धरान । कोशी प्रदेश सरकारले गौरवको योजना अन्तर्गत सुरु गरेको भोजपुरलाई तराईका जिल्लाहरूसँग जोड्ने पुलको काम अलपत्र परेको छ ।
भोजपुरलाई उदयपुर हुँदै तराईका अन्य जिल्लासँग जोड्न भनेर चुहारस्थित दूधकोसी नदीमा तीन वर्षअघि निर्माण सुरु गरिएको पुल हालसम्म निर्माण सम्पन्न भएको छैन । समयमा पुल निर्माण नहुँदा त्यो बाटो यात्रा गर्नेले ठूलो समस्या भोग्नु परेको छ ।
तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग भएकाले यसले भोजपुरको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको थियो । तर, पुल अलपत्र पर्दा गाउँका कृषि उत्पादनले बजार पाउन सकेका छैनन् । स्थानीयले बिरामी पर्दा अस्पताल पुग्न पनि कष्ट भोग्नु परेको गुनासो गरेका छन् । पुल नबन्दा भोजपुरबाट सिँधुवा धनकुटा हँुदै धरान पुग्न लामो बाटो र धेरै समय लाग्ने गरेको स्थानीयको गुनासो छ । २०७७ असोज २६ मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेको यो पुल दुई वर्षभित्र अर्थात् २०७९ कात्तिकसम्ममा निर्माण सम्पन्न गर्ने गरी कालिका प्यासिफिक जेभीले ठेक्का लिएको थियो । समयमा पुल निर्माण नगर्ने ठेकेदार कम्पनीलाई पछिल्लो पटक २०८० असोज १३ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी म्याद थपिएको थियो ।
२०७९ चैत ६ गते कोशी प्रदेश सभा सदस्य सिर्जना राई, पूर्व मुख्यमन्त्री शेरधन राई, यातायात पूर्वाधार निर्देशनालय इटहरीका निमित्त प्रमुख जितेन्द्रकुमार कर्ण, ठेकेदार कम्पनीका प्रतिनिधि ठाकुरप्रसाद कँडेल लगायतका सरोकारवालाहरूबीच भएको बैठकले चार बुँदे निर्णय गर्दै असोज १३ सम्ममा काम सक्ने गरी तत्काल निर्माण अघि बढाउने सहमति गरेको थियो । तर, पछिल्लो म्याद सकिँदासमेत काम अघि बढेको छैन । कोशी प्रदेश सरकारको २१ करोड २३ लाख १२ हजार चार सय सात लागतमा निर्माण थालिएको पुल अलपत्र पर्दा यस क्षेत्रका बासिन्दाले धरानसम्म पुग्न करिब एक सय ५४ किलोमिटर यात्रा गर्नुपर्ने अवस्था छ ।
९० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको यो पुलको काम हालसम्म २५ प्रतिशत पनि पूरा भएको छैन । पुलको ढलानको काम भने करिब ६० प्रतिशत सकिएको छ । पुल कहिले निर्माण सम्पन्न होला भन्ने टुङ्गो छैन । ठेकेदार कम्पनीका प्रतिनिधि ठाकुरप्रसाद कँडेललाई पटक–पटक सम्पर्क गर्दा पनि फोन उठाएनन् । यसअघि पुलको अनुगमन गरेकी कोशी प्रदेशसभा सदस्य सिर्जना राई रकमको अभावले पुलको काम रोकिएको बताउँछिन् । ठेकेदार सम्पर्कमै रहेको र उसले पैसा हुने बित्तिकै काम सुरु गर्ने वचन दिएको उनको भनाइ छ । उनी भन्छिन्, ‘सङ्घीय सरकारले समयमा निकासा नगर्दा ठेकेदारले पैसा पाएका छैनन् । देशैभरिको यस्तो समस्याले काम अघि बढ्न सकेको छैन । हामी चाँडो काम सुरु गराउन छलफल गरिरहेका छौँ ।’
प्रदेशसभा सदस्य राई यो पुल बने सुनसरी, उदयपुर, भोजपुरदेखि सङ्खुवासभाको किमाथाङ्कासम्म जोडिने भएकाले समग्र प्रदेशकै लागि फाइदाजनक हुने बताउँछिन् । उनी भन्छिन्, ‘प्रदेशले गौरवको योजना मानेर सुरु गरेको पुल चाँडो बन्नुपर्छ । सबैसँग छलफल गरेर चाँडोभन्दा चाँडो पुलको काम अघि बढाउन पहल गरिरहेका छौँ ।’