भद्रपुर । नेपाल–भारत सीमामा रहेका जीर्ण सीमास्तम्भको मर्मत कार्य सुरु गरिएको छ । सन् २०१८ मा सम्पन्न नेपाल–भारत सीमाकार्य समूहको पाँचौं बैठकमा सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका सीमास्तम्भहरूमध्ये जोर नम्बरको सीमास्तम्भ भारतीय सशस्त्र सीमा बल (एसएसबी) र बिजोर नम्बरको सीमास्तम्भ सशस्त्र प्रहरी बलले मर्मत गर्ने निर्णय भएको थियो ।
सोहीअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ साउन १९ गतेको निर्णयअनुसार सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका बिजोर सीमास्तम्भ सशस्त्र प्रहरीले मर्मत गर्ने जिम्मेवारी पाएको थियो । त्यही अनुरूप सीमा स्तम्भहरूको मर्मत भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । सीमास्तम्भ जोखिममा पर्न नदिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ वराह वाहिनी पकली सुनसरीद्वारा कोशी प्रदेशमा पहिलो पटक नेपाल–भारत सीमास्तम्भहरूको मर्मत सम्भार सुरु भएको छ ।
सीमास्तम्भको मर्मत कार्यलाई निरन्तरता दिन शनिबार बिहान सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर–५ मेचीनदी किनारमा आयोजित भद्रपुर नगरपालिकासँग जोडिएका नेपाल–भारत अन्तर्राष्ट्रिय सीमाक्षेत्रका सीमास्तम्भहरूको रङ्रोगन तथा सामान्य मर्मत कार्य सुरु गरिएको थियो । कार्यक्रममा भद्रपुर नगरप्रमुख गणेश पोखरेल, भारत गलगलिया भात गाउँका एसएसबी सोना वाङ्गोल, उपप्रमुख राधा कार्की, सशस्त्र प्रहरी बल नेपाल गण २ झापाका गणपति देवराज अर्याल, नेपाल प्रहरी, विभिन्न सङ्घ–संस्थाका प्रमुख तथा प्रतिनिधिले सीमास्तम्भमा संयुक्तरूपमा रङरोगन गरेर सीमास्तम्भहरूको मर्मतलाई निरन्तरता दिइएको थियो । उनीहरूले भद्रपुर–५ स्थित नेपाल–भारत दशगजामा रहेको स्थायी सीमास्तम्भ (पीपी) ९९ अन्तर्गतको १०१÷३ नम्बरको रेफरेन्स सीमास्तम्भबाट मर्मत –सम्भार तथा रङ्गरोगन कार्यको सुरुवात गरेका थिए । केही दिनअघि झापाको मेचीनगर नगरपालिका–७ धनकुटेबस्तीस्थित नेपाल–भारत दशगजामा रहेको स्थायी सीमास्तम्भ (पीपी) ५५ अन्तर्गतको ९१÷१ नम्बरको रेफरेन्स सीमास्तम्भ (आरपी)बाट सीमास्तम्भ मर्मत–सम्भार रङ्गरोगन कार्यको सुरुवात गरिएको थियो ।
झापामा मेचीनगरदेखि गौरीगञ्जसम्मको एक सय ४४ किलोमिटर लामो खुला सीमामा नेपाली पक्षले बिजोर अङ्क भएका तीन सय १७ वटा सीमा–स्तम्भको मर्मत सम्भार गर्नेछ । मर्मत–सम्भारका क्रममा भत्किएका र ढलेका स्तम्भहरूको पुनःस्थापना र सबै स्तम्भको रङगरोगन गरिनेछ । झापा–झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सिमानामा रहेका तीन सय १७ वटा सीमा–स्तम्भ मर्मत सशस्त्र प्रहरी बलको भद्रपुरस्थित–२ गणको प्राविधिक टोलीले गर्नेछ । झापासँग जोडिएको भारतीय सिमानामा कुल नौ सय ५७ वटा सीमा–स्तम्भ रहेको र मर्मत–सम्भार सुरु भएको सतीघट्टादेखि उत्तरतर्फ इलामसम्मको सीमा–स्तम्भहरू भने हाल मर्मत–सम्भार नगरिने सशस्त्र प्रहरीले जनाएको छ । त्यो क्षेत्रका कतिपय सीमास्तम्भहरू मेची नदीको बाढीले हराएका वा पुरिएको अनुमान गरिएको छ ।
नेपाल सरकारले विशेष कार्यविधि पारित गरेर सशस्त्र प्रहरी बललाई सीमास्तम्भहरूको सुरक्षा र मर्मत–सम्भारको जिम्मेवारी दिएको र सतीघट्टा हुँदै दक्षिणतर्फका सबै सीमास्तम्भहरूको मर्मत –सम्भार गर्न प्राविधिक टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल गण–२ झापाका गणपति देवराज अर्यालले बताए । कार्यलाई निरन्तरता दिँदै सीमाको रक्षा गर्न सशस्त्र प्रहरीसँगै सबै निकायको सहकार्य हुनुपर्ने उनले जनाए । सीमामा हुने चोरी तस्करी, लागूऔषधलगायतका अबाञ्छित क्रियाकलाप रोक्न हरप्रयास गरिरहेको उनले जनाए ।
समयमै मर्मत सम्भार गर्न नसक्दा सीमास्तम्भ जोखिममा परेको ठहर गरी सशस्त्र प्रहरीले मर्मत–सम्भार र रङ्गरोगन सुरु गरेको उनले जनाए । सीमा सुरक्षा बहुआयामिक विषय भएको र सीमा सुरक्षाको असली र वास्तविक पहरेदार सीमावासीहरू नै रहेको हुँदा उनीहरूको सहयोग लिएर सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन स्तम्भको मर्मत र रङ्गरोगन थालिएको उनको भनाइ छ । सीमास्तम्भ मर्मत–सम्भार कार्य अन्तर्गत सशस्त्र प्रहरी बलले झापाका ३ सय १७ वटा सीमास्तम्भहरूको मर्मत–सम्भार कार्य गरिने जनाएको छ । यसअघि भारतको तर्फबाट भारतीय सीमासुरक्षा बल (एसएसबी) ले जोर नम्बरका ३ सय ४४ वटा सीमास्तम्भहरूको मर्मत–सम्भार गरिसकेको छ ।
कोशी प्रदेशभर भारतसँगको चार सय ३० किलोमिटर लामो खुला सिमानामा कुल नौ सय ५७ वटा सीमास्तम्भ रहेको र सीमा सुरक्षाका लागि एक हजार पाँच सय जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १ वराह वाहिनी पकलीका डिआइजी अञ्जनीकुमार पोखरेलले जानकारी दिए । नेपाल सरकारले विशेष कार्यविधि पारित गरेर सशस्त्र प्रहरी बललाई सीमास्तम्भहरूको सुरक्षा र मर्मत–सम्भारको जिम्मेवारी दिएको उनले जानकारी दिए ।