पछिल्लो समय मोरङ, सुनसरी र झापामा पर्ने चारकोसे जङ्गलमा हात्तीको बथानले विध्वंस मच्चाउँदै आएको छ । २५–३० वटा हात्तीको बथानले मोरङ, सुनसरी र झापाको राजमार्गदेखि उत्तर र दक्षिणी क्षेत्रमा प्रवेश गरेर आतङ्क मच्चाउँदै आएको हो ।
हात्तीको आक्रमणबाट मोरङमा सोमबार एक जनाको मृत्यु भएको छ । योसहित मङ्सिरमा हात्तीको आक्रमणबाट पूर्वी तराईका मोरङ, सुनसरी र झापामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मोरङको बेलबारी–१० भाउन्नेमा रहेको सृजना सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा लेटाङ नगरपालिका–३ घर भएका ५३ वर्षीय कमल माझीको मृत्यु भएको प्रहरीले बताएको छ । उनी जङ्गलबाट जाँडरक्सी बनाउन प्रयोग गरिने कच्चापदार्थ मर्चाको औषधि लिएर फर्कंदै गर्दा हात्तीले आक्रमण गरेको प्रहरीको अनुमान छ ।
यसअघि गत बिहीबार सुनसरीको इटहरी–२ स्थित शान्तिझोडामा हात्तीको आक्रमणबाट स्थानीय रविन खड्काको ज्यान गएको थियो । मानव बस्तीमा पस्न लागेको हात्तीलाई धपाउने क्रममा २५ वर्षीय रविनलाई हात्तीले आक्रमण गरेको थियो । गत शुक्रबार झापाको हल्दिबारीमा हात्तीको आक्रमणबाट रणकालीन सामुदायिक वनका चौकीदार धनबहादुर बनको मृत्यु भएको थियो । सामुदायिक वनबाट निस्केर मानव बस्तीमा प्रवेश गर्दै गरेको हात्तीले ४० वर्षीय बनलाई आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
दुई साताअघि झापाको दमक–३ हङ्सेदुम्से सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट भुटानी शरणार्थी पदमलाल तामाङको मृत्यु भएको थियो । झापा प्रहरीका अनुसार जङ्गलमा दाउरा काट्न गएका बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर सेक्टर बि–टु हट नं. २५२ बस्ने ७२ वर्षीय तामाङको मृत्यु भएको हो । चालु वर्ष झापामा मात्र जङ्गली हात्तीको आक्रमणमा परेर ६ जनाले ज्यान गुमाइसकेका छन् । केही समयपहिले मोरङको सुन्दरहरैँचा–१० सुकुना सामुदायिक वनमा घाँस–दाउरा गर्दै गरेकी स्थानीय ३२ वर्षीया सीता पराजुली र सुन्दरहरैँचाकै त्रिवेणी चोकमा ७५ वर्षीय जयप्रसाद बास्तोलाको हात्तीको आक्रमणबाट मुत्यु भएको मोरङ प्रहरीको तथ्याङ्क छ । गतवर्ष मिक्लाजुङ–६ कसेनीका ५१ वर्षीय यामबहादुर बोहोरालाई जङ्गली हात्तीले कुल्चेर मारेको थियो ।
डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेले हात्तीले मोरङमा घर भत्काउने र बालीनाली खाएर नष्ट मात्र नगरेर मानवीय क्षति पनि भएको बताए । ‘भारतबाट झापाको बाहुनडाँगी नाका हुँदै प्रवेश गरेका जङ्गली हात्ती उन्मत्त हुन सक्ने भएकाले हामीले सतर्कता अपनाउन भनेका छौँ’ उनले भने, ‘तीन ठाउँमा हात्ती धपाउन साइरनसहितको सुरक्षाकर्मी परिचालन गरिएको छ ।’ उनका अनुसार सलकपुर, बेलबारी र उर्लाबारीको मङ्गलबारेस्थित डिभिजन वन कार्यालयबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन सुरक्षाको टोली साइरनसहित हात्ती धपाउन परिचालन भएको छ ।
