धरान । ‘धरान १० किलोमिटर रन, बाह्रौँ नेवा च्यारिटी’ रन आउँदो फागुन १२ गते गरिने भएको छ ।
आयोजक धरान रन समूहले बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै अनलाइन तथा भौतिक रूपमा फर्म खुलेको जानकारी दिएको छ । समूहले सातौँ नेवा च्यारिटीदेखि १० किलोमिटर दूरी तय गरेको थियो । त्यसअघि ८ किलोमिटर दूरीमा दौड गराउँदै आएको थियो । गत वर्षबाट सुरु भएको धावकधाविकाको समय मापन गर्ने ‘चिप टाइमिङ सिस्टम’ यसपटक जुत्तामा प्रयोग गरिने भएको छ । ‘यसले एक्ज्याक्ट समय दिन्छ । यो गतवर्ष धावकधाविकाको छातीमा लगाएका थियौँ । यसपटक जुत्तामा लगाउनेछौँ’ –समूहका अध्यक्ष रमु राईले पत्रकार सम्मेलनमा भने । यसका लागि करिब एक लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ । ३ हजारको हाराहारीमा जुत्तामा लगाउने ‘डिजिटल चिप’ ल्याइएको छ ।
‘बेलायतबाट मगाएका हौँ, करिब डेढ लाख रुपैयाँ खर्च भयो’–उनले भने । गत वर्ष झैँ यसपटक पनि रूट परिवर्तन गरिन लागिएको छ । दशौँ नेवा च्यारिटी रनसम्म पुतलीलाइनदेखि राँगाचोक हुँदै देशीलाइनमा अन्त्य हुने प्रतियोगिता गत वर्षदेखि पुतलीलाइन, देशीलाइन हुँदै अन्त्यमा पुतलीलाइनमा समापन हुने बनाइएको छ । ‘वान वेका कारणले यसो गरिएको हो’ उनले भने, ‘पुरानै रूटमा दौडाउँदा गाडीहरू धेरै समय रोकिने भए । यताबाट कुदाउँदा १० मिनेटपछि समस्या नहुँदो रहेछ ।’
‘शिक्षाका निम्ति च्यारिटी दौड’ नाराका साथ हुँदै आएको प्रतियोगितामा १६ वर्षदेखि ३९ वर्षसम्म खुल्ला दौड, १२ वर्षभन्दा मुनि, १६ वर्षभन्दा मुनि, भेट्रान र सुपर भेट्रान गरी प्रतियोगिता वर्गीकृत गरिएको छ । खुल्लातर्फ करसहित ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ पाउनेछन् । १२ वर्ष, १६ वर्ष मुनि, भेट्रान, सुपर भेट्रानका विजेताले क्रमशः ७ हजार, पाँच हजार र तीन हजार रुपैयाँ पाउनेछन् । यसपटक तीन हजार धावकधाविका सहभागी हुनसक्ने अनुमान गरिएको छ । गतवर्ष ३५ सयको हाराहारीमा धावकधाविका थिए ।
यस प्रतियोगिताका लागि देशविदेशबाट सहभागी हुन आउने गरेका छन् । यसपटक दर्ताका लागि विद्यार्थी, १२ वर्षमुनि र मङ्सिर २१ गतेसम्म ४ सय रुपैयाँ प्रवेश शुल्क, त्यसभन्दा पछि माघ २९ सम्म पाँच सय र फागुन ५ सम्म सात सय रुपैयाँ दर्ता शुल्क रहेको अध्यक्ष राईले बताए । फर्मका लागि समूहको वेबसाइट धरानरन डट ओआरजी डट एनपी र भौतिक रूपमा पनि समूहको कार्यालयमा प्राप्त गर्न सकिने जनाएको छ ।
हालसम्म अक्षयकोषमा च्यारिटी रनबाट ११ लाख ८२ हजार रुपैयाँ सङ्कलन भइसकेको छ भने २४ जना सामुदायिक विद्यालयका विद्यार्थीलाई पढाइ खर्च, पोसाक, कापी, कलम, ब्याग र जुत्ता प्रदान गरिँदै आएको छ । बालबालिकाको लागि तीन किलोमिटरको ‘फन रन’ र ह्वील चियर रेस पनि गरिने भएको छ । यस्तै संसारभरि रहेका धावकधाविकाले सोही दिन भर्चुअल रन पनि गर्न सक्ने आयोजकले जनाएको छ । अध्यक्ष राईले भने, ‘यहाँ प्रतियोगिता भएकै दिन भर्चुअल रनमा सहभागी भएको तस्बिर, भिडियो पठाएमा उनीहरूलाई मेडल तथा प्रमाण–पत्र प्रदान गर्नेछौँ ।’
‘नेवा एजुकेसन फन्ड’ नाम दिइएको फन्डमा १२ लाख रुपैयाँको अक्षयकोष बनाउने लक्ष्य राखिएको छ । यसबाट सामुदायिक विद्यायमा पढ्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ ।