छिन्ताङ । धनकुटाको छिन्ताङमा बिहीबार साँझ खोकु, छिन्ताङ, आँखीसल्लालगायतका क्षेत्रबाट डेढ दर्जनभन्दा बढी पुराना क्रान्तिकारी योद्धाहरू भेला भए ।
चार दशकअघि देशको शासनसत्ता र अन्याय, अत्याचारविरुद्ध आवाज बुलन्द गर्दै २०२४ देखि २०३६ सालसम्म भूमिगत क्रान्तिमा होमिएका उनीहरू यसपटक भने आफ्ना विगतका कामको सम्झना र समीक्षा गर्न भेला भएका थिए । शारीरिक रूपमा कमजोर बन्दै गएका उनीहरू जब त्यसबेलाको सङ्घर्षको कुरा निकाल्थे, तब उत्तिकै जोसिला कुरा गर्थे ।
२०३६ सालको ‘छिन्ताङ काण्ड’ मा १६ जनाले सहादत प्राप्त गरेका थिए । त्यसबेला संयोगले बाँचेका र जेलनेल भोगेका क्रान्तिकारी योद्धाहरूलाई छिन्ताङका पहिलो सहिद गोपाल आनन्द राईका छोरा योगेन्द्र राईले यो ऐतिहासिक जमघट जुराएका थिए । सहिद गोपाल आनन्द स्मृति प्रतिष्ठान स्थापना गरेका योगेन्द्रले सोही प्रतिष्ठानको आयोजनामा आफ्ना बुबाका सहकर्मीलाई ४५ वर्षपछि भेट गराउँदा पहिलेका योद्धाहरू औधी उत्साहित थिए भने कोही भावुक पनि बने । आफ्नो समयका योद्धाहरूलाई भेट्न धरानबाट बम देवान पनि छिन्ताङ पुगेका थिए । देवानलाई भेटेपछि उनीहरू विगतमा आफूले गरेका क्रान्तिका कुरा दिल खोलेर गर्न थाले । त्यसबेला शिक्षक बनेर छिन्ताङ पुगेका बम देवान र गोविन्द विकलले स्थानीयलाई राति राति सङ्गठित गरी भूमिगतरूपमा कम्युनिष्ट बनाएका थिए । तिनै कम्युनिष्टहरूले जिम्मावालको अत्याचारविरुद्ध आवाज उठाउने, भकारी फोर्नेजस्ता अभियान चलाएका थिए ।
आफूहरूलाई क्रान्तिको चेतना जगाउने उनै बम देवानलाई ४५ वर्षपछि भेट्दा उनीहरू त्यसबेलाको क्रान्तिको कुरा गर्थे । ‘तपाईं त अलि बूढो हुनुभएछ तर अनुहार उस्तै परैबाट चिनेँ’ उनीहरू सोधे, ‘अनि विकल चाहिँ कहाँ छन् ?’ विकल बितेको १५ वर्ष नाघे पनि उनीहरूले थाहा पाएका रहेनछन् । उनीहरूले मध्यरातसम्म जोस, जाँगरका साथ देवानसँग विगतका गफ गरेर बिताए । देवान भन्छन्, ‘त्यसबेला पार्टीले शिक्षकका रूपमा खटाएको थियो । हामीले शान्तिपूर्णरूपमा क्रान्ति गरेका थियौं तर पछि अन्य साथीहरू आएर उग्र नारा लगाए । त्यसको परिणाम हाम्रा साथीहरूले ज्यान गुमाउनु पर्यो ।’
देवानको केही योद्धासँग भने बेला–बेला भेट हुने गरेको थियो । यसपटक आफूसँगै कम्युनिष्ट आन्दोलनमा होमिएका गणेश नाईका राईसँगै उनको गाउँ पोखरे पुगे । धनकुटाको सहिदभूमि गाउँपालिका–१ को पोखरेका ८४ वर्षीय गणेश नाईका राई देवानसँगै छिन्ताङ पुगेका थिए । उनले जोसिलो स्वरमा भने, ‘हामीले ज्यान हत्केलामा राखेर कम्युनिष्ट पार्टी चलायौं । साथीहरू गुमायौं तर हाम्रै साथीहरू सत्तामा पुगेपछि नचिने झैं गर्छन् ।’ अन्य योद्धाहरूको गुनासो पनि उस्तै थियो । उनीहरू कम्युनिष्ट नेताहरू बिग्रिएको टिप्पणी गरिरहेका थिए ।
