विराटनगर । मोरङ विराटनगर–८ मधुमाराकी कल्पना बस्नेत बिहान ‘सूर्योदय’ हेर्न परिवारसँग इलामको सूर्योदय नगरपालिका–५ श्रीअन्तु पुगिन् । उनी चार घण्टा सवारी साधनमा यात्रा गरेपछि श्रीअन्तु पुगेकी थिइन् । शुक्रबार साँँझमा श्रीअन्तु पुगेकी उनी होम–स्टेमा बसिन् ।
उनीसँगै परिवारका चार सदस्य श्रीअन्तु पहिलो पटक आएका थिए । उनी शनिबार सबेरै उठेर सूर्योदय हेर्न श्रीअन्तु डाँडा उक्लिइन् । उनी बसेको होम–स्टेबाट ४५ मिनेट पैदल हिँडेपछि श्रीअन्तु डाँडा पुगिन् । उनी पुगेको केहीबेरपछि ६ बजेर चार मिनेटमा सूर्याेदय भयो । श्रीअन्तु डाँडाबाट सूर्योदय हेर्ने कल्पनासँगै शनिबार मात्र २ हजार आन्तरिक र वाह्य पर्यटकहरूले ५० रुपैयाँको दरले टिकट काटेर उदाउँदो सूर्य हेरे । श्रीअन्तुमा अहिले हजारौँको सङ्ख्यामा आन्तरिक र वाह्य पर्यटक आउने गरेका छन् । सांस्कृतिक तथा प्राकृतिक सुन्दरताले मनै लोभ्याउने श्रीअन्तुमा आन्तरिक र वाह्य पर्यटकले यहाँका होटल र होम–स्टे भरिभराउ रहेका छन् ।
समुद्री सतहबाट करिब २ हजार ३ सय मिटर उचाइमा पर्ने श्रीअन्तु सूर्योदय र सूर्यास्तको दृश्यवलोकनको लागि देशकै पहिलो गन्तव्यका रूपमा परिचित छ । दृश्यावलोकनका लागि अन्तुडाँडामा बनाइएको टावरबाट मात्र होइन, वरपरबाट पनि अत्यन्त आकर्षक दृश्य देखिन्छ । पशुपतिनगर र फिक्कलबाट १४ किलोमिटरको दूरीमा पर्दछ । तराईबाट नजिकै र सडकको सहजताका कारण पनि श्रीअन्तु धेरै पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ । हुन त इलाममा धेरै पर्यटकीय गन्तव्य छ तर, अन्तुमा जस्तो सडकको सहजता सबै पर्यटकीयस्थलमा छैन । अन्तु डाँडाबाट बिहान हेरिने सूर्योदय लोभलाग्दो हुन्छ । बङ्गालको खाडीबाट उदाउने सूर्य झुल्किँदाको दृश्य देखिन्छ । पहिलो पटक श्रीअन्तु आउँदा उदाउने सूर्य हेर्न पाएको कल्पनाले बताइन् । ‘आँखैअगाडि सूर्य झुल्किँदाको दृश्यले छुट्टै आनन्दको महसुस भयो’ उनले भनिन्, ‘मेरा थुप्रै साथीहरू श्रीअन्तु पहिलो पटक आउँदा मौसम नखुलेको कारणले पहिलो पटकमा झुल्किँदाको सूर्य हेर्न नपाई फर्किएको कुरा गर्दै आएका थिए । तर, म त पहिलो पटक आएको थिएँ । पहिलो पटकमै सूर्योदय देख्न पाएँ ।’
अन्तु सूर्योदयका लागि जति प्रख्यात छ, त्यति नै होम–स्टे पनि चर्चित छ । सूर्योदय र सूर्यास्तको दृश्यावलोकनसँगै होम–स्टेको स्वाद चाख्न र कामको थकान मेटाउन पनि यहाँ बर्सेनि पर्यटक बढ्दै गएको अन्तु पर्यटन विकास समितिका अध्यक्ष धनकुमार आलेले बताए । हरेक वर्ष एक लाखभन्दा बढी पर्यटकहरू होम–स्टेमा बस्ने गरेको आलेको भनाइ छ । नेपालको सबैभन्दा ठूलो होम–स्टे श्रीअन्तुको हो । ६० घर होम–स्टेमा दर्ता भएका छन् ।
अन्तु डाँडाबाट तराईका फाँट, भुटानका पहाड, दार्जिलिङका बस्ती र कञ्चनजङ्घा हिमालको दृश्यावलोकन गर्न सकिन्छ । अन्तुमा बाह्रै महिना चिसो हुन्छ । छिनछिनमा परिवर्तन हुने मौसम श्रीअन्तुको मुख्य विशेषता हो । कृषिका लागि पनि श्रीअन्तुले निकै ख्याति कमाएको छ । चियाका लोभलाग्दा डाँडा, अदुवा, अम्लिसोले पनि स्थानीयले मनग्य आम्दानी गर्ने गरेका छन् । हरियो गलैँचा ओछ्याए झैँ चटक्क मिलेको चियाबारी, कोणधारी धुपी, सल्ला, अलैँची, सिजन अनुसारका फलफूल तथा अरू बाली श्रीअन्तुको मुख्य आकर्षण हुन् ।
अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेका अनुसार बिदाको दिन अहिले दैनिक तीन हजार पाँच सय पर्यटक आउने गरेको बताए । ‘दशैँयता श्रीअन्तुमा दैनिक सरदर १५ सयदेखि ३ हजार आन्तरिक र वाह्य पर्यटक आउने गरेका छन्’–उनले भने । असोज, कात्तिक र मङ्सिर महिना पर्यटक अधिक आउने महिना रहेको श्रीअन्तु डाँडामा रहेको भ्यू टावर प्रवेश गरेको कर सङ्कलन गर्ने दिपेन पुलामी मगरले बताए । अहिले दैनिक सूर्योदय हेर्न आउने १ हजार पाँच सयदेखि तीन हजारसम्म आन्तरिक र वाह्य पर्यटक आउने गरेको उनले बताए ।
अन्तुमा मनमोहक पोखरीसमेत छ । त्यहाँ डुङ्गा सयर गर्दै पोखरीको बीच भागमा बसेर सेल्फी खिच्नेहरूको सङ्ख्या पनि बढ्दो छ । प्रेमिल जोडी डेटिङ गर्न, भर्खर विवाह बन्धनमा बाँधिएका नवदम्पती हनिमुन मनाउन आउनेहरूको सङ्ख्या पनि उत्तिकै बढ्दै गएको छ । इलामका अन्य पर्यटकीयस्थलमा पर्यटकको खासै उपस्थिति नरहेको बेला पनि श्रीअन्तुमा पर्यटकहरूको कमी नहुने स्थानीयबासीको भनाइ छ । खासगरी साउन अन्तिम सातादेखि पर्यटकहरूको आगमन हुन थाल्छ । अन्तु लोपोन्मुख लेप्चा जातिको थातथलो पनि हो । यहाँ आउने पर्यटकले लोपोन्मुख लेप्चा जातिको सङ्ग्रहालयमा सङ्कलित ऐतिहासिक हातहतियार, बाजागाजा, घरायसी प्रयोजनका सामग्री अवलोकन गर्न पाउँछन् । लेप्चा भाषामा ‘अत्थु’ भनेको ‘अग्लो डाँडा’ हुन्छ । त्यही ‘अत्थु’ शब्द अप्रभंश हुँदै ‘अन्तु’ भएको हो । पञ्चायतकालमा २०३० सालतिर अन्तु र श्रीबङ्गु गाउँ पञ्चायत एकीकृत भएर श्रीअन्तु भएको थियो । २०४३ सालमा दीपेन्द्र शिखर नामकरण गरिएको भए पनि पुरानो नाम श्रीअन्तु वा अन्तु डाँडा नामबाट यो ठाउँ प्रसिद्ध छ ।