‘राजनीतिमा लागेरमात्रै परिवारको भरणपोषण गर्न सकिँदैन, राजनीति विशुद्ध समाजसेवा हो, व्यक्तिगत लाभका लागि होइन’ पाण्डे भन्छन्, ‘राजनीति गर्नेले आत्मनिर्भर बन्न सक्नुपर्छ ।’