सुनसरी । दाजु गुरुङको नवीनतम् कृति ‘निरजोया’ माथि सुनसरीको इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा शनिबार परिचर्चा गरिएको छ । 

सगरमाथा साहित्य प्रतिष्ठान कोशी प्रदेश शाखाले ‘निरजोया’ माथि परिचर्चा र प्रतिनिधि रचना वाचन कार्यक्रम गरिएको अध्यक्ष मिश्रा गुरुङले जानकारी दिइन् । हङकङमा रहेर नेपाली वाङ्मयको उन्नयनमा लागेका गुरुङको कृतिमाथि ब्लाष्ट टाइम्स दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ, डा. दिवाकर रेग्मी र बाबुराम खड्काले चर्चा गरे । 

451954947_1174037413871497_6246720334119254110_n

टिप्पणीकार श्रेष्ठले भने, “पाठकीय दृष्टिबाट कृति पठनीय रहेको छ । पैसा खेर जाँदैन ।” उनले निरजोया उपन्यास चरित्रप्रधान उपन्यास रहेको बताए । उनले डायस्पोरिक उपन्यासमा उत्कृष्ट उपन्यासको रूपमा रहेको बताए । “कुनै समय नेपालमा आञ्चलिक उपन्यासको चर्चा व्यापक हुने गरेको थियो । अहिले डायस्पोरिक उपन्यासको चर्चा व्यापक हुँदै आएको छ” उनले भने, “यही धरातलमा रहेको उन्नत उपन्यास हो ।”

डा. दिवाकर रेग्मीले उपन्यासले उत्तरआधुनिकवादको घोडा चढिरहेका नेपालीको कथालाई बोकेको बताए । उनले भने, “उत्तरआधुनिकवादको घोडा चढेर हिँड्ने संस्कृतिमाथि लेखिएको छ ।” उनले यस कथाका पात्र निरोजको आफ्नो श्रीमती जसमाया र लिभिङ टुगेदरमा रहेका जोयासँग वास्तविक प्रेम नरहेको बताए । “मुख्य पात्रले न त श्रीमतीसँग प्रेम गरेको छ न त जोयासँग नै प्रेम गरेको छ । उनीहरूबीच कहिल्यै प्रेम रहेको देखिँदैन ।”

उपन्यासकारले एउटा विदेशमा बसेको नेपालीको सङ्घर्ष मात्रै होइन नेपाली हुनुको साँचो अनुभूति रहेको उनले बताए । उपन्यासमा आएको ९ अङ्कले फरक फरक जिल्लाको मात्रै प्रतिनिधित्व गरेको छैन आआफ्नो संस्कार संस्कृतिको कुरालाई पनि जोडर वास्तविक नेपालको अनुहार विदेशमा देखिएको उनले बताए । यस्तै अर्का परिचर्चाकार बाबुराम खड्काले भने, “सुरु सुरुमा कथानकले यति धेरै तान्छ कि यस्तो पनि हुन्छ भन्ने महसुस गराउँछ । त्यहाँको जेल जीवनको पीडालाई उतारिएकाले मनै कँुडिन्छ ।”

452195542_1187936062448797_1782274252283972214_n

उनले भाषाशैली पनि सरल, सहज र बोधगम्य रहेकाले बालक, युवा र वृद्ध सबैले बुझ्न सक्ने भएको बताए । कार्यक्रमका प्रमुख अतिथि भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेले डायास्पोरा तीन प्रकारको हुने बताए । उनले ओल्ड डायस्पोरा, न्यू डायास्पोरा र लेवर डायास्पोरा रहेको बताउँदै भने, “यो लेबर डायस्पोरा हो ।” वैदेशिक रोजगारीमा जाँदाको अनुभूतिलाई समेटेर तयार पारिएकाले यसलाई लेबर डायस्पोराभित्र राख्न सकिने उनले बताए । 

कार्यक्रममा प्रतिष्ठानका नेपाल शाखाका संरक्षक जीपी तिवारीले प्रतिष्ठानको इतिहास र स्थापनाका वर्षहरूबारे बताए । यसक्रममा रचना वाचनतर्फ कवि देवान किराती, कविता केसरी, गजलकार पदमकुमार लुङ्गेली, नयन अधिकारी र लघुकथाकार रगेन्द्र कोइरालाले आआफ्ना रचना वाचन गरेका थिए । साहित्यकार एवम् पत्रकार सुविद गुरागाईंले इटहरीको साहित्यिक पृष्ठभूमिबारे सङ्क्षेपमा जानकारी दिएका थिए ।