दुनिया संसार हेर्नु, घुम्नु, जान्नुपर्छ। गतिशील र परिवर्तनशील संसार छ । समय र परिस्थितिले अनुकूल देशमा जान, बस्न, पढ्न, काम गर्न मिल्दैन भन्दा यथार्थपरक हुँदैन।
पच्चीस सय बर्षभन्दा पहिलेका भगवान् बुद्धको जीवनी हेर्दा नै पनि यो कुरा स्पष्ट बुझिन्छ। बस्ने र कर्म गर्ने भनेको भगवान् बुद्धले सुझाउनु भए जस्तै अनुकूल, मर्यादित, स्वच्छ, सुरक्षित र प्रगतिशील ठाउँमा नै उत्तम हो । यसो भन्दै गर्दा एक सभ्य, चिन्तनशील र कर्तव्यनिष्ट ब्यक्तिले भगवान बुद्धको अर्को पाटो पनि सम्झन आवश्यक हुन्छ। त्यो हो- उहाँले आफ्नो जन्मथलो, राज्य र आफ्नाजनप्रति निभाएको निशर्त कर्तव्य र करुणा। उहाँले स्वजन र स्वदेशप्रति असीम करुणा र स्नेह राखेर जीवन पर्यन्त दायित्व निभाउनु भयो। प्रतिकूल भयो भन्दै आफ्नो गाउँ ठाउँ र चालचलन ठाटथलो त्याग्दै हिँड्दा यिनको सुधार, संरक्षण र अस्तित्व जगेर्ना गर्ने चाहिँ कसको जिम्मेवारी हुन्छ? यसो गर्दा हाम्रो पहिचान चाहिँ के हुन्छ? यस्तो सोच्ने र ब्यवहारमा जिवन्त राख्नुपर्ने कसले हो?
जरुरी छ; सके- भौतिक, बाहिरी र दृश्य रुपमा पनि सहि कुरा, स्व पहिचान अंगीकार गर्नु । परिस्थितिबस् नसके; आन्तरिक रुपमा, भित्र आफ्नो पहिचान आफूसँगै जिवित राख्नु। आफ्नो सँस्कृति, भाषा, साहित्य, सम्बत्, इतिहास, चालचलन, भेषभुषा, ठाउँ गाउँ भनेका मानिसका पहिचान हुन् । जीवन जगत, दुनिया चिन्न बुझ्न पहिले आफैंलाई चिन्नु, जान्नु, बुझ्नुपर्छ। यहि नै अस्तित्व र स्व पहिचानको जग हो । जग बलियो भएन भने हावामा बनेको, ठडिएको महल जस्तो हुन्छ। यति बलियो, वैभवशाली र गौरवपूर्ण जग भएको हाम्रो पहिचान र आधार बिर्सेर हाम्रो इज्जत, मर्यादा र पहिचान कसरी रहनसक्छ?
हो, परिस्थिति अनुकुल भएन। हामीले आमाको भाषामा पढ्न पाएनौं । बाको बोली बोल्दा खिजिनुपर्यो । हाम्रा खानपिन, भेषभुषा, साहित्य ठूला माछाहरु, शक्तिको चपेटामा परे । आफैंलाई बचाउने जोगाउने ध्याउन्नमा चाहिए जति समेट्न अवलम्बन गर्न सायद पाएनौ । यद्यपि, अन्तरकुन्तरमा स्वअस्तित्वको चेत बेलाबेला झिल्का भएर उठिरहे । सत्य, सहि र सहअस्तित्वको चेतले जोगाएको झिनो सिलसिलाले आज हामीलाई यहाँसम्म पुर्याएको छ ।
जान्दै नजानेको भाषा बोल्न बाध्य भएकी छिन् भक्तपुरकी बज्यै पनि । उपत्यका बाहिर लगभग नेवारी भाषा बोल्दै बोलिन्न। अहिलेका किशोर किशोरीहरु आफ्नो मातृभाषा राई, लिम्बु, तामांग, भोजपुरी वा मैथिली बोल्ने अवस्थामा छैनन्। खस भाषा पनि अन्तर्राष्ट्रियकरणको चपेटामा निस्सासिँदै छ । नेपाल भन्ने तर, यहाँ नेपाल सम्बत् बिर्सिएको स्थिति रह्यो। हाम्रा ब्यथाकथा अरु भाषामा कथिँदा पनि अचेत जस्तो बन्यौं । हाम्रा कला, सँस्कृति, परम्परा, दर्शन र ज्ञान बिस्मृत, तिरस्कृत भए, बनाइए । हुर्किरहेका मनमस्तिष्कहरुका पराया मोह र आकर्षणले मोहनी प्रभाव जमाए ।
आज न्हू दँ ने.सं. ११४४ को म्हपुजाको दिन हामीले हाम्रो आफ्नो सम्बत् नेपाल सम्बत्को व्यावहारिक प्रयोजनको घोषणा भएको खुशी मनाउँदै छौं । यस खुसीको अवसरमा म यो भन्न चाहन्छु कि- हाम्रो स्थिति बाटोमा अल्मलिएका बटुवाहरुको जस्तो नहोस्; बाटो हराएको चेतको साथमा बाटो पहिल्याउने प्रयास जरुरी छ । परायाको सम्बत्, भाषा, भेषभुषा आदिमा अभ्यस्त, आकर्षित र लत परेका हामीलाई कागजमा घोषणा गर्दैमा आफ्नोपनमा फर्कन सजिलो हुने छैन । धेरै व्यवधान, तगारा र चुनौती आइपर्ने छन् । हामी आफैभित्र पनि यस्ता धेरै प्रतिकुलता देखिनेछन्। आफ्नो भन्ने चेत नभएका र गुमाएकाहरु हामी बीचमै पनि धेरै हुनसक्छ। यस्तोमा धैर्यपुर्वक, निरन्तर र सजग भएर अब हामी आफ्नो घर फर्कनुको विकल्प छैन। हाम्रा भाषा, सम्बत, लिपि, संस्कृति, परम्परा आदिको मर्म बुझेर सहि रुपमा अवलम्बन, संरक्षण, सम्बर्धनमा आआफ्नोतर्फबाट इमानदार कोसिस गर्न आवश्यक छ । आफ्नै सम्बत्, भाषा, सँस्कृति हामीसँगै बाँच्ने हो र हामी पनि तिनको अस्तित्वसँगै मर्यादित हुने हौं । हामी हाम्रा सजग चेस्ता, प्रयास र अवलम्बनमा स्वअस्तित्व बाँचौं । जय नेपाल सम्बत्! जय मातृभाषा । जय नेपाल आमा।