धरान/धरान कृषि उपज बजार स्थलका थोक व्यापारीहरूको अनुहारमा आजकाल आशाभन्दा बढी निराशा छ । कृषि उपज बजार स्थलको स्थापना गर्नमा भूमिका खेल्ने थोक व्यापारी सोनेलाल गुप्तामा आशा कम निराशा ज्यादा छ । 

उनी भन्छन्, ‘आजकाल जम्माजम्मी ३० प्रतिशत मात्रै व्यापार छ । सबैतिर आर्थिक मन्दी छ । सामान नै बिक्दैन । समिति (कृषि उपज बजार स्थल सञ्चालक समिति)ले पनि राम्रोसँग काम गरेको देखिँदैन ।’ गुप्ताको दाबीमा ७० प्रतिशत कारोबार सुस्ताएको छ । विगतदेखि हालसम्मको अनुभव, अनुमान र अध्ययनमा यस्तो देखिने उनी दाबी गर्छन् । ‘आआफ्नो अनुभव हुन्छ । आआफ्नो अनुमान र अध्ययन हुन्छ । अध्ययन राम्रो ग¥यो भने लगभग ३० प्रतिशत मात्रै बजार चलेको छ, ७० प्रतिशत डाउन भएको छ’ उनले भने । 

‘आआफ्नो अनुभव हुन्छ । आआफ्नो अनुमान र अध्ययन हुन्छ । अध्ययन राम्रो ग¥यो भने लगभग ३० प्रतिशत मात्रै बजार चलेको छ, ७० प्रतिशत डाउन भएको छ’

कृषि उपज बजारस्थल दिउँसोतिर लगभग सुनसान झै हुन्छ । यसबारे कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष पर्शुराम कटवाल भन्छन्, ‘कोरोना पछि सब्जी व्यापारको ट्रेन्ड नै बिहानै खरिद गर्ने चलन छ । अन्यतिरको बजार पनि बिहानै व्यापार हुने चलन छ । बिहानै किन्ने अनि हटिया तिर लाने सिस्टम छ । धरानमा चाहिँ हटिया लाग्दैन ।’ अध्यक्ष कटवालले पनि कृषि उपज बजारस्थलमा १५–२० प्रतिशत कारोबार घटेको हुन सक्ने बताए । ‘हरियो तरकारीमा १५–२० प्रतिशत घटेको हुन सक्छ’ उनले भने, ‘तर अन्य व्यवसाय राम्रै छ ।’ 

krishi_bazar_dharan (2)

कृषि उपज बजारस्थलमा तरकारी, फलफूल, दलहन, मसला र खसीबोकाको व्यापार हुने गरेको छ । यसमध्ये फलफूल, दलहन, मसला र खसिबोकाको व्यापार राम्रो रहेको कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन् । तरकारीमा पनि प्याज, आलुको व्यापार पहिला जस्तै रहेको उनको भनाइ छ । कृषि उपज बजारस्थलको पछिल्लो केही तथ्याङ्कका आधारमा पनि व्यापार घटेको देखाउँछ ।

आर्थिक वर्ष २०७६/०७७ मा तरकारी बाली ७९ हजार ५२ मेट्रिक टन आइपुगेको देखिन्छ भने गत आर्थिक वर्षमा ६५ हजार तीन सय १ मेट्रिक टन आइपुगेको देखिन्छ । आर्थिक वर्ष २०७९/०८० मा पनि ७१ हजार दुई सय ६ मेट्रिक टन आएको देखिन्छ । यसआधारमा पनि आव २०७९/८० र आव २०८०/०८१ मा हेर्दा पाँच हजार नौ सय ५ मेट्रिक टन कम आएको देखिन्छ । 

फलफूल भने विगत वर्षभन्दा बढ्दो अवस्था भए पनि आव २०७९/०८० भन्दा २०८०/०८१ मा भने घटेको देखिन्छ । आव २०७९/८० मा २८ हजार नौ सय १ मेट्रिक टन आएकोमा आव २०८०/०८१ मा २८ हजार एक सय ३ मेट्रिक टन मात्रै आएको देखिन्छ । यसरी हेर्दा पछिल्ला वर्षमा तरकारी बालीमा निकै कम आपूर्ति भएको देखिन्छ । यो आँकडा आधारमा पनि पछिल्ला वर्षहरूमा कारोबार घट्दै गएको देखिन्छ ।

