वराहक्षेत्र । जङ्गली हात्तीले पुर्याएको मानवीय तथा भौतिक क्षतिका विषयमा जिल्ला वन र जिल्ला प्रशासन कार्यालयले तत्परता देखाउनु पर्ने वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताएका छन् ।
विगत केही वर्षदेखि जङ्गली हात्तीले गाउँमा पसेर किसानको खेतबारीमा लगाएको धान, मकै, गहुँलगायतका बालीनाली नोक्सान गर्ने, घर भत्काउने र अन्नपातमा क्षति पुर्याउँदै आएको उनले बताए । पछिल्लो समय मानवीय क्षतिसमेत हुँदै आएकाले तत्काल क्षतिपूर्तिको लागि सरोकारवालाको ध्यान जानुपर्ने उनले बताए ।
सुनसरी जिल्ला डिभिजन वन कार्यालयको आयोजनामा आइतबार वराहक्षेत्र–२ को कार्यालयमा ‘मानव र हात्ती द्वन्द्व व्यवस्थापन’ सम्बन्धी सचेतना गोष्ठीका प्रमुख अतिथि कार्कीले स्थानीय निकायले मानवीय र भौतिक क्षति रोक्दै हात्ती नियन्त्रणको लागि लगातार काम गरिएको बताए । तर, यति मात्र पर्याप्त नहुने भएकोले हात्तीको त्रासलाई नियन्त्रण गर्न नागरिकहरूलाई तत्काल वनजङ्गल नजान र नागरिक स्वयम्ले पनि लापरबाही नगर्न उनले आग्रह गरे ।
आयोजक डिभिजन वनका प्रमुख धर्मनाथ यादव, कोशी टप्पु वन्यजन्तु आरक्षका वार्डेन रमेश यादव, राष्ट्रिय प्रकृति संरक्षण कोषका नवीन गौतमले जिल्लामा वर्तमान जङ्गली हात्तीको अवस्था, हात्तीबाट बच्नेसँगै वन्यजन्तुबाट बच्ने उपायबारे भिडियो स्लाइडमार्फत् प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्थानीय हरिकृष्ण भट्टराई, गोपाल थापा, भेषराज घिमिरे, शान्तिराम खतिवडा, प्रह्लाद भट्टराई र उद्धव घिमिरेले केही दिनदेखि आएको हात्तीको समूहले उत्पात मच्चाएर निदाउन नसकिएको तर, वनले क्षतिपूर्ति त परै जावोस् नियन्त्रणको लागि पनि सुनुवाइसमेत नगरेको भन्दै आक्रोस पोखे । कार्यक्रममा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र एसपी विपिन रेग्मीलगायतको उपस्थिति रहेको थियो ।