धरान । राजकुमार राईकृत ‘किवाहाङ’ माथि काठमाडौँमा परिचर्चा कार्यक्रममा अधिकांश वक्ताहरूले ‘लाहुरेको विषयमा मिहीन ढङ्ग’ले उपन्यासले उठान गरेको बताएका छन् । 

शनिबार परिचर्चा कार्यक्रमका वक्ताहरू प्रा.डा. कुमारप्रसाद कोइराला, डा. पुरण राई, समीक्षक राजकुमार राई, नन्दु उप्रेती र गीता रेग्मीले कृतिमाथि परिचर्चा गर्दै किवाहाङले कल्पनालाई मात्रै स्थान नदिई तथ्यलाई बढी स्थान दिएको बताएका हुन् । प्रा.डा. कोइरालाले भने, “हाम्रो समाजमा रहेको लाहुरेप्रतिको नकारात्मक भाष्य तोड्न उपन्यासले कोसिस गरेको छ । गोर्खाहरूको इतिहासलाई सच्याउन कृति लेखिएको जस्तो देखिन्छ ।”

उपन्यासमा लाहुरे परम्परालाई मिहीन ढङ्गले केलाउने प्रयास गरिएको वक्ताहरूको भनाइ थियो । उपन्यासमा लाहुरे संस्कृतिसँगै किरात संस्कृतिलाई पनि मज्जाले सम्बोधन गरेको डा. कोइरालाको भनाइ थियो । “आञ्चलिकताका हिसाबले पनि उच्चतम कृति हो” उनले भने । यस उपन्यासमा मुख्य पात्र किवाहाङको २८ वर्षको कहानीलाई बाहिर ल्याएको छ । समीक्षक बानियाँले भने, “मुख्यपात्र किवाहाङको २८ वर्षको कहानी भनेको छ ।” 

बानियाँले गोर्खा पल्टनमा हुने गरेको विभेद र अन्यायको फेहरिस्तहरू रहेको बताए । उनले लाहुरे परम्परामाथि आलोचनात्मक कोणबाट राख्ने प्रयास गरिएको बताए । डा. राईले लाहुरेको दुःखको अलिखित इतिहासलाई उपन्यासको माध्यमबाट उपन्यासकारले बाहिर ल्याएको बताए । ब्रिटिसले गर्ने शोषण, दमनलाई पनि उपन्यासले बोलेको उनले बताए । अर्का वक्ता उप्रेतीले भने यस उपन्यासलाई ‘यात्रा उपन्यास’को रूपमा रहेको बताए । 

“किवाहाङ जहाँ जहाँ जान्छ । त्यहाँ त्यहाँ पाठकलाई पनि लैजान्छ” उनले भने, “कल्पनाभन्दा बढी यथार्थमा आधारित रहेको देखिन्छ ।” अर्का वक्ताका रूपमा रहेकी साहित्यकार रेग्मीले उपन्यासले नेपालको दरबारियाहरूको विगतको सत्यलाई उजागर गरिदिएको बताइन् । गोर्खाहरूको पैसाले नेपालमा दबार बनेको र शासक पालिएको सत्यलाई बाहिर ल्याएको उनले बताइन् । 

उपन्यासकार राईले आफूले गोर्खाको लामो इतिहासलाई समेट्न खोजेको बताए । उनले भने, “यो इतिहास चाहिँ होइन तर इतिहास नजिक छ ।”

उनले गोर्खाको इतिहास सही तरिकाले नलेखिँदा गोर्खाहरूको तथ्य र लिखित इतिहासमा समानता नरहेको बताए । कृतिमाथि चर्चाको वातावरण साब्लाबुङ पुस्तकालय अभियानले बनाएको हो । कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा. गोविन्दराज भट्टराई, डा. अञ्जना वस्ती, डा. तुलसी भट्टराई, बालकृष्ण माबोहाङलगायतका स्रष्टाहरू सहभागी भएको उपन्यासकार राईले जानकारी दिए ।