धरान/तिहारका बेला सेल रोटी बनाएर बेच्न थालेका उमेश र शान्ति शाक्य १० वर्षयता यसैबाट गुजारा चलाउँदै आएका छन् । ‘तिहार तिहारका बेला मात्रै सेल रोटी बेच्थ्यौँ’ उमेशले १२ वर्षअघिको सुरुवाती काल सम्झिए, ‘त्यो बेला सेल रोटी बेचेर जीविका चल्छ र भन्ने थियो ।’
तर, आज परिस्थिति फेरिएको छ । विगत १० वर्षदेखि धरान उपमहानगरपालिका ३ गउँधारामा शाक्य दम्पतीले सेल रोटी बेचेरै गुजारा चलाइरहेका हुन् । ‘तिहारको छेको पारेर मात्रै रोटी बनाउथ्यौँ’ उनले भने, ‘काठमाडौँबाट आएका पाहुनाले अरू बेला पनि बिक्छ होला भनेर सल्लाह दिएपछि दैनिक बनाएर बेच्न थालेका हौँ । त्यो पनि १० वर्ष पुगिसकेछ ।’ सुरुवाती दिनमा २–३ केजी चामलको सेल रोटी बनाउने गरेका थिए । अहिले दैनिक १५ केजी चामलको रोटी बेच्दै आएको दम्पती सुनाउँछन् ।
‘सुरु सुरुमा त अलिक दुःख भयो । केटाकेटी पनि सानै थिएँ । बनाउन पनि आउँदैनथ्यो’ रोटी पोल्दै गर्दा भेटिएकी शान्तिले भनिन्, ‘एउटा एउटा पोल्थे । कतिपय डढ्थ्योँ । खेर जान्थ्यो ।’ उनले विगत १५ वर्षदेखि आयुस होटल पनि सञ्चालन गर्दै आएका छन् । ‘होटल त नामै मात्र, चल्दैन । यही रोटीले धानेको छ । यसैबाट घरभाडा, घरखर्च, केटाकेटीलाई पढाउने खर्च सबै पु¥याएका छौँ’ उनी भन्छिन् ।
रोटी बनाउन निकै मेहनत पर्ने उनीहरूको भनाइ छ । चामल भिजाउने, कुट्ने त्यसपछि पोल्नका लागि पीठो मुछ्नेलगायत गर्नुपर्छ । चामल कुट्नका लागि मात्रै तीन घण्टा जति लाग्ने गरेको उमेश सुनाउँछन् । ‘चार बजेदेखि कुट्न थाल्दा झण्डै ७ बज्छ’ उनले भने । सुरु सुरुमा त ओखलमा कुटेर पीठो तयार पार्ने गरेका थिए । सात केजीसम्म त ओखलमै तयार पार्ने गरेका थिए । ‘मेहनत त एकदमै गर्नुपर्छ’ शान्तिले भनिन्, ‘मिलमा कुटेको पीठोको त्यति राम्रोसँग लस्सा आउँदैन । रोटी राम्रो हुँदैन । त्यही भएर दुई तीन केजी त दैनिक हातैले कुट्छौँ ।’
सेल रोटी व्यवसायबाटै उनले छोराछोरीलाई मात्रै पढाएनन् । घर बनाए । घर बनाएको ऋण तिरिरहेका छन् । छोरीको बिहे पनि गरिदिए । ‘हामीले यसैबाट घरखर्च, छोराछोरी पढाउने, घर बनाउने, ऋण तिर्ने काम गरिरहेका छौँ, राम्रै कमाइ भइरहेको छ’ उनीहरूले भने, ‘दुःख गर्दा राम्रै हुँदो रहेछ ।’ अहिले भाडाको घरबाटै व्यवसाय गरिरहेका छन् । १५ वर्षअघि २ हजार रुपैयाँबाट भाडाबाट सुरु भएको घर अहिले १० हजार रुपैयाँ पुगेको छ ।
उनीहरूले सुरुमा १० रुपैयाँ गोटा सेल रोटी बेच्दै आएका थिए भने अहिले बढाएर २० रुपैयाँ पु¥याएका छन् । ‘चार वर्ष जति भयो होला है (श्रीमान्तिर हेर्दै)’ शान्तिले भनिन्, ‘सुरुमा त १५ को जोडी पनि बेच्यौँ ।’ १० रुपैयाँबाट बढाएर १५ हुँदै २० रुपैयाँ पु¥याएको उनीहरू बताउँछन् । ‘चामल, चिनी, घिउको मूल्य बढ्यो के गर्ने ?’ उमेशले भने । उनीहरूले बेच्दै आएको रोटीमा चिनी र घिउबाहेक केही पनि नहाल्ने बताउँछन् ।
तिहारको तीन दिनमा आजभोलि झण्डै १२० केजीभन्दा बढी चामल खपत हुने बताउँछन् । ‘लक्ष्मीपूजादेखि भाइटीकासम्म बिक्री हुन्छ’ उनीहरू भन्छन्, ‘अरू बेला पनि अर्डर आयो भने राम्रै बेच्छौँ ।’ उनीहरूका अनुसार अर्डर आउँदा ५० केजीसम्म चालमको रोटी बिक्री गरेको अनुभव छ । २०७८ सालयता भने दैनिक १५ केजी चालमको रोटी बिक्री गर्दै आएका छन् । ‘तिहार, माघे सङ्क्रान्ति र आमाको मुख हेर्ने दिन (औँशी) मा चाहिँ सारै धेरै बिक्छ’ उमेशले भने ।
उमेश पनि दुई वर्षअघिसम्म भाडा पसलमा काम गर्दै आएका थिए । त्यो बेलामा सामान्य रूपमा मात्रै सघाउँथे । दुई वर्षयता भने उनले श्रीमतीको व्यावसायमा साथ दिएका छन् । पीठो कुट्नेदेखि लिएर सबै सबै काममा श्रीमतीलाई साथ दिने गरेको उनी सुनाउँछन् । ‘यो तिहारदेखि हामीले ३० हजार रुपैयाँ खर्चिएर पीठो कुट्ने मेसिन पनि ल्याएका छौँ’ उनीहरू सुनाउँछन् । अर्काकहाँ जाँदा दुःख पाउने तथा समयमा नकुटिदिने कारणले गर्दा पनि मेसिन ल्याउनुपरेको उनीहरू बताउँछन् ।
उनीहरूको पसल नजिकै अर्को पनि सेल रोटी पसल थपिएको छ । त्यो पसल पनि उस्तै गरी चल्छ । उनीहरू भन्छन्, ‘पसल थपिएर त झनै राम्रो भएको छ । झन् धेरै बिक्री पो हुन थाल्यो । एकै खालको पसल हुँँदा चल्दैन कि जस्तो लाग्थ्यो । तर त्यसो होइन रहेछ । झन् पो राम्रो भयो ।’ उनीहरूको अनुमानमा धरानमा करिब १०–१२ वटा सेल रोटी पसल सञ्चालनमा छन् । ‘जति भए पनि बिक्री भइरहेकै छ’ उनीहरू भन्छन् ।
अहिले शान्ति एउटै ताप्केमा एकैपटकमा तीनवटा रोटीसम्म पोल्न भ्याउँछिन् । यसले गर्दा छोटो समयमा धेरै उत्पादन गर्न सक्छन् । एक किलो चामलबाट करिब १५ देखि २० वटा रोटी बन्ने गरेको छ । रोटीबाट दैनिक पाँचदेखि सात सय रुपैयाँसम्म बच्ने गरेको छ । ‘महिनामा ७०–८० हजार रुपैयाँ राम्ररी नै कमाएका छौँ, ऋणपान तिर्नलाई खाँचो हुँदैन, खानलाउन राम्रोसँग पुगेको छ । यसैबाट बैङ्कको किस्ता तिरिरहेको छु’ उमेश सुनाउँछन्, ‘कसैसँग माग्नु परेको छैन । गर्नुसक्दा, खट्नु सक्दा हुन्छ । नगर्नेलाई त कहाँ हुन्छ । गर्दाखेरि हुने रहेछ ।’