आलु, प्याज तथा टमाटरको थोक बिक्रेता सुबोध चौधरीले विगतभन्दा धेरै बजार डाउन भएको बताउँछन् । ‘पहिला भन्दा धेरै बजार डाउन छ । पहिला ५०–१०० काँटा बिक्री हुन्थ्यो । अहिले २५–३० काँटा बिक्री भइरहेको छ’ उनले भने, ‘मान्छेसँग पैसा छैन भन्छ । बजारमा पैसा छैन ।’ उनका अनुसार अहिले कृषि बजारभरि सबैको कारोबार घट्दै गएको छ । 

यता व्यवस्थापक भट्टराईले भने झण्डै तरकारीमा २५ प्रतिशत कारोबार घटेको दाबी गरे । अन्य व्यापारमा भने नघटेको उनी दाबी गरिन्छ । यहाँबाट विशेषगरी मोरङको विराटनगर, पथरी, उर्लाबारी, सुनसरीको इटहरी, इनरुवा, उदयपुरको गाईघाटलगायतका बजारमा सामान पुग्ने गरेको छ । 

किसान–व्यापारी सिधा कनेक्सनले पनि घट्यो

कारोना महामारीपछि सरकार तथा सरकार मातहतका निकायहरूले बजारमा भीडभाडलाई घटाएपछि किसान र व्यापारीबीच सिधा कनेक्सन हुन थालेको छ । गाउँ गाउँतिर तथा पहाडी क्षेत्रका ग्रामीण भेगमा पनि बाटोघाटोको सुविधा भएका कारणले पनि किसान र व्यापारीबीच सिधा सम्पर्क हुन थालेको हो । 

‘अहिले हरियो तरकारीहरू डाइरेक्ट तराईतिर जान्छ’ थोक व्यापारी चौधरी सुनाउँछन्, ‘पहिला यतातिर आउँथ्यो ।’ व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार विकासको परिवर्तनका कारणले पनि पहाडबाट आउने तरकारीहरू सिधै तराईका जिल्लाहरूमा जाने गरेको छ । ‘२० वर्षको ट्रेन्ड हेर्दाखेरि गाउँघरतिर बाटोघाटो थिएन । यही बजारमा आएर ठोक्किन्थयो । विकासको परिवर्तनले गर्दा गाउँपालिका तथा फर्मसम्म पुग्ने गरेको छ’ उनले भने, ‘कोरोनाको बेलामा प्रशासनले बजारमा केन्द्रित हुन दिएन । जसले गर्दा किसान र व्यापारी सिधैँ कनेक्सन भए । त्यो कारणले गर्दा पनि कारोबार घटेको छ ।’

गुल्जार होला त ? 

अध्यक्ष कटवालले कृषि उपज बजार पुरानै लयमा फर्किन सक्ने दाबी गर्छन् । ‘पहिलो कुरा व्यावसायी साथीहरू पनि लाग्नुप¥यो, थोक व्यापारीमार्फत पठाउन सक्ने वातावरण तयार बनाउनुप¥यो’ उनले भने । गुल्जार हुन सक्ला त भन्ने प्रश्नमा उनले कृषि उपज बजार स्थलमा तरकारीको विषादी मापन गर्ने यन्त्र राखिएकाले पनि यहाँबाटै हरियो तरकारीहरू बाहिर जाने भएकाले पनि पुरानै लय समात्ने दाबी गर्छन् । 

krishi_bazar_dharan (3)

‘केन्द्र सरकारले विषादी मापनको यन्त्र राखेको छ’ उनले भने, ‘केही दिनमा आधिकारिक रूपमा सञ्चालन गर्ने तयारी भइरहेको छ । त्यो भयो भने सब्जीको विषादी मापन सबै यहीँबाट हुन्छ । त्यसो हुँदा कृषि उपज बजार गुल्जार हुने सम्भावना हुन्छ ।’ उनले बाटो पनि निर्माणको चरणमा भएकाले पनि निर्माण सम्पन्न भएपछि व्यापार सहज हुने विश्वास लिए । 

कोल्ड रुमका कारण पछिल्लो समय फलफूल बालीहरू अधिकांश धरान आउने गरेका छन् । कृषि बजारमा आर्थिक वर्ष २०७६÷७७ मा २३ हजार दुई सय मेट्रिक टन आएकोमा गत वर्ष २८ हजार एक सय ३ मेट्रिक टन आएको देखिन्छ । यस आधारमा फलफूलका कारणले गर्दा पनि व्यापारमा सुधार आउने अपेक्षा गरिएको छ । ‘कोल्ड रुमले गर्दा फलफूल सबै यहाँ केन्द्रित भएको छ’ व्यवस्थापक भट्टराईले भने ।