हाम्रो अर्थात अनुप योञ्जन तामाङ र मेरो परिचयको तिथिमिति ठ्याक्कै स्मरणमा छैन । कहिले भयो ? कसरी भयो ? आदि विषयमा कहिल्यै सोच्नु पर्ने अवस्था आएन । जतिखेर आयो त्यतिबेला ढिला भइसकेको रहेछ । परिचित भएको मितिभन्दा पनि महŒवपूर्ण चाहिँ उहाँसँगको निकटता र सामिप्यता रह्यो । जतिबेलादेखि चिनियो । त्यो बेलासम्म एक प्रकारको सम्बन्ध विकास भइसकेको रहेछ । 

चिनजानलाई पर्गेल्ने प्रयास गर्दा ‘धरान रिडर्स ग्रुप’ नै थियो कि ! जसलाई माउन्ट हर्मन एकेडेमीभन्दा पर लाने सोचका साथ उहाँले आफूलाई परिमार्जित गर्नुभएको थियो । पठन संस्कृतिलाई अगाडि बढाउने योजना सारिरहँदा म पनि कुनै कुनामा बसेर सारथी बनिरहेको थिएँ कि जस्तो पनि लाग्छ । तर, ठ्याक्कै मिति कहिल्यै मनमा र दिमागमा आउन सकेन । जसरी चिनजानका मितिहरू धुमिल छन्; त्यसरी नै उनको भौतिक शरीर मेरो मानसपटलबाट धुमिल बनिसकेको छ । तर मेरो मनमस्तिष्कमा उहाँको तस्बिर अमिट छाप बनेर बसेको छ । 

असार २८ को बिहानको ३ बजेर १० मिनेट जाँदा एक्कासि मोबाइलको घण्टी बज्यो । निद्राबाटै ब्युँझिएर हेरेँ । मित्र सुशील राईको फोन । उठाएँ, ‘अनुप सर रहनुभएन’ । उहाँको यो वाक्यले म स्तब्ध बन्न पुगे । एक्कासि गर्मी महसुस हुन्छ । बोतलमा राखेको पानी पिएँ । फेन चलाएँ । त्यसपछि लगत्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुग्छु । केही अग्रजहरू तथा केही परममित्रहरूलाई त्यहाँ पाउँछु । उहाँ (अनुप)लाई चिकित्सकले मृत घोषित गरिसकेको हुन्छ । मर्चरीमा राखेर हामी फर्कन्छौँ । 

यो अनायासै भएको घटनापश्चात् मात्रै म उहाँसँग कहिले परिचित भएँ । त्यो तिथिमिति कहिले थियो होला भनेर केही क्षण गम खाए तर उहाँसँग चिनजान भएको तिथिमिति कहिल्यै दिमागमा स्मरण भएन । त्यो आजको दिनमा त्यति धेरै महŒवपूर्ण रहेन । तर उहाँसँग बिताएका क्षणहरूलाई आजको दिनमा गम्भीर भएर सोच्छु । उहाँ केही गरौ भनेर अन्यलाई उत्प्रेरित गरिरहने स्वभावको हुनुहुन्थ्यो र गर्दा पनि केही फरक गर्न रुचाउने । एकै किसिमको, एकै ढाँचाको काम गर्नुभन्दा फरक गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । 

पठन संस्कृतिलाई एउटा उचाइमा पु¥याउन चाहनुहुन्थ्यो । त्यही कारण ‘धरान रिडर्स ग्रुप’ले जन्म लिएको थियो । ग्रुपलाई एउटा उचाइमा पु¥याउन भूमिका पनि खेल्नु भएकै हो । २०७२ साल वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पभन्दा अगि ग्रुपले धरानको पठन संस्कृतिमा एउटा मोड सिर्जना गर्दै थियो । २०७१ साल साउनको तेस्रो सातामा स्थापित यो संस्थामा सुरुदेखि नै म पनि प्रत्यक्ष–परोक्ष रूपमा संलग्न छु । मासिक रूपमा त्यसमा पनि हरेक महिनाको पहिलो शनिबार कार्यक्रम गर्दै आएको थियो । तर विनाशकारी भूकम्पले जसरी मानवसँगै भौतिक संरचनालाई ध्वंश ग¥यो; त्यसरी नै धरान रिडर्स ग्रुपको कार्यक्रमलाई पनि पछाडि धकेल्न अहम् भूमिका खेल्यो । लामो समय कार्यक्रम हुन सकेन । फेरि कार्यक्रम सुरु भए पनि मानवमाथि अर्को ध्वंशको चक्र सुरु भयो । 

त्यो चक्रले केही समयसम्म मानिसलाई एकअर्कासँग पनि जोड्न सकेन । जसले गर्दा पठन संस्कृतिलाई पनि राम्रैसँग धकेलिदियो । यस्ता अनेकन समस्याबाट ब्युँतिदै अगाडि बढेको धरान रिडर्स पछिल्लो समय फेरि नयाँ रूपमा अभ्यूदय भएको थियो । यहीबीचमा रिडर्सका जन्मदाताकै निधनले सबैलाई शोकमा डुबायो । यो विगतको स्मरण जोडिरहँदा उनलाई हरेक कोणबाट हेर्न र बुझ्न नसकेको प्रतीत हुन्छ । 

