धरान । वि.सं. १९९० को विनाशकारी भूकम्पले नेपालका विभिन्न स्थानमा क्षति ग¥यो । त्यसमा धरान पनि अछुतो रहेन । यसले देशको अर्थतन्त्रलाई नराम्रोसँग थला पार्यो । तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले व्यापार विस्तारको क्रममा धरान आई व्यापारीका लागि नयाँ मार्ग खोलिदिए । त्यसो त चन्द्र शमशेरका पालामा चन्द्र बजार खुलिसकेको थियो । जसलाई आज पनि पुरानो बजारले चिनिन्छ ।

धरानको जुद्ध बजार अर्थात् हालको महेन्द्र पथमा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले व्यापारीहरूलाई निःशुल्क जग्गा प्रदान गरेको केही पुस्तकहरूमा तथ्य भेटिएको छ । धरानको पब्लिक हाइ स्कुलबाट २०४७ सालमा प्रकाशित ‘स्मारिका’ मा लेखिएको छ– ‘वि.सं. १९९० को भूकम्पपछि संवत् १९९१–९२ सालदेखि धरानको नयाँ बजार जुद्ध नगरका नामले गुलजार हुन लागेको थियो । सो बजार बसाउँदा जग्गा धनीहरूबाट जग्गा अधिकरण गरी घडेरीका निम्ति घर बनाउने व्यापारीहरूलाई तथा अन्य बसोबास गर्नेलाई पनि जग्गा निःशुल्क वितरण गरिएको थियो ।’

यसरी जुद्ध शमशेरले बसाएको बजारलाई जुद्ध बजार अर्थात् नयाँ बजारका नामले पनि चिनिँदै आएको छ । तत्कालीन समयमा बढीमा ५ लगी चौडा र ७ लगी लामो तथा घटीमा दुई लगी चौडा र ७ लगी लामोको दरले परिवारको स्थिति र व्यापारीको कारोबारको हैसियतले हेरी जग्गा प्लटहरू वितरण गरिएका थिए ।’ त्यति मात्रै हैन, घर बनाउनका लागि सरकारबाट काठपात पनि नजिकै रहेको जङ्गलबाट निःशुल्क नै दिइएको थियो ।’ भूकम्पका कारण क्षति पुगेका र नयाँ बजारलाई गुलजार बनाउनका लागि यो रणनीति अख्तियार गरिएको अनुमान गरिएको छ । तर सोअनुसार हुन नसकेको पुस्तकमा उल्लेख छ । ‘घर हुँदै नभएका र पुरानो बजारमा पायक पर्ने ठाउँमा पसल थाप्ने ठाउँ नपाउनेहरू चैं नयाँ बजारमा आएर बस्न थालिहाले । तर धेरैजसो व्यापारी र गृहस्थीहरूले चैं पुरानो बजारको मोह त्याग्न सकेका थिएनन् । तिनका आफ्ना घर तयार भएर पनि नयाँ बजारका घरहरू खाली खाली नै बसिरहेका थिए । बजार फस्टाउन सकेन । गुलजार भएन ।’

सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षसमेत रहेका पुराना व्यवसायी गौरीशङ्कर अग्रवाल नयाँ बजार बसाउँदाखेरि घडेरीहरू निःशुल्क रूपमा दिएको जानकारी आफूले बुबाहरूबाट थाहा पाएको बताए । उनले भने, ‘मलाई थाहा भएअनुसार तत्कालीन श्री ३ आएर रोड बनाइदिएर घडेरी पनि सित्तैंमा दिने र घर बनाउन लाग्ने एक रुपैयाँ कर पनि नलिएको भन्ने बुबाहरूबाट सुनेको थिएँ ।’ उनले सबैभन्दा पहिला उक्त क्षेत्रमा डेडराज मोतीलाल तोदी (अग्रवाल)हरूको कपडा पसल रहेको बताए । ‘सबैभन्दा पुरानो पसल डेडराज मोतीलाल अग्रवालको कपडा पसल हो । त्यसपछि नेवारहरू पनि त्यहाँ बसे’ उनले भने, ‘श्री ३ आउँदा नयाँ बजारका व्यापारीलाई के अप्ठ्यारो छ भनेर सोध्दा हामीले लगानी त ग¥यौं तर लगानी उठिदिएन भनेर भन्दा पुलिसलाई आदेश बक्स गरेको बुबाहरूबाट सुनेको थिएँ ।’

स्मारिकाको पृष्ठ ९ मा व्यवसायी अग्रवालको भनाइ पुष्टि गर्ने आधार यसरी उल्लेख गरिएको छ– ‘पुरानो बजारमा कपडाको ठूलो व्यापार गरी बस्ने डेडराज मोतीलाल तथा लादूराम भूरामल र अन्य केही व्यापारी नयाँ बजारमा सरिसकेका थिए । कपडाकै व्यापार गर्ने कैलाशमान श्रेष्ठ आदि कयौँ व्यापारीले पुरानो बजारमै बस्न मन पराए ।’ धरानका अग्रज पत्रकार गिरिराज आचार्यका अनुसार पुरानो बजारका व्यापारीहरूलाई नयाँ बजारमा सार्दा निःशुल्क जग्गा वितरण गरेको सुन्नमा आएको थियो । तर, यथार्थ के हो आफूलाई त्यसबारे जानकारी नभएको उनले बताए । ‘पुरानो बजारमा वंशीधर, सीताराम लोहियाको दोकान थियो । उनीहरू नयाँ बजारमा सरेका थिए । त्यो दोकान अहिले पनि शिव एन्ड ब्रदर्सका नाममा चलिरहेकै छ’–उनले भने । उनीहरू आएपछि धेरै व्यापारीहरू आएका थिए ।

यस्तै धरानका पुराना शिक्षक कमल पोखरेलका अनुसार जुद्ध शमशेरको पालामा जग्गा नापेर निःशुल्क दिएको भन्ने आफूले पनि सुनेको र पुस्तकहरूमा पनि तथ्य भेटिएको बताए । पब्लिक हाइ स्कुलमै लामो समय प्रधानाध्यापक रही काम गरेका उनले स्मारिका देखाउँदै भने, ‘यो पुस्तकमा जुद्ध बजारको बारेमा पनि लेखिएको छ । उनले जुद्ध बजार बसाउँदा जग्गा मात्रै हैन, अन्य सामग्रीहरू पनि निःशुल्क दिएको बूढापाकाहरूबाट सुनेको बताए । ‘पुरानो पसलमध्ये शिव एन्ड ब्रदर्स अहिले पनि छ । छाता चोकनजिकै जयनारायण पलिखेको बुबाको पसल थियो’ –उनले भने ।

नयाँ बजारलाई स्थापित गर्नमा भूपालमान सिंह कार्कीको विशेष योगदान रहेको जानकारहरू बताउँछन् । उक्त स्मारिकाको पृष्ठ ९ मा यस्तो उल्लेख छ– ‘भूपालमान सिंह कार्की आफ्नो कार्य क्षमता तथा बुद्धिबलले राजसभा स्थायी समितिको सभापतिको अध्यक्ष पदसम्म पुग्न सफल हुनुभयो । उहाँ त्यसबेला पहिलो गोश्वाराको नौसिन्दा र पछि खरिदार हुनुहुन्थ्यो । उहाँलाई नै पुरानो बजारबाट मानिसहरूलाई (राजीखुसी गराई) नयाँ बजारमा सार्नका निमित्त खटाइयो ।’ यसरी नयाँ बजार बसाउनका लागि तत्कालीन समयमा जुद्ध शमशेर तथा भूपालमान सिंह कार्कीको उल्लेखनीय योगदान रहेको जानकारहरू बताउँछन् ।