धरान नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले सङ्घीय सरकारबाट आएको अध्ययन समिति र स्थानीय नागरिकले धरानमा एयरपोर्ट बन्न सक्छ भन्ने निर्क्यौल निकाले श्रमदानबाटै निर्माण गर्ने घोषणा गरेका छन् । 

आज अध्ययन समितिलाई सहजीकरण गर्न धरान १७ स्थित प्रस्तावित विमानस्थल धावनमार्ग निर्माणस्थलमा पुगेका नगर प्रमुख साम्पाङले अध्ययन समितिलाई काम गर्न दिन स्थानीयलाई आग्रह गरे । 

‘धरानलाई एउटा एयरपोर्ट बनाइदिने काम चाहिं हामी सबैले गरौं । म त तपाईंहरुको अराउपराउ मान्ने एकजना मान्छेमात्र हो नि । हिजो तपाईंसँगै अभियानमा हिंड्थें । आज यसो चुनावमा जिताउनु भो । पाँच सालसम्म गर् न त केटा भनेर दिएको न हो ठूलो मान्छे हो त म ? होइन,’ स्थानीय वासीलाई आग्रह गर्दै नगर प्रमुख साम्पाङले भने, ‘तपाईंकै दाजु तपाईंकै भाइ, जे भने पनि भएको कारण गर्दा तपाईंहरुसँगै छु । हामी अगाडि बढ्ने छौं । यो अध्ययन टोली छ । उहाँहरुले के अध्ययन गर्न आउनु भएको हो, उहाँहरुलाई अध्ययन गर्न दिऔं । कुनै वाधाव्यवधान नगरौं भन्न म चाहान्छु ।’ 

नगर प्रमुख साम्पाङले एयरपोर्टको विषयलाई छिट्टै नै टुंगोमा पुर्याउनु पर्ने बताए । ‘एस भने एस, नो भने नो मा पुर्याउनु पर्छ ।’ नगर प्रमुख साम्पाङले भने, ‘यो सदासदा चाहिं अनिर्णयको बन्दी बनाएर धरानलाई राख्नु हुँदैन भन्ने पक्षमा म छु । र, यति भन्न चाहान्छु, यहाँहरु सबैको साथ सहयोग रहोस् ।’ 

नगर प्रमुख साम्पाङले स्थानीयलाई धरानमा एयरपोर्ट बन्न पर्छ कि पर्दैन ? भनेर प्रश्न सोधे । उनको प्रश्नको उत्तरमा स्थानीयले ‘बन्नुपर्छ’ भन्ने उत्तरसँगै तालीको गड्गडाहाट दिएका थिए । स्थानीयको ताली सुनेपछि नगर प्रमुख साम्पाङले भने, ‘मैले तपाईंलाई वचन दिएको छु, हर्क साम्पाङ झुट बोल्दैन है ।’ 

नगर प्रमुख साम्पाङले एयरपोर्टको नाममा यति एयरलाइन्सले लिएको जग्गा नेपाल सरकारको नाममा ल्याउनेसमेत बताए । 

के भने स्थानीयलाई नगर प्रमुख साम्पाङले जस्ताको तस्तैः

एयरपोर्टको नाममा यति एयरलाइन्सले लिएको जग्गा नेपाल उड्ड्यन प्राधीकरणले, नेपाल सरकारले लिनुपर्छ । नगरपालिकाले लिनुपर्छ । 

नगरपालिका पनि नेपाल सरकारै हो । कुनै पनि निजी व्यक्तिले निजी संस्थाले जग्गा किनेर प्लटिङ गर्दैछ भन्ने कुरा मलाई राम्रो लागेन 

पहिला २५ हजार कट्ठाले जग्गा किन्ने अनि एयरपोर्ट बनाउँछु  भन्ने अनि एयरपोर्ट बन्छ होला भनेर  यतिका वर्ष यहाँका मान्छेले पर्खे । र, आज खोइ न एयरपोर्ट बन्छ, न जग्गा फिर्ता हुन्छ । त्यही भएर मैले एयरपोर्ट खोजेको हो । 