 कार्यक्रम गर्दा ‘सतप्रतिशत’ पूर्ण बनाउनुपर्छ भन्ने सोच राख्नुहुन्थ्यो । ससाना कुराहरू ख्याल गर्नुहुन्थ्यो । यो वा त्यो भएन भन्नुभन्दा पनि पहिल्यै ती कुराहरूलाई जोरजाम गर्ने स्वभावको हुनुहुन्थ्यो । एउटा ‘वेल म्यानेजमेन्ट’ गर्न सक्ने खुबी उहाँमा थियो । 

सामान्यतः जन्मपछि मृत्यु अवश्यमभावी छ । तर मृत्यु यति कठोर र निर्दयी भएर आउँछ भन्ने कल्पना कसैले पनि गर्दैनन् र गरेको हुँदैनन् । पूर्वीय शास्त्रमा ब्रह्मचर्य, गृहप्रस्थ, वनप्रस्थ र सन्यासी गरी जीवनलाई चार भागमा विभाजन गरेको पाइन्छ । उहाँको उमेरको हिसाबले हेर्ने हो भने गृहप्रस्थको उमेरमै जीवनको इहलीला समाप्त भयो । बाँकी दुईवटा भागहरू अधुरै रहे । मृत्यु एउटा अन्तिम सत्य हो । यो सत्यलाई कसैले पनि छल्न सक्दैन । उहाँ मानव चोलाको अन्तिम सत्यको समीपमा पुग्नुभएको छ । मान्छेले मृत्युलाई तब जित्ने रहेछ जब उसले समाजमा राम्रो कर्म गर्ने रहेछ । मृत्यु जित्ने र अजर हुने एकमात्रै उपाय भनेको सत्कर्म रहेछ । 

यस्ता सत्कर्ममा अनुप सर सदैव लागिरहनुभयो । शिक्षाक्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउनुभएका अनुप सरले आफ्नो स्कुल माउन्ट हर्मन एकेडेमीलाई पनि केही फरक बनाउने कोशिष गर्नुभयो । अन्य स्कुलभन्दा फरक गतिविधि गर्न रुचाउने उहाँको स्वभावबारे सुरुदेखि नै जानकार हुने अवसर प्राप्त भयो । सायद पत्रकार हुनुको नाताले उहाँको स्कुलमा भएको कार्यक्रमहरूमा नै पहिलो पटक चिनजान भएको थियो क्यार । एउटा क्षीण चिनजानबाट सुरु भएको हाम्रो यात्रा अन्ततः एउटा चिरस्मरणीय बनेको छ । 

यो विचार लेखिरहँदा उहाँमा भएका राम्रा गुणहरूको पनि यहाँ चर्चा गर्नु उपयुक्त हुन्छ भन्ने ठानेको छु । समाचार सङ्कलनको क्रममा होस् वा धरान रिडर्स ग्रुपको कार्यक्रममा । ती कार्यक्रममा भेट्दा कहिले पनि आफूलाई दुःखी, निराशा भएको देख्न पाइनँ । जहिल्यै खुसी देखिने र हाँसिरहने उहाँको स्वभाव थियो । उहाँ लामो समयदेखि मधुमेह र उच्च रक्तचापको रोगी भएर पनि कहिल्यै अरूलाई त्यस्तो महसुस गराउनु भएन । खानेकुरामा पनि अन्यभन्दा शौखिन, सफा र ‘हाइजेनिक’ खान मन पराउने किसिमको हुनुहुन्थ्यो । रिसाएको मलाई कहिल्यै याद भएन । 

कुनै पनि पुस्तकमाथि बोल्दा फरक कोण र तर्क गर्ने गर्नुहुन्थ्यो । कार्यक्रम गर्दा ‘सतप्रतिशत’ पूर्ण बनाउनुपर्छ भन्ने सोच राख्नुहुन्थ्यो । ससाना कुराहरू ख्याल गर्नुहुन्थ्यो । यो वा त्यो भएन भन्नुभन्दा पनि पहिल्यै ती कुराहरूलाई जोरजाम गर्ने स्वभावको हुनुहुन्थ्यो । एउटा ‘वेल म्यानेजमेन्ट’ गर्न सक्ने खुबी उहाँमा थियो । सायद त्यो चाहिँ स्काउटको सदस्य भएको कारणले पनि हो कि  भन्ने लाग्छ । उहाँको व्यवस्थापकीय भूमिकाबाट अन्यले पनि सिक्नुपर्छ भन्ने मलाई लाग्छ ।

