विजयपुर । लिम्बू विद्यार्थी मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन धरानमा हुने भएको छ । महासम्मेलन आगामी चैत ७ र ८ गते हुने भएको हो ।
महासम्मेलनबारे आइतबार आयोजित पत्रकार सम्मेलनमा ‘मातृभाषा शिक्षाको आन्दोलन, सांस्कृतिक, धार्मिक र राजनीतिक’ विषयमा छलफल गरिने भएको छ । मञ्चका महासचिव प्रदीप नेयोङले विभिन्न विषयहरूमा केन्द्रित २२ वटा कार्यपत्र प्रस्तुत गरी छलफल गरिने भएको जनाए । उनका अनुसार महासम्मेलनमा विश्वका १७ देश भारत, भुटान, अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, जर्मनी, फ्रान्ससहित मुलुकका एक हजारभन्दा बढी विद्यार्थीहरू सहभागी हुनेछन् । मञ्चका केन्द्रीय अध्यक्ष नितेस सिङ्गकले कोशी प्रदेशको नामाङ्कन आन्दोलनबीच लिम्बुवानको राजनीतिमा विद्यमान अन्योलताका बारेमा पनि छलफल हुने बताए । उनले प्रदेशको नाम लिम्बुवान–किरात उचित हुने बताए । उनले विद्यार्थी मञ्चको मुख्य उद्देश्य लिम्बुवान र मातृभाषामा औपचारिक शिक्षा भएको बताए । लिम्बू मातृभाषा शिक्षाको वर्तमान अवस्था र मातृभाषाको औपचारिक शिक्षाका लागि निर्धारण गर्नुपर्ने मातृभाषा शिक्षाको आन्दोलनको स्वरूपका बारेमा महासम्मेलनले मार्गचित्र तयार गर्ने उनले बताए ।
लिम्बू समुदायमा युमा धर्म बारेको बहसलाई स्वभाविक रूपमा लिनुपर्ने अध्यक्ष सिङ्गकले बताए । विज्ञप्तिमा लिम्बू भाषाको इतिहास र लिपिको विकास क्रम, भाषिक आन्दोलन र मातृभाषामा उच्च शिक्षा, लिम्बू भाषा पाठ्यक्रम निर्माण र विकास क्रम, किरात धर्म र संस्कार, संस्कृति, समुदायमा युमा धर्म र दर्शन, लिम्बुवानको भूमि अधिकारका विषयमा छलफल हुने उल्लेख गरिएको छ । मुन्धुमी तथा ऐतिहासिक स्थलको चर्चा, लिम्बूहरूको प्रथाजनित कानून, सङ्घीयता र जनसङ्ख्याको राजनीति, लिम्बू चलचित्र र साहित्य, मुन्धुममा समाज शास्त्रीय पक्ष, खेलकुद, मिडिया, लिम्बूहरूको शैक्षिक अवस्थाका बारेमा पनि छलफल हुनेछ ।
लिम्बूहरूको आर्थिक अवस्था, सङ्घीय, लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वायत्त लिम्बुवान आन्दोलनको अवस्था, अन्तर्राष्ट्रिय कानून र आदिवासी अधिकार, पर्यावरण र जलवायु परिवर्तन, लिम्बुवानमा वर्तमान पहिचानको आन्दोलनको स्वरूपका बारेमा पनि छलफल हुने आयोजकले जनाएको छ । लिम्बू विद्यार्थी मञ्च २५ औँ स्थापना दिवसको अवसरमा युप्पा तङ्बे (रजत जयन्ती) को अवसरमा महासम्मेलन आयोजना गरिएको हो ।