प्रतिष्ठानले शुक्रबार उनै योद्धाहरूलाई सहिदभूमि गाउँपालिका–३ पञ्चकन्यास्थित सहिद पार्क पु¥यायो । त्यहाँ उनीहरूले सहिद बनेर पार्कमा उभिएका आफ्ना पूर्व सहकर्मीको मूर्तिअगाडि शिर झुकाए, माला र अबिर लगाए । हरेक वर्ष कात्तिक २९ गते पञ्चकन्यामा सहिद दिवस मनाउने गरिएको छ । सहिद गोपाल आनन्द स्मृति प्रतिष्ठानले भने गोपाल आनन्दले सहादत प्राप्त गरेको कात्तिक २३ कै दिन सहिदका प्रतिमामा माल्यार्पण गरेको हो ।
२०३६ सालको कात्तिक २३ देखि २९ गतेसम्म धनकुटाको छिन्ताङ, आँखीसल्ला र खोकुमा सरकारी सुरक्षाकर्मीले गोली वर्षाएका थिए । त्यसक्रममा १६ जनाको ज्यान गएको थियो भने केही घाइते भएका थिए । लामो समयसम्म उनीहरूलाई सरकारले बेवास्ता गर्यो । स्थानीयको लामो सङ्घर्षपछि २०७४ पुस २८ गते मन्त्रिपरिषद्को बैठकले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो । स्थानीय तहको पुनर्संरचनाका क्रममा तिनै सहिदहरूको सम्मानस्वरूप साविकका छिन्ताङ, खोकु र आँखीसल्ला गाविसलाई मिलाएर सहिदभूमि गाउँपालिका बनाइएको छ । तर परिवर्तनका लागि ज्यान आहुती दिएका सहिद परिवारको अवस्था भने उस्तै छ ।
‘सहिदको अपमान भएको छ’
सहिदभूमि गाउँपालिका वडा नं. ३ का पूर्वअध्यक्षसमेत रहेका सहिद गोपाल आनन्द स्मृति प्रतिष्ठानका अध्यक्ष योगेन्द्र राई पालिकाको नाम सहिदभूमि राखिएपछि विकासका अन्य सुविधामा बेवास्ता गरिएको बताउँछन् । उनी भन्छन्, ‘यहाँ सहिदको अपमान भइरहेको छ ।’
सहिदभूमि गाउँपालिकाका गाउँ–गाउँमा बाटो त पुगेको छ तर वर्षायाममा हिँडिनसक्नु हुन्छ । सडकको ट्रयाक खोलिए पनि व्यवस्थित बाटो बन्न सकेको छैन । गाउँतिर मात्र होइन, प्रसिद्ध छिन्ताङ जालपादेवी मन्दिरसम्म पुग्ने बाटो पनि उस्तै छ । राम्रो सडक बनाउन सरकारले ध्यान नदिएको स्थानीयको गुनासो छ ।
सहिदभूमिमा बिजुली त पुगेको छ तर सानो हावाहुरी चल्दा पनि बिजुली नबल्ने स्थानीयले गुनासो गरे । त्योभन्दा पनि समस्या बिजुलीको बिल तिर्नुमा रहेको प्रतिष्ठानका अध्यक्ष राईको भनाइ छ । उनका अनुसार स्थानीयले बिजुलीको महसुल तिर्न धनकुटा बजार पुग्नुपर्ने बाध्यता छ । ‘२ सय रुपैयाँको बिल तिर्न धनकुटा बजार पुगेर आउँदा १२ सय खर्च हुन्छ’ उनी भन्छन्, ‘यहाँ बैङ्कको शाखा छ, त्यहीँ पैसा जम्मा गर्ने व्यवस्था गर्न धेरै पहल ग¥यौं तर सकिएन ।’
उनी सहिदभूमिका बासिन्दालाई विकासका आधारभूत सुविधा दिन प्रदेश र सङ्घीय सरकारसँग माग गर्छन् । देशका लागि ज्यान बलिदान दिने सहिदका गाउँमा राज्यले बेवास्ता गर्नु सहिदकै अपमान हुने उनी बताउँछन् । उनी भन्छन्, ‘अहिले प्रदेश सरकारमा हाम्रै बाबा, काकाहरूले रगत बगाएको कम्युनिष्टकै सरकार छ । सङ्घमा पनि कम्युनिष्टकै सरकार छ । तर सहिदभूमि सधैँ उपेक्षामा परिरहेको छ । तीनै तहका सरकारको ध्यान जाओस् ।’