एयरपोर्ट बनाउँछौं भन्ने यति एयरलाइन्सबाट कुरा आइरहेको हुनाले आज अध्ययन भइरहेको छ । अब हामी सबै मिलेर सामाजिक सरसल्लाहहरु गरौं । आज म आएको छु, अझ झनसारो तपाईंहरुको घरदैलौमै आउँछु । यो विषयमा तपाईंहरुको मन दुखाएर होइन मन बुझाएर काम गरिन्छ । पब्लिकको मन दुखाएर सरकारले काम गर्दैन, गर्नु पनि हुँदैन । घरदैलो गरेर, टोल भेला नै गरेर अब हामी यसलाई नयाँ  वेबाट अघि लान्छौं । 

पहिला यति एयरलाइन्सले २१ सिटेको, १९ सिटे कि १८ सिटेको गरेको रैछ । अहिले धेरै कुराहरु आयो,  हिजो पनि मैले अपडेट सुनें । अहिले थुप्रै  एयरपोर्ट बनेको छ, प्लेन चाहिं किन आएन भन्दा अहिले एरोप्लेन चलाउने कम्पनीहरुले सानो प्लेन खरिद गर्दैन । ४२ सिटे पनि अब आउटडेट हुँदैछ । अहिलेसम्म त चल्दैछ । ४२ सिटे गएर पनि ७२ सिटे चाहिन्छ भनेर मलाई इन्जिनियर साबहरुले भन्नु भएको छ । हामीले एयरपोर्ट बनाउने नै हो भनेदेखि त्यही किसिमले हामीले अध्ययन गर्दैछौं । १९ सिटे एयरपोर्ट बनाएर प्लेन नै छैन अनि हावामा सेल्फीमात्र खिचेर हुन्छ त ? एयरपोर्ट बनाउने अनि माथिबाट प्याराग्लाइडिङ आएर त्यहाँ ल्याण्डिङ गर्ने खाल्को एयरपोर्ट भयो भने के फाइदा ? छ त फाइदा ? 

त्यसले गर्दाखेरि हामीले एयरपोर्ट बनाउँदा खेरि ७२ सिटे बनाउनुपर्छ । त्यसले गर्दा तपाईंहरुको घरजग्गाको मूल्यांकन हुनुपर्छ । तपाईंहरुको चित्तबुझ्दो व्यवस्थापन हुनुपर्छ । त्यो विषयमा सदैव तपाईंहरुसँग रहन्छु । तर धरानलाई एउटा एयरपोर्ट बनाइदिने काम चाहिं हामी सबैले गरौं । म त तपाईंहरुको अराउपराउ मान्ने एकजना मान्छेमात्र हो नि । हिजो तपाईंसँगै अभियानमा हिंड्थें । आज यसो चुनावमा जिताउनु भो । पाँच सालसम्म गर न त केटा भनेर दिएको न हो ठूलो मान्छे हो त म ? होइन । त्यल्ले गर्दा तपाईंकै दाजु तपाईंकै भाइ, जे भने पनि भएको कारण गर्दा तपाईंहरुसँगै छु । हामी अगाडि बढ्ने छौं । यो अध्ययन टोली छ । उहाँहरुले के अध्ययन गर्न आउनु भएको हो, उहाँहरुलाई अध्ययन गर्न दिऔं । कुनै वाधाव्यवधान नगरौं भन्न म चाहान्छु । 

यो कुरालाई छिट्टै नै टुंगोमा पुर्याउनु पर्छ । यस भने यस, नो भने नो मा पुर्याउनु पर्छ । यो सदासदा चाहिं अनिर्णयको बन्दी बनाएर धरानलाई राख्नु हुँदैन भन्ने पक्षमा म छु । र, यति भन्न चाहान्छु, यहाँहरु सबैको साथ सहयोग रहोस् । 

म एकचोटि एयरपोर्ट बन्न पर्छ  कि पर्दैन भनेर सोध्छु तपाईंले पर्दैन भने पनि फरक मत राखिदिनु होला है । एयरपोर्ट बनाउनु पर्छ नि त हैन धरानमा ? 

पर्छ... (तालीको गड्गडाहाट)

मैले तपाईंलाई वचन दिएको छु, हर्क साम्पाङ झुट बोल्दैन है । 

फेरि आफ्नो गुनगान गायो भन्नु होला, मेरो एउटा विशेषताले गर्दा मेरो चर्चा छ । म चाहिं झुट बोल्दिनँ । तपाईंलाई रुवाएर होइन, हँसाएर, श्रमदान गरेर, श्रमदान लिएर एयरपोर्ट बन्ने हो भने, बनाउँछौं । यो एयरपोर्टमा पनि हामी श्रमदान गर्नेछौं । के छ र यसो एउटा पिचजस्तो त बनाउने त हो नि । आखिर हाम्रो बेल्चा र गैंती हजार पन्ध्र सय वटा छँदैछ । 

यो विषय लिएर म तपाईंहरुको घरघरमा टोलटोलमै पनि आउँछु, एउटा टोली बनाउँछौं । तपाईंहरुको चित्त दुखाएर होइन, चित्त बुझाएर हामीले गर्ने हो । किनभने विकास भनेको मान्छेको लागि गर्ने हो । मान्छेलाई बेवास्ता गरेर विकास मात्रै गर्ने हो भने त्यो के विकास हुन्छ ? विकास खोलालाई चाहिएको हो ? होइन । रुखलाई चाहिएको हो ? होइन । मान्छेलाई चाहिएको हो । मान्छेलाई चित्त बुझाएर हामी काम गर्नेछौं । यो बस्तीबासीलाई म धन्यवाद दिन चाहान्छु । 

टासी छिरिङ (स्थानीयवासी) – हुन्छ भने तुरुन्तै होस् पहिलेजस्तो बीस वर्ष नअड्कियोस् स्थानीय वासिन्दा चिन्तामा नफसोस् । 

म सदाको लागि मेयरको पदमा पुगेको होइन । मैले अड्काइराख्नुको कुनै औचित्य छैन । त्यही भएर मैले यसको खोजी गरेको हो । हिजो यो जग्गा दिंदै गर्दा जन्मेको बालक आज बिहे गरिसक्यो । एकपुस्ता भइसक्यो त अब । अब टुंगो लाग्छ । एस भने एस, नो भने नोमा जान्छु ।  

उद्दिम राई (स्थानीयवासी) – यहाँ एयरपोर्ट बनोस् भन्ने नै हाम्रो चाहाना हो । बीचमा आएर कसैले डाँडाघोपा नगरपालिकाले जे चाहान्छ त्यही गर्छ तिमीहरुले चाहेर पनि हुँदैन भने । यो वर्षौंदेखि हुँदै आयो 

हाल यो एयरपोर्ट बनाउने पहल नेपाल सरकारले गरेको हो । नगरपालिकाले गरेको हो । यति एयरलाइन्सको  जग्गा पनि अब हामी हाम्रो नाममा ल्याउँछौं क्या । त्यो त व्यक्तिको नाममा हो नि त । त्यही भएर बेचबिखन हुँदै गरेको होला । अब त्यो नेपाल सरकारको नाममा जान्छ । नगरपालिकाको नाममा आउँछ । आउनुपर्छ । नगरपालिकाको नाममा लिनु भनेको हामी सबैको हो । जस्तै बाटो हामी सबैको हो । भानुचोक हामी सबैको हो । एकजनामात्र बस्ने, त्यहाँबाट हिंड्ने भन्ने हुँदैन । त्यसले गर्दा एयरपोर्ट नेपाल सरकारले नै बनाउँछ । म त्यही तीन तहको सरकार मध्येको तल्लो तह र स्थानीय तहको मान्छे हुँ । त्यसो भएकाले एयरपोर्ट बनाउँदा नेपाल सरकारले नै बनाउँछ । हामी पब्लिकले सबैले बनाउने हो । हामी सबैको साझा हो । एयरपोर्ट चाहिं बनाउने अनि यतिले लैजाने भन्नेमा म छैन । 

यो विषयमा पनि हाम्रो डाइलग हुन्छ । आजदेखि यसरी नै हामी अगाडि बढौं । छिट्टै नै एयरपोर्टको एस अर नो हुन्छ । एस भने एस नभए यहाँ के गर्नुपर्ने हो त्यो काम हुन्छ । म तपाईंहरुलाई बीस वर्ष झुलाउने अर्को बीस वर्ष झुलाउने र अर्को एक पुस्ता गाल्ने किसिमको निर्णय दिनका लागि म आएको होइन । तपाईंहरुले मलाई चिन्न पर्ने हो । म भनेको बोल्छु पनि काम पनि गर्छु । बोल्नेमात्र हुन्छ कोही चाहिं । म चाहिं भनेपछि गर्ने मान्छे हो । त्यति चाहिं तपाईंहले विश्वास गरिदिन पर्यो । तपाईंहरुलाई निकास दिन्छु यो विषयमा । दिनैपर्छ मैले ।