साँगुरीगढी गाउँपालिकाको बुढीमोरङ गाउँमा रहेको प्राचीन मोराहाङ -मोरङ्गे (मोरङ्गे) राजासँग जोडिएका अवशेष संरक्षणविहीन बनेका छन्।

साविक बुढीमोरङ गाविस हाल साँगुरीगढी वडा नं १ र २ मा रहेका ती राजाको दरबार र उनले  अपराधीलाई सजाय दिने सुलीकोट संरक्षण तथा प्रवर्द्धनको पर्खाइमा रहेका छन्। यिनै प्राचीन मोरङ्गे राजाले शासन गरेको स्थान र उनकी जेठी श्रीमतीको सम्बोधनबाट नै साविक बूढीमोरङ गाविस र गाउँको नाम रहन गएको इतिहास रहिआएको छ।

बुढीमोरङ गाउँ प्रवेश हुने स्थान वडा नं १ मा मोरङ्गे राजाले आफ्नो राज्यमा अपराध र राज्यद्रोह गर्नेलाई सुली चढाएर मृत्युदण्ड दिने स्थान नै सुलीकोट रहेको छ। त्रिवेणीबाट काबेलीसम्मको तमोर नदी क्षेत्रको सुन्दर दृश्य देख्न सकिन्छ।

बेलाबखत अवैधानिक उत्खनन गर्न खोजिएको सुलीडाँडा क्षेत्र वर्षौँदेखि स्थानीयको निगरानीमा भए पनि यसको संरक्षणको अभाव देखिएको छ। बजेटको अभावमा सुलीकोटमा एउटा चैतारीबाहेक अन्य काम गर्न नसकिएको वडा नं १ का वडाध्यक्ष गोविन्द लिम्बूले जानकारी दिएका छन्। 

 हाल नाम्जाङ क्षेत्रको आंशिक संरक्षण थालिएको र सुलीकोट संरक्षणका लागि स्थानीयसँग परामर्श गरेर डिपिआर तयार गर्न लागिएको उनले जानकारी दिएका छन्। सुलीकोट र नाम्जाङ पोखरीको तीन किमी उत्तर वडा नं २ मा रहेको बुढीमोरङको गैरीगाउँमा यिनै मोरङ्गे राजाको दरबार क्षेत्र पनि संरक्षणको पर्खाइमा छ।

 स्थानीय लिम्बू भाषामा हाङपाङ यक भनेर चिनिने यस स्थानका भगनावशेष संरक्षण र प्रचार अभावमा गुमनामझै बनेका छन्। यस स्थानमा ती राजाले घोडा बाध्न प्रयोग गर्न जमिनमा गाडेका ढुङ्गाका खम्बा अझै संरक्षणविहीन अवस्थामा छन्।

 निजी जमिनमा रहेको यस स्थानमा केही वर्षअघि मकै गोडमेल गर्दा तात्कालीन राजाले प्रयोग गर्ने चाँदीका  सिक्का ९गाडधन० भेटिएका थिए । “तर त्यो बेला त्यसको महत्व नबुझेर तछाडमछाड गरेर सबैले लगेर बेचेँ”, वडा नं २ का वडाध्यक्ष योगेन्द्रकुमार इवाहाङ (लिम्बू) ले भने।

 हाल उक्त सिक्का भेटिएको सानो स्थानमा राजाको दरबारको अवशेषका रूपमा संरक्षित गरिएको छ । राजाले घोडा बाँध्ने सबैभन्दा ठूलो एक ढुङ्गाको खम्बा संरक्षण गरिए पनि अन्य बेवारिसे अवस्थामा रहेका छन्। यो ऐतिहासिक स्थान भए पनि निजी जमिनमा रहेकाले संरक्षणमा समस्या भएको र बजेटको अभाव हुँदा थप काम गर्न नसकिएको अध्यक्ष लिम्बूले जानकारी दिएका छन् ।