धरान–६ स्थित साविक पाँचकन्या गाविसमा ‘पानवारी सतवार्षिकी महोत्सव २०८०’ हुने भएको छ ।
पानवारी सय वर्ष पुगेको अवसर पारेर शतवार्षिकी महोत्सव हुने भएको हो । फागुन २६ गतेदेखि चैत २ गतेसम्म आयोजना हुने शतवार्षिकी महोत्सव पानवारीस्थित सरस्वती मार्गमा हुनेछ ।
सयपत्री बोइज युनियन क्लब र ६ नम्बर वडा कार्यालय धरानको संयोजनमा महोत्सव आयोजना गरिएको क्लबका अध्यक्ष एसपजंग रुम्दालीले बताए ।
एनका अनुसार पानवारीको इतिहासलाई थप चिनारी गराउनका लागि महोत्सवले सहयोग गर्नेछ । ‘पानवारी बसोबासको आधारले सय वर्ष पुगेको छ, इतिहासलाई हामी सम्झँदैछौं, जसले अहिलेका पुस्तालाई जानकारी होस् र थप चिनारी पनि गराउन ऐतिहासिक महोत्सवको आयोजना गरेका हौं,’ क्लबका अध्यक्ष रुम्दालीले भने, ‘महोत्सवलाई सफल बनाउन अतिथिलगायत आमन्त्रितलाई निमन्त्रणा समेत गरेका छौं ।’
महोत्सवकै अवसर पारेर कोशी प्रदेश स्तरीय छैंठौ भलिबल प्रतियोगिता समेत हुने भएको छ । भलिबल प्रतियोगिता क्लबले निरन्तर गर्दै आएको छ ।
प्रतियोगितामा विजयी हुने टिमले १ लाख रुपैयाँ र ३५ तोला चाँदीको रनिङ शिल्ड प्राप्त गर्ने छ । उपविजेताले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छ ।
क्लबका महासचिव केदार बस्नेतका अनुसार महोत्सवमा रस्सी तान, रोटेपिङ, नाउ र ड्रागनजस्ता रोमाञ्चक खेल आयोजना गरिने छ । स्थानीय उत्पादन र सहुलियत बजार, दैनिक साँझ राष्ट्रिय कलाकारको प्रस्तुति, कविता तथा नृत्य प्रतियोगिता, झाँकी प्रदर्शनी र साँस्कृतिक र्याली साथै निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना हुनेछन् ।
एक सय वर्ष पुगेको पानवारी कृषिका लागि उर्वरभूमि हो । यहाँ उत्पादन हुने पानमारा मन्सुली चामल अहिले पनि ब्राण्डका रुपमा रहेको छ । साविकको पाँचकन्या गाविसअन्र्तगत वडा नम्बर १, २ र ३ लाई समायोजना गरेर धरान उपमहानगरपालिका ६ नम्बर वडा निर्माण भएको हो । पूर्वमा मोरङ जिल्लाको केराबारी गाउँपालिकासम्म पानवारीको सीमा जोडिएको छ ।
अग्रजबाट जानकारी पाए अनुसार वि.सं १९७०–८० को दशकदेखि पानवारी आवादीको हिसाबले बसोबास सुरु भएको सुनसरी क्षेत्र नम्बर १ का सांसद तथा तत्कालीन पाँचकन्या गाविसका पूर्व अध्यक्ष रमेशकुमार बस्नेत बताउँछन् ।
‘ठ्याक्कै हामीसँग लिखत प्रमाण त छैन, तर अग्रजहरुको भनाइलाई मान्ने हो भने हालको धरान–४ मा पर्ने हर्दिया, तेलनपुरका मगरहरु, २४ क्षेत्रलगायत पूर्वी पहाडी जिल्लाबाट आएर बसोबास सुरु गरेको भन्ने इतिहास पाइन्छ ।’ सांसद बस्नेत भन्छन् ।
हाल पानवारी सहरउन्मुख हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मदनभण्डारी राजमार्ग पानवारी हुँदै जाने भएकाले पनि थप विकासको अपेक्षा पानवारीवासीले गरेका छन् ।