सडक दुर्घटना र मृत्यु दरको ग्राफ हेर्दा सडक कति असुरक्षित छ भन्ने देखाउँछ । तर सडक सुरक्षासँग जोडिएका सबै सरोकारवाला पक्षहरू यसबारे गम्भीर नबन्दा समस्या झन् बिग्रदो छ ।
धरान/सुनसरीको इटहरी उपमहानगरपालिका १० शान्तिचोकमा कहाली लाग्दो दुर्घटना भएको केही दिन नबित्दै इटहरी १६ बालग्राममा सङ्खुवासभाका एक दम्पतीको ज्यान गयो । यस्ता दुर्घटनाका घटना दिनहुँजसो भइरहेका छन् ।
कोशी प्रदेशका मुख्य सडकहरूमा हुने दैनिक घटनामा सडकसँग सम्बन्धित पक्षहरू जिम्मेवार हुन सकेका छैनन् । जसका कारणसडक सुरक्षासँग जोडिएका पैदलयात्रीदेखि सवारी चालकसम्म गम्भीर नबन्दाको परिणाम १३ वर्षीया छात्रादेखि दम्पतीसम्मको मृत्यु हुन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका प्रमुख एसपी विनोद घिमिरेले सडक सुरक्षामा गम्भीर चासो र चिन्ता प्रत्येक नागरिकको रहेको बताए । ‘रोड युजरदेखि चालक सबै जिम्मेवार पक्ष हुन् । तर त्यो जिम्मेवारी ट्राफिक प्रहरीको मात्रै हो भन्ने बुझाइ छ’ उनले फोनसम्पर्कमा भने ।
गत आर्थिक वर्ष २०८०÷०८१ र चालु आर्थिक वर्षको कात्तिकसम्मको दुर्घटनाको अवस्था र मृत्युको अवस्था हेर्दा चालु आर्थिक वर्षको मृत्युदर थप भयावह देखिन्छ । कार्यालयको तथ्याङ्कमा गत आर्थिक वर्ष तीन सय ९७ जनाको मृत्यु भएको थियो भने चालु आर्थिक वर्षको कात्तिकसम्म एक सय ३४ जनाको निधन भइसकेको छ । गत वर्षभन्दा यस वर्ष बढ्ने सम्भावना रहेको अनुमान गरिएको छ किनकि मङ्सिर यता प्रत्येक दिन दुर्घटना र मृत्युको दर झनै बढेको छ ।
ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी भीम दाहालले सडक दुर्घटनाका तीन मुख्य कारण मान्छन् । उनी भन्छन्, ‘ट्राफिक शिक्षाको कमी, रोडको इन्जिनियरिङ र नियमन गर्ने निकायका कारण दुर्घटना भइरहेका छन् ।’ विज्ञहरूले दुर्घटनाका अनेक कारणहरू खुट्याउने गरेका छन् ।
यातायात विज्ञ आशिष गजुरेलले सडक दुर्घटनाका कारण तराई र पहाडमा फरक प्रकृतिको रहेको बताउँछन् । उनी भन्छन्, ‘तराईको रोडको प्रकृति र पहाडी क्षेत्रको रोडको प्रकृति फरक छ । तराईमा ओभरस्पिड प्रमुख कारण हो । पहाडमा जथाभावी सडक खन्ने प्रवृत्ति हाबी छ ।’
तराई क्षेत्रमा साइकल लेन र पैदलयात्री लेन अनिवार्य बनाउनुपर्ने उनको बुझाइ छ । ‘तराईमा साइकल धेरै चढ्छन् तर साइकल लेन छैन । पैदलयात्री पनि त्यहीँ, साइकल पनि त्यहीँ, ईरिक्सा, तीनपाङ्ग्रे पनि त्यहीँ र सार्वजनिक यातायात पनि त्यहीँ भएपछि समस्या हुन्छ’ उनले फोनसम्पर्कमा भने । सडक दुर्घटना हुनुमा यातायात व्यवसायीहरूको आफ्नै खाले बुझाइ छ ।
नेपाली यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठ भन्छन्, ‘मुख्य कारण सडक नै हो । सडकको डीपीआर तयार गर्दा खेरि सरोकारवालासँग निड एसिसमेन्ट नसोधीकन सडक बनाउने गरिएको छ । जथाभावी डिभाइडर खोलिएका छन् । मापदण्डअनुसारको सडक बन्नुप¥यो ।’ उनले कोशी राजमार्गको चारकोशे झाडी हुँदै आउने सडकहरू जङ्गली जनावरमैत्री नभएको बताए । ‘कम्तीमा त्यहाँ त चौपायाका लागि अन्डरग्राउन्ड हुनुपर्ने थियो । हामीसँग सोधेको भए मात्रै पनि त्यो खालको सुझाव दिने थियौँ’ उनले भने ।
सवारीको चाप बढ्दो, सडकको आयतन कछुवाको तालमा
