विराटनगर । बिक्री प्रतिबन्ध गरिएको औषधि बिक्री गरेको पाइएपछि विराटनगरस्थित लाइफगार्ड फार्मेसीमा सञ्चालित औषधि पसलको लाइसेन्स (अनुमति–पत्र) निलम्बन भएको छ ।

औषधि व्यवस्था विभाग विराटनगरले लाइफगार्ड हस्पिटलभित्रको फार्मेसीको लाइसेन्स निलम्बन गरेको हो । लाइफगार्ड फार्मेसीले ‘बेस्टोसेफ सिभी’ २०० एमजीको एन्टिबायोटिक रेसिस्टेन्स (प्रतिजैविक) भएको औषधि बिक्री वितरण गरेको पाएपछि निलम्बनमा राखेर अनुसन्धान सुरु गरेको औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख निकेश श्रेष्ठले जानकारी दिए । ‘लाइफगार्ड हस्पिटलभित्रको फार्मेसीबाट प्रतिजैविक भएको औषधिहरू बिक्री वितरणमा रोक लगाएको थियो । तर, लाइफगार्डको फार्मेसीले खुलेआम बिक्री गरेको अनुगमनको क्रममा भेटिएपछि अहिले शिलबन्दी गरेर अहिले तत्काललाई निलम्बन गरिएको हो’–कार्यालय प्रमुख श्रेष्ठले भने । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सन् २०२१  मा एक सय ३ प्रकारका सिफारिस नगरिएका प्रतिजैविक औषधिहरू र सम्मिश्रणहरूको सूची प्रकाशन गरेको छ । प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्ने, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्यले औषधि सल्लाहकार समितिको ५५ औं बैठकबाट विभागलाई सिफारिस भएर २०८० भदौ १८ गते ‘बेस्टोसेफ सिभी’ २०० एमजीको एन्टिबयोटिकसहित एक सय ३ प्रकारका औषधिहरू बिक्री वितरणमा रोक लगाएको छ ।

६ महिनाको अवधिमा बजारमा उपलब्ध रहेका त्यस्ता प्रतिजैविक औषधिहरूको मौज्दात भए फिर्ता लिई सो को आधिकारिक विवरण विभागमा पेश गर्ने र सम्बन्धित प्रमाणहरू फिर्ता गरी नियमानुसार रद्द गर्ने भनिएको छ । तर, बिक्री वितरणमा रोक लगाएको एक वर्ष भइसक्दा पनि बिरामीको उपचारमा कामै नगर्ने ‘बेस्टोसेफ सिभी’ २०० एमजीको एन्टिबायोटिक लाइफगार्ड हस्पिटलको फार्मेसीमा बिक्री वितरणको लागि राखिएको पाइएको थियो । २३ कात्तिकमा जिल्ला प्रहरी कार्यालय मोरङ र डिडिए विराटनगरले छापा मारेर बेस्टोसेफ सिभी २०० एमजीको २ हजार ८० ट्याब्लेट बरामद गरेको थियो । बिक्रीमा रोक लगाएको बेस्टोसेफ सिभीसहित बिरामीलाई आर्थिकरूपमा भार पर्ने ‘न्युट्रास्युटीकल’ (खाद्यपूरक) सामग्री पनि ठूलो परिमाणमा बरामद गरेको थियो । लाइफगार्डबाट प्रहरीले १० लाख ७५ हजार रुपैयाँ मूल्य बराबरको खाद्यपूरक सामग्री बरामद गरेको थियो ।

यसरी बिक्री वितरणमा रोक लगाएको औषधि खुलेआम बिक्रीको लागि राखेको भेटिँदा पनि नियामक निकाय औषधि व्यवस्था विभाग विराटनगरले लाइफगार्ड हस्पिटलका सञ्चालक रञ्जित अग्रवालले हर्ने गरेको सो फार्मेसीलाई उन्मुक्ति दिने प्रयास गरेको भनेर समाचार प्रकाशित भएको थियो । त्यसपछि दबावमा परेको डिडिए विराटनगरले फार्मेसीलाई निलम्बन  गरेर अहिले अनुसन्धान सुरु गरेको हो । बिक्रीमा रोक लगाएको औषधि ठूलो परिमाणमा भेटिएपछि विभागले लाइफगार्ड हस्पिटलको फार्मेसीको लाइसेन्ससम्म खारेजीको प्रक्रिया अगाडि बढाएको छ । ‘अहिले निलम्बन गरेर मात्रै अनुसन्धान भइरहेको छ’ एक अधिकृतले भने, ‘फार्मेसीको कसूर हेरेर खारेजसम्मको प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ ।’

