धरान । किरात राई समुदायको उँभौली साकेलाको अवसरमा शनिबार धरान–१७ को साकेला पार्कमा भव्यरूपमा साकेला नाच्नेहरूको भीड थियो । त्यही भीडमा धरान–१७ रेल्वेकी रीता राई राई जातिको मौलिक पहिरन गुन्यु, चोलो, शिरफूल, पैसाका हारी माला लगाएर साकेला नाच्न पुगेकी थिइन् । उनले छातीमा मौलिक गहना धजुरा पेचुरी, बुन्छत, वाबु पनि झुन्ड्याएकी थिइन् ।

हरेक वर्ष साकेलामा आफ्नै मौलिक पहिरनमा चिटिक्क परेर साकेला पार्क पुग्ने गरेकी रीताले आफू मात्र होइन, आफ्नी छोरी रायोस्नालाई पनि मौलिक पहिरनमा सजाएर साकेला नाच्न सँगै लिएर गइन् । उनी भन्छिन्, ‘छोरीहरूले पनि आफ्नो संस्कार, पहिरन सानैदेखि सिकुन् भनेर लिएर आउँछु । साकेला नाच्दा उनीहरू पनि रमाउँछन् ।’

रीताजस्तै धेरै अभिभावकले आफू मात्र होइन, आफ्ना सन्तानलाई पनि आफ्नो संस्कृति सिकाउन साकेला सिली नचाउने गरेका छन् । यसरी नयाँ पुस्तालाई आफ्ना पुर्खाको संस्कार संस्कृति चिनाउन र सिकाउन आवश्यक रहेको उनीहरूको बुझाइ छ । अघिल्लो पुस्ताले नयाँ पुस्तालाई यसरी नै संस्कृति हस्तान्तरण गर्नसके मात्र आफ्नो मौलिक पहिचान जोगिन्छ । किरात राई यायोक्खा सुनसरीले संस्कृति संरक्षण र प्रवद्र्धनका लागि हरेक वर्ष कार्यक्रम आयोजना गर्ने गरेको छ ।

यसपालि पनि वैशाख पूर्णिमादेखि १५ दिनसम्म सुनसरीका विभिन्न स्थानमा साकेला सिली प्रदर्शन गर्ने कार्यक्रम राखेको थियो । यस्तो कार्यक्रम पुरानो पुस्ता र नयाँ पुस्ताबीच मिलन र संस्कृति हस्तान्तरणको राम्रो अवसर बनेको छ । पछिल्लो समय साकेला सिली प्रदर्शनका हरेक कार्यक्रममा युवापुस्ता र बालबालिकाको बाक्लो उपस्थिति रहेको देखिन्छ ।

भाषिक समुदाय र भूगोलअनुसार साकेलाका सिलीहरू फरक–फरक हुन्छन् । सिलीको विविधता जस्तै पुरानो पुस्ता र नयाँपुस्ताबीचको पहिरनको शैलीमा केही विविधता देखिन्छ । मौलिक आभूषण धागोबाट बुनिएका धजुरा, पेचुरी पनि फरक–फरक शैलीका छन् । यी विविधताबीच राई समुदायका नयाँ पुस्ताको संस्कृतिप्रति आकर्षण लोभलाग्दो छ । अरूबेला आधुनिक संस्कृतिमा रमाएका युवापुस्ता पनि साकेलामा मौलिक पहिरनमा सजिएर साकेला नाचिरहेका हुन्छन् ।

छातीमा धजुरा पेचुरी र बुन्छत
पछिल्लो समय साकेला नाच्ने युवायुवतीको छातीमा धागोबाट बुनिएका बुङ अर्थात् फूलका गुच्छाहरू पनि झुन्ड्याएको देखिन्छ । जसलाई धजुरा पेचुरी भनिन्छ । त्यससँगै चोयाले बुनेको बुन्छत वा बुन्छेन पनि झुन्ड्याइन्छ, जसलाई बुद्धिगाँठो पनि भन्ने गरिन्छ ।