सडक दुर्घटनाका कारणहरूमध्ये सवारी साधनको चाप बर्सेनि वृद्धि हुनु पनि हो । सडकको आयतन नबढ्ने तर सवारी चाप बढ्ने कारणले पनि सडक दुर्घटना भयावह बन्दै गएको सरोकारवालाहरूको भनाइ छ । त्यसमा पनि दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनको सङ्ख्या अधिक छ ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय यातायात व्यवस्था कार्यालय सवारी सुनसरीले उपलब्ध गराएको आर्थिक वर्ष २०७४÷०७५ देखि २०८०÷०८१ सम्ममा कुल दुई लाख ६३ हजार तीन सय सवारीहरू दर्ता भएका छन् । चालु आर्थिक वर्षको हालसम्म १२ हजार सात सय ८५ वटा सवारी दर्ता भएका छन् । तर, सडकको अवस्था भने उल्लेख्य सुधार हुन सकेको छैन ।
आर्थिक वर्ष २०८०÷०८१ को आर्थिक सर्वेक्षणमा २०८० को फागुनसम्म १८ हजार दुई सय ४१ किलोमिटर कालोपत्रे गरेको देखिएको छ । यस्तै सात हजार छ सय ९७ किलोमिटर खण्डास्मिथ (ग्राभेल), र आठ हजार तीन सय २९ किलोमिटर कच्ची सडक विस्तार भएको देखिन्छ । तीन वर्षको नयाँ सडक विस्तारको तथ्याङ्क केलाउँदा औसतमा वार्षिक चार सय ९७ किलोमिटर नयाँ सडक थपिने गरेको देखिएको छ ।
आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसारको पछिल्लो वर्षको तथ्याङ्क हेर्दा ३७ किलोमिटर मात्रै नयाँ सडक थपिएको छ । २०७९ मा २ सय ८० किलोमिटर नयाँ सडक विस्तार हुँदा २०८० मा २ सय ४३ किलोमिटर सडक विस्तार भएको छ । यो आँकडालाई आधार मान्दा जम्मा ३७ किलोमिटर मात्रै नयाँ सडक विस्तार भएको देखिन्छ ।
‘सडकको आयतन चाहिँ नबढ्ने अनि सवारी चाप चाहिँ बढेको बढ्यै छ’ यातायात व्यवसायी सरोज श्रेष्ठ भन्छन्, ‘नीति निर्माण तहमा भएकाले कर असुल्ने नीति मात्रै भएकाले समस्या भएको हो ।’ उनका अनुसार सवारीको चाप बढ्दा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ । त्यही कारण नै दुर्घटना बढेको छ । यातायात व्यवसायीले २०७८ सालमा कोशी भित्र कुन कुन सवारी कति छन् भन्ने निकालेको तथ्याङ्कमा झण्डै ८५ प्रतिशत दुई पाङ्ग्रे सवारी साधन, करिब ७ प्रतिशत तीन पाङ्ग्रे र झण्डै ८ प्रतिशत चार पाङ्ग्रे सवारी साधन रहेको पत्ता लागेको थियो ।
सडक दुर्घटनाका अन्य कारण
विज्ञ तथा ट्राफिक प्रहरीहरूले सडक दुर्घटनाका अन्य कारणमा सवारी साधनको चेकजाँचको कमी रहेको मान्छन् । यातायात विज्ञ गजुरेल भन्छन्, ‘सवारी साधनलाई कन्डिसनमा राख्ने भन्ने छैन । चालकहरूलाई पनि आराम छैन ।’ उनले दुर्घटनालाई घटाउने हो भने हरेक एक वर्षमा चार पटक सवारी चेकजाँच गर्ने र त्यसको रिपोर्ट सरकारलाई बुझाउने व्यवस्था गर्नुपर्ने बताए । ट्राफिक प्रहरी प्रमुख एसपी घिमिरेले पनि सवारी साधनलाई नियमित चेकजाँच नगरी कुदाउने कारण पनि दुर्घटना बढिरहेको बताउँछन् ।
मङ्सिर १५ देखि टाइम कार्ड
सडक दुर्घटना भयावह बन्दै गएपछि सार्वजनिक यातायातहरूलाई टाइम कार्ड लागू गरिने भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका प्रमुख एसपी घिमिरेले मङ्सिर १५ गतेबाट टाइम कार्ड लगाउने तयारी थालिएको बताए । टाइम कार्डको व्यवस्था गर्ने विषयमा मङ्सिर २ गते इटहरी उपमहानगरपालिका १० मा छात्राको मृत्यु पश्चात् इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलको कार्यकक्षामा सर्वपक्षीय सर्वदलीय छलफल बसेको थियो । उक्त छलफलले नै टाइम कार्ड लगाउनुपर्ने माग राखेको थियो । त्यसो त २०७६ माघ १५ गतेबाट पनि तराई जिल्लामा टाइम कार्ड लागू गरिएको थियो ।
सडक सुरक्षित यसरी बनाउने
विज्ञ तथा सरोकारवालाहरूले सडक सुरक्षाका विषयमा विभिन्न सुझावहरू दिँदै आएका छन् । यातायात विज्ञ गजुरेल दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सडकलाई व्यापक सुधार गर्नुपर्ने सुझाउँछन् । ‘सडकसँग जोडिएका यात्री, पैदलयात्री, साइकलयात्रीदेखि सबैलाई नियमपालनामा कडाइँ गर्नुप¥यो । व्यापक जनचेतनाको कार्यक्रम ल्याउनुप¥यो’ उनी भन्छन्, ‘सडक पनि व्यवस्थित बनाउनुप¥यो । सवारी साधन कन्डिसनमा भए नभएको हेर्नका लागि वर्षमा चार पटकसम्म जाँच गरेको रिपोर्ट बुझाउने व्यवस्था गर्नुप¥यो । स्पिड र मापसेलाई पनि नियन्त्रण गर्नुप¥यो ।’
यता ट्राफिक प्रहरीहरूले ‘ट्राफिक प्रहरीको मात्रै जिम्मेवारी हो’ भन्ने धारणालाई नै परिवर्तन गर्न आवश्यक रहेको ठान्छन् । ‘सडक दुर्घटनामा म पनि उत्तिकै जिम्मेवार हुँ भन्ने धारणा सबैमा विकास हुनुपर्छ’ एसपी घिमिरे भन्छन्, ‘सबैले आआफ्नो नीति नियम मानिदिए समस्या हल हुने हो तर त्यो हुँदैन । सवारी सुरक्षित बनाउने जिम्मा उहाँहरूको पनि हो ।’ यातायात व्यवसायी सरोज श्रेष्ठ भने सडक सुरक्षित बनाउनका लागि दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधन चलाउने चालकहरूलाई बढीभन्दा बढी सचेतना दिनुपर्ने र ट्राफिक नियम सिकाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘दुई पाङ्ग्रे सवारी चलाउनेमा ७० प्रतिशत चाहिँ युवाहरू छन् । यो समूहलाई चाहिँ सबैभन्दा बढी सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम ल्याउनुप¥यो ।’
सरकारले नयाँ चालक अनुमति पत्र (लाइसेन्स) लिनेको हकमा परीक्षण काल राखेर मात्रै लाइसेन्स दिनुपर्ने व्यवस्था गर्नुपर्ने उनी बताउँछन् । ‘एउटा निश्चित अवधि परीक्षण काल राख्नुपर्छ । त्यसमा पास भयो भने मात्रै उसलाई लाइसेन्स दिनुपर्छ । त्यो व्यवस्था गर्ने हो भने दुर्घटना न्यूनीकरण भइहाल्छ’ उनी भन्छन् । कोशी प्रदेश प्रहरीका प्रवक्ता भीम दाहाल भने सडक शिक्षा दिनुपर्ने बताउँछन् । ‘सडक अनुशासन कसरी पालना गर्ने, कसरी प्रयोग गर्ने भन्ने शिक्षा दिन जरुरी छ’ उनी भन्छन् । उनका अनुसार इन्जिनियरिङ गर्दा ट्राफिकमैत्री रोड निर्माण गर्नुपर्छ । कहाँ कहाँ सिग्नल राख्ने, रोड फर्निसिङलगायत राख्नुपर्छ । नियमनकारी निकायले पनि लाइसेन्स वितरण गर्दादेखि सडकको अवस्थासम्म बुझ्नुपर्ने उनले बताए । ‘हाम्रोमा सबै ट्राफिकमा भर पर्छ’ उनले भने, ‘रोडको आयतन बढाउनुप¥यो ।’
सडक दुर्घटनामा दुईको मृत्यु
धरान (ब्लाष्ट) सुनसरी र मोरङको छुट्टाछुट्टै स्थानमा आइतबार भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रामधुनी नगरपालिका ६ स्थित भित्री कच्ची सडकमा प्रदेश १–०२–००३ ह १९ नम्बरमो सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँका ५० वर्षीय विनोद चौधरीको ज्यान गएको हो ।
दुर्घटना हुँदा उनी घाइते भई एक्कासि बेहोस हुन पुगेका थिए । उनलाई स्थानीय मेडिकलमा उपचार पश्चात् थप उपचारको लागि विराट टिचिङ अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । उनी आफ्नै खेतबारीबाट धान लिएर घरतर्फ जाँदै गरेको बेला आइतबार दुर्घटना भएको थियो ।
यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका ५ दुलारीमा हायस गाडीको ठक्करबाट साइकल यात्रीको ज्यान गएको छ । बाटो काट्दै गरेको अवस्थामा बागमती प्रदेश ८–००१ च्०४७ नम्बरको हायसले साइकल चालक सुन्दरहरैँचा नगरपालिका ४ का ४४ वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको हो । उनको टाउको तथा हातखुट्टामा चोट लागी तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा उपचारको क्रममा निधन भएको हो । प्रहरीले हाउस र चालक झापा भद्रपुर नगरपालिका ८ का २६ वर्षीय विशाल दासलाई नियन्त्रणमा लिइएको छ ।