धरान/केही दिनयता नेपाली काङ्ग्रेसका महामन्त्री एवम् युवा नेता गगन थापा सामाजिक सञ्जालमा ‘ट्रोल’ बनेका छन् । उनी ट्रोल बन्नुको कारण चाहिँ केही समयअघि उनी स्वयम्ले विभिन्न कार्यक्रमहरूमा बोलेको भाषण थियो ।

भाषणहरूमा उनले भनेका थिए, ‘अब नेपाली काङ्ग्रेसले कुनै दलहरूसँग चुनावमा गठबन्धन गरेर जाँदैन, एक्लाएक्लै लड्छ ।’ यही वाक्यका कारण अहिले सामाजिक सञ्जाल एक्स, फेसबुक, टिकटकहरूमा ‘भिडियो सामग्री देखाउँदै’ ट्रोलको शिकार बनेका हुन् ।

‘नेताहरू समय र परिस्थितिअनुसार बोल्छन् अनि समय परिस्थिति परिवर्तन हुनासाथ बोली फेर्छन् । यो राम्रो कुरा होइन । यसले नेताहरूप्रति अविश्वास बढाइरहेको छ ।’

सूचना प्रविधिको विकास हुनुपूर्व नेताहरूले जेभन्दा पनि जनताले पत्याउने अवस्था थियो । तर आजका दिनमा सूचना प्रविधिको पहुँचका कारण पनि नेताहरूले बोलेका वाक्यहरूलाई जस्ताको त्यस्तै राखेर ट्रोल मात्रै बनाउने गरेका छैनन्, प्रश्नसमेत गर्न थालेका छन् । सामाजिक सञ्जालको पहुँचले गर्दा पनि नेपाली जनता सचेत देखिएका छन् । तर, नेपालमा राजनीतिक दलका नेता मात्रै हैन, सरकारमा रहेका प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको कुरा पत्याइनसक्नुको हुने भन्दै जनताले सामाजिक सञ्जालमार्फत् व्यङ्ग्य गर्ने गरेका छन् । कतिपयले यस्ता बोलीको बेटुङ्गो हुने नेताको कुरामा विश्वास नगर्न र आलोचनात्मक ढङ्गले हेर्नका लागि आग्रह गर्छन् । ‘तिमीहरूका नेता देख्यौँ’ भन्दै व्यङ्ग्य गर्ने गरेका छन् ।  

अहिले देशका विभिन्न स्थानमा उपनिर्वाचनको रस्साकस्सी चलिरहेको छ । मङ्सिर २ गतेबाटै निर्वाचन आचारसंहिता लागू भएको छ । नेता थापाले भनेभन्दा ठीक विपरीत चुनावमा काङ्ग्रेस–एमालेले संयुक्त रूपमा गठबन्धन गरेर चुनावमा होमिएका छन् । कतिपय स्थानमा त काङ्ग्रेसको चुनाव चिह्नमा एमालेको नेता लडिरहेको छ ।

बुधबार मात्रै धनकुटामा काङ्ग्रेस–एमालेको संयुक्त मोर्चा बनेको थियो । उपनिर्वाचन नभएका क्षेत्रमा पनि काङ्ग्रेस–एमालेको गठबन्धनले युवा नेता थापाको हुङ्कार गलत सावित मात्रै भएको छैन, यसले जनतामा राजनीतिक दलहरूप्रति निराशा छाउँदै गएको छ । राजनीतिक विश्लेषक अमृतकुमार श्रेष्ठ भन्छन्, ‘नेताहरू समय र परिस्थितिअनुसार बोल्छन् अनि समय परिस्थिति परिवर्तन हुनासाथ बोली फेर्छन् । यो राम्रो कुरा होइन । यसले नेताहरूप्रति अविश्वास बढाइरहेको छ ।’

