वर्षमा ३६५ दिन । जीवन र जगतमा चेतना, पैरवी, नीति निर्माण र कार्यान्वयनका लागि बहस र सरोकारको उत्थान गर्नुपर्ने विषयहरु धेरै धेरै छन् । लगभग सबैजसो दिवसहरुको औचित्य यी नै अभिप्रायःहरुमा केन्द्रित देखिन्छन् ।
संसारमा मनाइने कतिपय दिवसहरु तुलनात्मक हिसाबले नयाँ छन् तर आफ्ना अभिप्रायः र उद्देश्यका हिसाबले ओजनदार छन् । सेप्टेम्बर १० को आत्महत्या रोकथाम दिवस (Suicide
Prevention Day), अक्टोबर १० को मानसिक स्वास्थ्य दिवस (Mental Health Day) र अक्टोबर १९ को बायोइथिक्स दिवस (World Bioethics Day) को यस बर्षका नाराहरुले यी नै अभिप्रायःले ओतप्रोत तर गम्भीर विषयहरुको बहस र सन्देश बोकेका छन् । यस बर्षका यी नाराहरुले सजगतापूर्ण कदम, कार्यक्रम र व्यावहारिक रुपान्तरणका लागि सबैलाई घच्घच्याउने काम गरे ।
यस वर्ष सन् २०२४ को सेप्टेम्बर १० को आत्महत्या रोकथाम
दिवसले आफ्नो नारामा आत्महत्या रोकथामका लागि सम्बादको शुरुवात गरौं भन्यो । अक्टोबर १० को मानसिक स्वास्थ्य दिवसले कार्यस्थलमा मानसिक स्वास्थ्यले प्राथमिकता पाउनुपर्ने तथ्यतर्फ झक्झक्यायो भने अक्टोबर १९ को बायोइथिक्स दिवसले समाजमा ब्याप्त सबै खालका कलंक, धब्बाहरुबारे सजग बनाएर यसबाट हुनजाने भेदभावको बिरुद्दमा विश्वव्यापी शंखनाद गर्यो ।
एक मानसिक रोग विशेषज्ञको रुपमा म मानसिक (mental) भन्ने शब्द मात्र सुन्दा पनि धेरै मानिसहरू अन्यौल, तनाव र हतोत्साहमा पर्ने गरेको देख्तछु । यसबारे खुलेर कुराकानी गर्नसम्म धक मान्छन् मानिसहरु । मानसिक भन्ने शब्दबाटै कलंक र घब्बा (stigma)को शुरुवात हुने बिषद स्थिति छ । कुनै हिसाबले कसैलाई मानसिक लक्षण पैदा भएमा लक्षणबाट जति पिडा र बेचैनी हुन्छः त्यति नै वा अझ बढी डर, चिन्ता अरुले थाहा पाउलान् र हेला र विभेद होला भनेर हुन्छ। उपचारतिर भन्दा पनि रोग लुकाउनतिर बढी साधनश्रोत, समय र यत्न खर्च हुन्छ । उपचारमा कसैगरी लागेमा पनि पाइला पाइलाहरुमा कलंक र धब्बा लाग्छ । यसको कारणले गर्दा भेदभाव र छिछि दुरदुर (discrimination) खेप्नु पर्ने हुन्छ । यस्तो परिस्थितिमा उपचार, पुनर्स्थापना अनि रोकथामका हरेक चरण, प्रयास वा पाइलाहरूमा व्यवधान र जटिलताहरु आइपर्छन् । अनि, यसले गर्दा पनि रोग र उपचारको भ्वाङ वा खाडल (treatment gap) एकदम बिकराल भएको छ ।
मानसिक रोग र समस्याले ग्रसित र बिकृत मनस्थितिमा उत्पन्न सोंच बिचारहरु कतिपय आफू, अरु र समाजका लागि खतरनाकसम्म हुनसक्छन् । अस्वस्थ मनका उपज यस्ता सोंच र अभिव्यक्तिहरु जताततै पोखिन्छन् । सर्जकहरुबाट भएमा त झन् यस्ता विचारहरू भुसको आगो जस्तै फैलिएर आफू त यसको रापमा पर्दछ नै, साथमा अरु धेरै मानिसहरु, परिवारजन, छरछिमेक र नजिक पर्ने मान्छेहरु, त्यो समय र परिस्थितिलाई समेत डाम्न बेर लाग्दैन । भविष्यको दिशा पनि मोडिदिन सक्छ। रोगबाट उत्पन्न लाक्षणिक व्यवहारबाट जीवन, समाज र परिस्थिति पनि प्रभावित हुनजान्छ। रोगी मन र मान्छे बेचैन, दुःखी र अशक्त हुने नै भयो । साथमा, अरुको पनि तनाव र पिडाको कारण बनिरहेको हुन्छ। यस्तो परिस्थितिमा समग्र जीवन, घरपरिवार, समाज र संसार दुःखमय, रुग्न र समस्याग्रस्त रहनु स्वाभाविकै हुनजान्छ। मानसिक रोगबाट उत्पन्न हुने जटिलताहरु र आत्महत्या जस्ता समस्याहरु मानसिक समस्यासँगै बिकराल हुँदै गएका छन् ।
यस्तो वास्तविकता र परिस्थितिमा बाँचिरहेका हामीहरुका लागि यस वर्षका यी तीन दिवसहरूले बडो सान्दर्भिक सन्देशहरू प्रवाह गरेका छन्ः
v हाम्रो जीवन र जगतमा सबै खालका भेदभाव र कलंक हटाऔं । (Non-discrimination and Non-stigmatization)
v मानसिक स्वास्थ्य हाम्रा कार्यस्थल लगायत सबैतिर प्राथमिकतामा राखौं । ("Prioritise Mental Health in the Workplace")
v यसका लागि मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सम्बादको शुरुवात आजै र अहिलेबाटै गरौं । (Changing the Narrative on Suicide," with the call to action "Start the Conversation.")
समाज र समयलाई सचेत र सजग राख्ने दायित्व बोकेका सर्जकहरुमा मेरो विशेष अनुरोध छ । त्यो के भने, सिर्जनाहरु के कस्ता र कुन मनस्थितिमा सिर्जित छन् बिचार गरौं । सिर्जनामा के छ, पाठक, श्रोता र दर्शकका लागि कस्तो सन्देश जान्छ, त्यहि सन्देश आफ्ना प्रियजन र सन्ततिका लागि उपयोगी र उपयुक्त छन् कि लहड, लालच र भौतिक लाभबाट प्रेरित छन् सोची बिचारी मात्र आफ्ना सिर्जनाहरू सार्वजनिक गर्ने गरौं ।
प्राध्यापक तथा प्रमुख, मनोरोग विभाग, वि.पि.को.स्वा.वि.प्र., धरान ।
Email- [email protected]