लाइफगार्ड हस्पिटलभित्रको फार्मेसीलाई निलम्बन गरेपछि अहिले अस्पतालको दोस्रो तलाबाट औषधि बिक्री हुने गरेको स्रोतको दाबी छ । ‘डिडिएले लाइसेन्स निलम्बन गरेर शिलबन्दी गरेपछि अहिले अस्पतालको दोस्रो तलाबाट औषधि बिक्री वितरण हुने गरेको छ’–स्रोतले भन्यो ।

सीताराम फार्मेसीमा म्याद गुज्रेको औषधि
विराटनगरको नोबेल अस्पतालको गेटअगाडि रहेको सीताराम फार्मेसीमा म्याद गुज्रेको औषधि भेटिएको छ । औषधि पसलले बिक्री गरेको औषधि बिरामीले प्रयोग गरेपछि एक बालिका बिरामी भएपछि औषधि व्यवस्था विभागले सोमबार पसलमा अनुगमन गर्दा युसेटामोल नामक औषधि म्याद गुज्रिएको भेटिएको हो ।

झापा गौरीगञ्ज नगरपालिका–४ की ५ वर्षीया आर्या खत्री नोबेल अस्पताल विराटनगरमा उपचारको लागि आर्याका आमा बुबाले ल्याएका थिए । अस्पतालमा छोरीको मुखको अपरेसनपश्चात् हस्पिटलबाहिर रहेको सीता फार्मेसीबाट युसेटामोल खरिद गरेको औषधि आर्यालाई प्रयोग गरिएको थियो । उक्त औषधि प्रयोग गरेको केही समयमा छोरी आर्यालाई झन् साह्रो भएको उनकी आमाले बताइन् । छोरीलाई झन् साह्रो भएपछि नर्सलाई आमाबुबाले गुहारेका थिए । यता नर्सले उक्त औषधि हेर्दा म्याद गुज्रिएसँगै उत्पादन मिति नै नदेखिने खालको भेटिएको थियो ।

खत्री परिवारले फार्मेसीबाट खरिद गरेको औषधि म्याद सकिएको भन्दै औषधि व्यवस्था विभागमा उजुरी गरेसँगै औषधि व्यवस्था विभागका फार्मेसी सुपरभाइजर एलन खड्काको नेतृत्वमा आएको टोलीले औषधि फार्मेसीमा अनुगमन गरेको थियो । ‘बेलैमा औषधि हेरेका कारण पाँच वर्षीया छोरी आर्या खत्रीलाई ठूलो घटना हुनबाट जोगाइयो’ –आर्याका बुबा लक्ष्मण खत्रीले भने । यता औषधि व्यवस्था विभागका फार्मेसी सुपरभाइजर एलन खड्काका अनुसार बिरामीका आफन्तले लिखित उजुरी दिएसँगै आफूले औषधि पसलको अनुगमन गरेको बताए । अनुगमनपश्चात् केही औषधिसमेत बरामद गरेको खड्काले बताए । ‘हामीले उत्पादन मिति स्पष्ट नदेखिनेखालका केही औषधि नियन्त्रणमा लिएका छौँ’ उनले भने, ‘यसबारे थप अनुसन्धान हुन्छ । यदि कैफियत भेटिए कारबाहीको दायारमा आउनेछ ।’

सिता राम फार्मेसीले भने हालसम्म आरोप पुष्टि नभएकाले कुनै प्रतिक्रिया दिन नसक्ने जनाएको छ । फार्मेसीका प्रतिनिधिले औषधि व्यवस्था विभागले गरेको अनुसन्धानपछि निस्कने निष्कर्षलाई स्वीकार्ने बताएका छन् ।