नेपालमा पछिल्लो समय राजनीतिक दलहरूप्रति जनता आक्रोसित देखिँदै गएका छन् । यसका पछाडि राजनीतिक दलहरूले देखाएको चरित्रका कारण भएको राजनीतिक विश्लेषकहरू बताउँछन् । राजनीतिक विश्लेषकहरू गठबन्धन हुनुलाई नराम्रो मान्दैनन् तर गठबन्धन स्थायी र दिगो हुनुपर्ने बताउँछन् । राजनीतिक विश्लेषक श्रेष्ठ थप्छन्, ‘गठबन्धनको अभ्यास विश्वभरि छ । गठबन्धन हुनु नराम्रो होइन, तर स्थायी र दिगो हुनुप¥यो । आज एउटासँग गरेको छ, भोलि अर्कोसँग गरेको छ । छिटोछिटो परिवर्तन हुनु राम्रो होइन ।’ पछिल्लो समय सबै राजनीतिक दलहरू खराब हुन् भन्ने भाष्य निर्माण हुँदै गएको छ । उक्त भाष्य सामाजिक सञ्जालहरूमा स्थापित हुँदै गएको छ ।

तर, राजनीतिक दलका नेताहरू भने यस्ता गठबन्धन पार्टीगत निर्णय नभई स्थानीय परिवेश र अवस्थाअनुसार भएको भन्दै बचाउ गर्ने गरेका छन् । नेपाली काङ्ग्रेसका नेता मीन विकले ब्लाष्टकर्मीसँग फोनसम्पर्कमा भने, ‘पार्टीको कुनै तहमा कहीँ पनि फलानो पार्टीसँग मिलेर अगाडि बढ्ने भन्ने नीतिगत निर्णय भएको छैन, गठबन्धन गर्ने भन्ने छैन ।’ उपनिर्वाचनमै भएको गठबन्धनलाई हेर्ने हो भने नेता विकको भनाइ मेल खाँदैन । अर्कोतिर नेता थापाले दाबी गर्दै आएको कुरा अहिले गलत सावित भइसकेको छ । यसैकारण पनि उनी ट्रोलको शिकार बनेका हुन् । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘श्रव्यदृश्य’ सामग्री राखेर ट्रोल बनाइरहेका हुन् । विशेषगरी यस्तो ट्रोल ‘एक्स’ मा देख्न सकिन्छ ।

‘नेताहरूको शैलीले पनि नेपालमा राजनीतिक अस्थिरता बढाइरहेको छ । यसले देशको समग्र विकासमा नकारात्मक प्रभाव पार्छ’ राजनीतिक विश्लेषक श्रेष्ठले फोनसम्पर्कमा भने, ‘नेतृत्व वर्गमा कुनै पनि किसिमको अडान नहुनु, विचार बदलिरहनु राम्रो होइन । मानिसक स्थिरता छैन भने त्यस्तो व्यक्तिहरूले कसरी देश र समाजको नेतृत्व गर्न सक्छन् ?’ तर यसलाई काङ्ग्रेस नेता विक भने सत्ता गठबन्धनमा रहे पनि स्वस्थ्य प्रतिस्पर्धा गरिरहेको बताउँछन् । ‘घोषित रूपमा कहीँ पनि गठनबन्धन गर्दैन । हामी स्वस्थ्य प्रतिस्पर्धा गर्छौं । गठबन्धन गर्ने पार्टीको निर्णय कहीँ पनि छैन ।’

राजनीतिक दलहरू तथा तिनका नेताहरूको वैचारिक दृष्टिकोणले पनि उनीहरूको मानसिक अवस्थालाई बताइरहेको छ । अस्थिर राजनीतिको प्रभाव नेपालमा व्यापक रूपमा रहेको देखिन्छ । प्रजातन्त्र प्राप्त भएको झण्डै सात दशक पार गरिसक्दा पनि नेताहरूको शैली र आचरण भने परिवर्तन हुन सकेको छैन । यसले नेपाली राजनीतिलाई झनै स्खलित गरिरहेको छ ।