‘यता ल्याउँदा भ्याक्सिनेसन गर्नुपर्छ, हेल्थ सर्टिफिकेट चाहिन्छ, ट्राभल केस बनाउनुपर्छ । कस्ट्युमलाई छुट्टै चार्ज तिर्नुपर्छ । एउटा बराबर कस्ट्युम चार्ज ५० अमेरिकी डलर खर्च हुन्छ । त्यो सबै तिरेर ल्याएँ’
कसैले सडक बिरालोलाई विदेशबाट ल्याउनका लागि लाखौँ खर्च गर्ला ? धेरैको उत्तर हुन्छ अहं । तर, धरान उपमहानगरपालिका–१६ की बिमो राईले दुबईमा काम गरेर फर्किने क्रममा लाखौँ खर्चेर बिरालो नेपाल ल्याएकी हुन् ।

उनले दुई पटक गरेर झण्डै तीन लाख रुपैयाँभन्दा बढी खर्चेर पाँचवटा बिरालो नेपाल ल्याएकी थिइन् । उनी भन्छिन्, ‘दुबईमा किचन खुल्ला राख्थ्यौँ, बिरालोहरू आउथ्यो । बिस्तारै चिनजान भयो । स्लोली स्लोली एटेचमेन्ट हुँदै गयो । पछि मायाले गर्दा छाड्नै सकिन । बोली मात्रै छैन कि सबै कुरा बुझ्छ ।’

उनी पाँच वर्षअघि सदाका लागि नेपाल फर्किएकी थिइन् । फर्किने बेलामा बिरालोसँगको माया झन् प्रगाढ भएको उनी सुनाउँछिन् । ‘अफिसबाट आउँदा पनि बिरालो मलाई नै पर्खिरहने । जब फर्किने बेला भयो । मलाई नै हेरिरह्यो । एकदमै छाडन् सकिन’–उनी भन्छिन् । दुबईमा आफूले पालेको नभई सडक बिरालोहरू भान्सामा एक्कासि आउन थालेको र माया बस्दै गएको उनी बताउँछिन् ।

‘एक्लै थिएँ, घरको यादले सताउँथ्यो । साथी नै बिरालो भयो’ उनले भनिन्, ‘त्यसपछि एफेक्सन हुन थाल्यो । छाड्नै सकिन ।’ अहिले पनि उताबाट ल्याएका बिरालोहरू आफैसँग सुत्ने गरेको उनी सुनाउँछिन् ।

त्यही मायाका कारण उनले पहिलो पटक ल्याउँदा त्यहाँको २५ सय डिराम खर्च गरेको बताइन् । यो सन् २०१६ को कुरा हो । उताबाट पाल्तु जन्तुहरू ल्याउँदा मान्छेभन्दा बढी खर्च हुने गरेको उनी सुनाउँछिन् । ‘यता ल्याउँदा भ्याक्सिनेसन गर्नुपर्छ, हेल्थ सर्टिफिकेट चाहिन्छ, ट्राभल केस बनाउनुपर्छ । कस्ट्युमलाई छुट्टै चार्ज तिर्नुपर्छ । एउटा बराबर कस्ट्युम चार्ज ५० अमेरिकी डलर खर्च हुन्छ । त्यो सबै तिरेर ल्याएँ’ उनले भनिन्, ‘मान्छेलाई जस्तै पासपोर्ट पनि बनाउनुपर्छ । पासपोर्टमा हुने जानकारी चाहिँ बिरालोलाई सानो माइक्रोचिप प्रयोग गरिदिएको हुन्छ ।

त्यहाँको पशु कार्यालयमा त्यसको सम्पूर्ण डिटेल हुन्छ । नाम, ठेगाना, कसले पालेको हो, कुन जातको हो, घरधनी, घर नम्बर आदि ।’ उनले पहिलो पटक चाहिँ छुट्टीमा आउँदा ल्याएको बताइन् । दोस्रो पटक भने एकैपटक चार वटा ल्याउँदा त्यहाँको ७ हजार डिराम खर्च भएको बताइन् । उनी पाँच वर्ष अघि नेपाल फर्किएकी थिइन् ।