भारतबाट झापाको बाहुनडाँगी नाका हुँदै आएको हात्तीले हुङ्से–दुम्से र मोरङको मधुमल्लाबाट छिरेर जाँते लेटाङ, बेलबारी, कानेपोखरी, सुन्दरहरैँचा हुँदै सुनसरीको तालतलैयासम्म पुगेर उपद्रो गर्छन् । ‘त्यो रुट हात्ती हिँड्ने सधैँको बाटो हो । जङ्गलमा खान पाउन छाडेपछि हात्ती मानव बस्तीमा पुगेर धानलगायतका बालीनाली खाने, जाँडको कट खाने गर्छ’ घिमिरेले भने, ‘त्यसक्रममा हात्तीले आक्रमण गर्दा बर्सेनि मानवीय क्षति हुँदै आएको छ ।’
उनका अनुसार मोरङको मिक्लाजुङ, जाँते, लेटाङ, बेलबारी, केराबारी र सुन्दरहरैँचा क्षेत्रमा यसबेला ३० वटा भन्दाबढी जङ्गली हात्ती देखापरेका छन् । साउनदेखि अहिलेसम्म जङ्गली हात्तीले मिक्लाजुङको वडा ६, ७ र ८ का मनमाया भण्डारी, मिलन मगर र मोहन मगरसहित ११ जनाको घर भत्काएर पाँच सय बिघाभन्दा बढी क्षेत्रफलको धानवाली नष्ट गरेको गाउँपालिकाको तथ्याङ्क छ ।
हात्ती बढैसँगै चुनौती पनि उत्तिकै थपिएको डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरले बताए । ‘हात्तीले अन्नबाली र भौतिक संरचना बढी क्षति पु¥याउँदै आएको छ’ हात्तीको बासस्थान र आहाराको कमीले गर्दा गाउँ, घर र करेसा बारीमा पस्छ । हात्ती भने एक्लै हिँड्दैन, बूढी हात्तीको अगुवाइमा समूहमा आउजाउ गर्ने गरेको उनले बताए । हात्तीको सङ्ख्या बढ्दै गए पनि बासस्थान साँघुरिएकोले वन क्षेत्र छाडेर बस्तीमा प्रवेश गर्छन्’ उनले भने, ‘हात्तीले गाउँमा पसेर अन्नबाली र मानवीय क्षति पु¥याएपछि मानव र वन्यजन्तुबीच द्वन्द्व हुने गरेको छ ।’
किन गर्छ आक्रमण ?
जङ्गली हात्तीले असार–साउन र मङ्सिर–पुस महिनाका बेला धेरै उत्पात मच्चाउने गरेको कोशी टप्पु वन्यजन्तु आरक्षका निमित्त प्रमुख रमेशकुमार यादवले बताए । यी दुई मौसममा हात्तीहरू बढी सक्रिय भएर बालीनाली नष्ट गर्ने र आक्रमण गर्ने गरेको पाइएको उनले बताए ।
‘त्यसको एउटा कारण भनेको असार–साउनमा हरियो घाँससँगै हरियोपरियो बाली धेरै हुँदा त्यो खाने क्रममा हात्तीको बथान खेतहरूमा प्रवेश गर्नु हो’–उनले भने । बालीनाली सखाप पार्ने भएकाले स्थानीयवासीले हात्तीलाई बिच्क्याउने र बिच्किएका हात्तीले अन्धाधुन्ध आक्रमण गर्ने गरेको पनि पाइएको यादवले बताए । हात्तीले मकै, धान, गहुँ र उखु खान मन पराउँछ । त्यस्तै हरियो गहुँ खान खेतमा हात्ती प्रवेश गर्ने बेला भएकाले पुस–माघमा पनि मानवीय क्षति गर्ने गरेको पाइएको उनले बताए ।