अर्को कुरा उहाँमा समन्वय गर्ने क्षमता पनि अदभूत थियो । जस्तो कुनै समय स्काउटको धरानमा दुई समूह थिए । एउटा समूहले अर्को समूहलाई मन नपराउने । ध्रुवीकरण भएको स्काउटलाई जोड्नमा उहाँले भरमग्दुर प्रयास गर्नुभयो । फलतः सफल पनि भएको अनुभव मैले गरेको थिएँ । तर त्यो कति सफल र असफल भन्ने कुरा हेर्न बाँकी छ । त्यस्तै सिर्जनात्मक सोचका धनी हुनुहुन्थ्यो । कुनै काम गर्दा पनि एकदमै फरक गर्न खोज्ने अर्थात् युनिकनेश उहाँमा थियो । सिर्जनात्मक रचना गर्नमा खप्पिस पनि हुनुहुन्थ्यो तर अन्यले यसौ गरौ न भन्दा त्यस्ता विषयमा हस्तक्षेप पनि नगर्ने । अन्यका विचारलाई पनि स्वीकार गर्न सक्ने क्षमता थियो । समन्वयवादी कोणबाट हेर्ने हो भने पनि उहाँमा त्यो क्षमता अद्भूत नै रहेछ ।

तर, उहाँमा व्यक्तिगत केही कमजोरी पनि रहेछन् भन्ने कुरा चाहिँ उहाँ बितिसकेपछि धेरै हदसम्म ज्ञान भयो । त्यसो त पहिला पनि थाहै नपाएको चाहिँ होइन । तर त्यो बेला चाहिँ आंशिक मात्रै ज्ञान थियो । जस्तोः उहाँ आहारमा ध्यान दिए पनि विहारमा कत्ति पनि ध्यान दिनु हुँदैनथ्यो । भ्रमण गर्न एकदमै इच्छुक तर हिँड्नु पर्ने हुन सक्छ भनेपछि कार्यक्रम सिधै रद्द गर्नुहुन्थ्यो । यसले पनि उहाँ हिँडडुलमा कत्ति पनि ध्यान नदिने भन्ने प्रष्ट हुन्छ । त्यो कुरा उहाँको परिवार र निकटस्थ साथीहरूबाट पनि थाहा भयो । मानिसको जीवनमा आहार जति महŒवपूर्ण छ त्यति नै विहार पनि महŒवपूर्ण हुन्छ । 

शारीरिक परिश्रमले मृत्युलाई जित्न त सक्दैन तर रोगलाई पछाडि धकेल्न भने सक्छ । आजको दुनियाँमा मानिसहरू अल्छे हुँदै गइरहेका छन् । त्यसमा पनि नेपाली जाति । बसेर खानुपर्ने, मीठो मीठो खानुपर्ने नेपालीको स्वभाव वा आनिबानी बनिसकेको छ । हामी पश्चिमा संस्कृतिको बाह्य तथा सतही रूपमा अन्धनक्कल गर्छौ । तर पश्चिमा संस्कृतिभित्रको वस्तुवादी दृष्टिकोणलाई परित्याग गर्छौ । परिश्रम, मिहिनेत, खोजअनुसन्धान हाम्रा लागि गौण बनिदिन्छन् । फलतः हाम्रो जीवनशैलीमा नराम्ररी दीर्घ रोगहरूले प्रवेश पाइरहेका हुन्छन् । आजको विश्वव्यापीकरणको युगमा युरोप तथा अमेरिकाले हामीजस्ता विकासोन्मुख देशका नागरिकलाई उपभोक्ता मात्रै बनाइरहेको छ । उसले मुनाफा कमाइरहेको छ । बहुराष्ट्रिय कम्पनीहरूलाई हामीमाझ प्रवेश गराइरहेको छ । जसमार्फत हामीलाई प्रयोगशाला बनाइरहेको छ । 

विश्वव्यापीकरणले आंशिक फाइदा दिए पनि व्यापक रूपमा हाम्रो जस्तो देशहरूलाई पराधीन बनाइरहेको छ । सूचना प्रविधिको नाममा होस् या अन्य नाममा उसले हामीलाई ‘कन्ज्यूमर’ बनाइरहेको छ । यसतर्फ हामी सचेत नबन्दा अनेक किमिसका रोगबाट आक्रान्त बनिरहेका छौँ । हामीले विश्व बजारमा आएका कुराहरूलाई प्रयोग गर्दा ध्यान पु¥याउनुपर्छ भन्ने हो । हामीले हाम्रो रैथाने संस्कारलाई भुल्नु हुँदैन । पूर्वीय दर्शनशास्त्र तथा पूर्वीय चिन्तनअनुसार दैनिक आहारविहार गर्ने, योगध्यान गर्ने हो भने हामीले हाम्रो जीवनलाई थप सरल बनाउन सक्छौँ । यसलाई पनि जीवनको एउटा कर्मको रूपमा बुझ्दा जीवन सरल हुन्छ होला । 

अनुप सरको व्यक्तिगत कमजोरीमा पनि हामीले केही सिक्न सक्छौँ । शालीन, भद्र व्यक्तित्वका धनी अनुप सरबाट सिक्ने कुराहरू धेरै छन् । त्यसलाई मनन गर्ने मात्रै हैन व्यवहारमा पनि उतार्न सके उत्तम हुन्छ भन्ने लाग्छ ।