कुनै समय नेपालका सहर–सहरमा विदेश पठाउने म्यानपावर कम्पनीहरु छ्याप्छ्याप्ती खुलेका थिए । त्यस्ता धेरै कम्पनीहरुले वैदेशिक रोजगारीमा जान चाहने नेपालीहरुलाई ठगी गरेका खबरहरु बारम्बार सार्वजनिक हुने गरेका थिए । अहिले त्यस्ता म्यानपावर कम्पनीहरु सुस्ताएका छन्, बरु त्यसको ठाउँ नेपाली विद्यार्थीलाई विदेशका कलेजमा पढ्न पठाउने नाममा खुलेका कन्सल्टेन्सीहरुले लिन थालेका छन् । विद्यार्थीलाई पढ्नका लागि विदेश पठाउन सहजीकरण गर्ने भनिए पनि खासमा उनीहरुको धन्दा विद्यार्थीसँग महँगो शुल्क लिएर रोजगारीका लागि विदेश पठाउने नै हो । त्यसो त विदेश जान चाहनेहरुमा पनि अधिकांशको लक्ष्य पढ्नुभन्दा कमाउनु नै हुन्छ । त्यही मौकाको फाइदा उठाउँदै कन्सल्टेन्सीहरु सक्दो असुली धन्दामा लाग्ने गरेका छन् । सबैलाई एकमुष्ठमा त भन्न नमिल्ला तर, धेरैको धन्दा यही हो । कमाउने धुनमा तिनीहरुले विद्यार्थीहरुलाई ठगीसमेत गरिरहेका छन् ।

हालै मात्र इटहरीस्थित ई टु डब्ल्यु कन्सल्टेन्सीले दुई सयभन्दा बढी सर्वसाधारणबाट २० करोडभन्दा बढी रकम ठगेको घटना सार्वजनिक भएको छ । पैसा असुलेर सञ्चालक विक्रम बराइली बेपत्ता भएपछि विदेश जान चाहने विद्यार्थीहरु समस्यामा परेका छन् । यो कन्सल्टेन्सीले क्यानडा, पोर्चुगल, सर्विया, साइप्रस, रोमानीयलगायतका देशहरुमा पठाउने भन्दै इटहरी, धरान, सुन्दरहरैँचा, विराटनगर, सिरहा, सप्तरी, लेटाङलगायत सहरका दुई सयभन्दा बढीलाई ठगी गरेको पाइएको छ । सञ्चालक भागेपछि पीडितहरुले कन्सल्टेन्सीमा तालाबन्दी गरेका छन् । यो त हालै सार्वजनिक भएको ठगी घटना भयो, यस्ता धेरै ठगी घटना बाहिर आउन सकेका छैनन् । सरोकारवाला निकायले समयमा  अनुगमन नगर्दा सर्वसाधारण ठगिने क्रम बढिरहेको छ । त्यसैले यस्ता कन्सल्टेन्सीहरुमा अनुगमन हुनु जरूरी छ ।

नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदनअनुसार वैदेशिक अध्ययनमा जानेले १ खर्ब नेपाली रूपैयाँभन्दा धेरैको विदेशी मुद्रा सटही गरेका छन् । यसरी वैदेशिक अध्ययनका नाममा वार्षिक खर्बौं रूपैयाँ विदेशिइरहेको छ । अहिले अधिकांश विद्यार्थी अध्ययनका नाममा विदेश जान चाहन्छन् । यसरी जाने क्रममा एकातिर उनीहरु आफै कन्सल्टेन्सीबाट ठगीमा परिरहेका छन् भने अर्कारित उनीहरुले देशबाट खर्बौं रूपैयाँ बाहिर लगिरहेका छन् । यसलाई नियन्त्रण र नियमन प्रभावकारी बनाउन जरूरी छ । सबैभन्दा महŒवपूर्ण पक्ष सरकारले नेपालको शिक्षा प्रणाली सुधार गरेर नेपाली विद्यार्थीलाई देशमै पढ्ने वातावरण बनाउन आवश्यक छ । त्यसो गर्नसके मात्र विद्यार्थीहरुमा विदेश जाने मोह कम हुन सक्ला । अध्ययन त खासमा विद्यार्थीहरुको विदेश जाने बहाना मात्र न हो, उनीहरुमध्ये अधिकांश कमाउनका लागि विदेश जान लागेका हुन् । त्यसैले सरकारले शिक्षासँगै रोजगारीको ग्यारेन्टी गर्नु आवश्यक हुन्छ । जबसम्म राज्यले शिक्षा, स्वास्थ्य र रोजगारीलाई आफ्नो दायित्वका रुपमा लिएर कार्यान्वयनमा लैजान सक्दैन, तबसम्म नागरिकहरु विश्वस्त हुन नसक्ने अवस्था देखिँदैन । त्यसैले संविधानमा समाजवाद उन्मुख राज्य भनिएजस्तै व्यवहारमा पनि लोककल्याणकारी व्यवस्था आउनु जरूरी छ ।