त्यस्तै कसैले राई समुदायको प्रसिद्ध बाजा बिनायो (कोङ्कोङ्मा), मुर्चुङ्गा पनि झुन्ड्याउँछन् भने कसैले वाबु (चिन्डो)को सानो प्रतीक पनि झुन्ड्याउने गरेका छन् ।आफ्नो रुचि र क्षमताअनुसारका सामग्री झुन्ड्याउन सकिने किरात राई सांस्कृतिक कलाकार सङ्घका निवर्तमान केन्द्रीय अध्यक्ष रामकर राई बताउँछन् । उनका अनुसार आफूले गहनाका रूपमा प्रयोग गर्न वा अरू कसैलाई स्वागत सम्मान गर्न पनि यस्ता फूल गुच्छा तथा अन्य सामग्री प्रयोग गर्ने गरिन्छ । उनी भन्छन्, ‘विगतमा पुर्खाहरूले प्रयोग गर्ने यस्ता चिज बीचमा हराइसकेका थिए तर, पछिल्लो समय आएको सांस्कृतिक पुनःजागरणका कारण युवापुस्तामा यी सामग्री प्रयोग गर्ने प्रचलन बढेको छ ।’

‘किरात राई यायोक्खा सुनसरीका जिल्ला अध्यक्ष राजेन्द्र राईका अनुसार किरात पुर्खाहरूले बुकीको फूललाई गहनाका रूपमा लगाउने प्रचलन थियो । पछि त्यसैको प्रतीकका रूपमा धान, गहुँ वा कोदोको बालाबाट पनि यस्तो फूल बनाएर लगाउन थालिएको उनी बताउँछन् । ‘त्यही क्रममा पछिल्लो समय धागोबाट आकर्षक फूलहरू बनाउने प्रचलन बसेको पाइन्छ’ राजेन्द्र भन्छन्, ‘यो विशेषगरी छोरीचेलीले बुनेर माइतीलाई लगाइदिने प्रचलन छ ।’

बुन्छतबारे अध्ययन अनुसन्धान तथा संरक्षण अभियान चलाइरहेका कृष्ण बान्तवाका अनुसार ‘बुन्छत’ राई बान्तवा भाषाबाट राखिएको नाम हो । बान्तवा भाषामा ‘बुन’ को अर्थ ‘चिनो’ र ‘छत’ को अर्थ ‘बन्धन’ भन्ने हुन्छ । बान्तवाकै विभिन्न भाषिकाहरूमा यसलाई फरक फरक नामले चिनिन्छ, जस्तैः बुमछक, बुमछुक, बुनछक, बुनछुक, बुनछुत, बुनछुप आदि । किरात राईकै अन्य भाषीहरूले यसलाई सेमोरी, सेमारी, स्यामोरी, नाङुरी, डिमारी, वाखित्रो जस्ता नामले पनि चिनिन्छ । नेपाली भाषामा यसलाई बुद्धिगाँठो, चेतगाँठो, चेत्तकी जस्ता नामले चिनिने उनी बताउँछन् ।

अहिले यसलाई छातीमा, कसैले झुम्काका रूपमा कानमा र कसैले मालाका रूपमा घाँटीमा लगाउने गरेका छन् । यायोक्खाका जिल्ला अध्यक्ष राजेन्द्र भन्छन्, ‘किरात राई समुदायको मुन्दुममा बाटो नबिराओस्, कुविचार नराखोस् भनेर बुन्छत लगाउने उल्लेख छ । बीचमा बिर्सिंदै गएको यसको महŒवलाई सांस्कृतिक अभियानकर्मीहरूको सक्रियताले पुनः नयाँ पुस्ताले प्रयोग गर्न थालेको छ । यसबाट हाम्रो समुदायमा सांस्कृतिक पुनर्जागरण आएको बुझ्न सकिन्छ ।’

राई समुदायका पहिरन र गरगहना सङ्कलन र बिक्री वितरण गर्न ‘चोमोलुङ्मा कलेक्सन’ समेत सञ्चालन गरिरहेका किरात राई सांस्कृतिक कलाकार सङ्घका निवर्तमान केन्द्रीय अध्यक्ष रामकर धरान, इटहरी, दमक, काठमाडौं मात्र होइन विदेशतिर समेत यस्ता वस्तुको माग बढेको बताउँछन् । उनी भन्छन्, ‘यस्ता मौलिक, सांस्कृतिक वस्तुहरू सङ्कलन गर्न धेरै गाह्रो छ । बनाउन जान्ने मान्छे कम छन्, त्यसैले हामीले यसलाई व्यापारभन्दा पनि सांस्कृतिक जागरणकै लागि प्रवद्र्धन गरिरहेका छौं । यो किरातीको मात्र होइन, नेपालीको संस्कृति भएकाले यसलाई पर्यटनसँग जोडेर स्थानीय सरकारले प्रवद्र्धन गर्नु आवश्यक छ ।’