हाल ल्याएका मध्ये चारवटा मात्रै जीवित छन् भने एउटाको मृत्यु भइसकेको उनले सुनाइन् । उनले सडक बिरालोलाई मात्रै हैन, सडक कुकुरलाई पनि आश्रय दिइरहेकी छन् । अहिले उनले ८ वटा सडकमा फालिएका कुकुरलाई पनि आश्रय दिएकी छन् ।

त्यस्तै हरेक साता विभिन्न चोकमा पुगेर सडक कुकुरलाई खाना समेत खुवाउन पुग्छिन् । ‘के गर्ने माया लाग्छ, उनीहरूले बोल्न सक्दैनन्, केही भन्ने पनि होइन, कम्तीमा राम्रो जिन्दगी दिऊँ, राम्रो काम गरेर जाऊँ भनेर’ उनले भनिन् । विदेशबाट ल्याएका बिरालोहरूको खर्च अलगै छ र पनि उनी हिम्मत हारेकी छैनन् । ‘उनीहरूले भात खान जान्दैन । उता त सुपरमार्केटमा खानेकुरा पाउँछ । यता त नपाउने रै’छ ।

सुरु सुरुमा त उतैबाट मगाए । अहिले चाहिँ काठमाडौँबाट ल्याउँछु’ उनले भनिन् । उनले बिरालोलाई पहिचान गर्न विभिन्न नाम दिएकी छन् । टिनटिन, पिचु, गोल्डी, आलिया, चाङ्गु । त्यसमध्ये गोल्डी १४ वर्षको भैसकेको छ । दाँत पनि नभएको उनले बताइन् । टिनटिन चाहिँ स्थानीय जातको रहेको उनले बताइन् । ‘जीरोपाइन्टमा भेट्याएको । एकदमै मर्न लागेको थियो । यहाँ ल्याएपछि धेरै खाने अनि भुँडी टिनटिन हुन्थ्यो । त्यैकारण टिनटिन राखिदिएको’ उनले भनिन् ।

विदेशबाट ल्याएकाहरूको साइज पनि नेपालको भन्दा ठूलो हुने छेवैमा रहेकी उनको आमा दुर्गा राईले बताइन् । ‘यहाँको जस्तो हाउ हाउ गरेर खाँदैन, थोरै खान्छ । फ्रेस कलेजो, भैँसीको मासु अलि अलि खान्छ’–आमा दुर्गाले भनिन् । उनका अनुसार कुकुर पाल्न थालेको पनि छुट्टै कथा छ । ‘हामी अर्काको घरमा बस्थ्यो । त्यतिबेला घर थिएन । घुम्न जाँदाखेरि कुकुरको बच्चा क्याउँ क्याउँ करायो’ उनले भनिन्, ‘आँखा पनि उघ्रिएको थिएन ।

सात वटा थियो । डेरामा बस्ने बस्नेले ल्यायौँ ।’ फेरि अर्को पटक त्यही कुकुरलाई बाहिर घुमाउन लिएर जाने क्रममा ६ वटा बच्चाहरू फालेको अवस्थामा भेटेको बिमोले बताइन् । ‘पहिलो दिन त मनले नमानी नमानी पनि त्यसै छाडिदिए । घरमा पनि पाल्ने अवस्था थिएन । तर दोस्रो दिन पनि त्यहीँ रहेछ । मनले मानेन । जे होस् भनेर ल्याएँ’ उनले भनिन्, ‘त्यसपछि संस्थाहरूलाई, फेसबुकमा पनि अपडेट गरेँ ।

कसैले वास्ता गरेन ।’ सुरुमा त पाल्न पनि निक्कै समस्या भएको उनले बताइन् । ‘आँखा पनि उघ्रिएको थिएन । न्यू बर्नलाई कसरी ट्रिट गर्छ थाहा थिएन ।

गाईको दूध दिँदा छेरेर झण्डै मरेको’ उनले भनिन्, ‘पछि आमाले मच्छरदानीमा भात मुछेर दिएपछि बल्ल बाँच्यो ।’ अहिले ती सबै कुकुरहरू स्वस्थ्य छन् । उनले कुकुरको नाम बलु, बगिरा, फेरी, एरो, चाली, टिकु, मेसी र ग्रेसी राखिदिएकी छन् । अहिले तिनीहरूलाई मासिक १३ हजार मूल्य बराबरको ‘डग फुड’ दिने गरेको उनले बताइन् ।