धरानमा नजानिँदो तरिकाले बर्सेनि हुस्सुको अतिक्रमण बढिरहेको छ । समशीतोष्ण तापक्रम हुने धरान आउँदो दिनमा उष्ण तापक्रमतर्फ पाइला बढ्दो छ ।

धरान/धरानलाई हुस्सुले छोप्न थालेको धेरै भएको छैन । हुस्सु, धरानको लागि नयाँ परिचय हो । यहाँका पुराना रैथानेलाई हुस्सु लागेकोबारे यथेष्ट ज्ञान छैन । वरिष्ठ पत्रकार हर्ष सुब्बा विगतबारे भन्छन्, ‘यहाँ हुस्सु लाग्न थालेको धेरै भएको छैन । तीसको दशकसम्म पनि हुस्सुबारे धेरै धरानेलाई जानकारी थिएन ।’

धरानमा विमानस्थलको चर्चा हुँदा ‘हुस्सु नलाग्ने भएकाले धरान उपयुक्त छ’ भनी आवाजहरू उठ्ने गरेका थिए । ‘हुस्सु तथा शीतलहर’का कारण विराटनगर विमानस्थलबाट बिमान नउड्दा ‘मिथक’का रूपमा हुन्थे । हुस्सु र धरानको सम्बन्ध ‘प्रतिपक्षी’ जस्तै थियो । समशीतोष्ण हावापानी पाइने धरानमा पछिल्लो समय हिउँद सुरु भएसँगै हुस्सुले छोप्ने गरेको छ ।

धरान उपमहानगरपालिकाको वेबसाइटमा धरानको विशेषताबारे यस्तो लेखिएको छ, ‘समशीतोष्ण प्रकारको हावापानी पाइन्छ ।’ तराईदेखि पहाडसम्म एक सय ९२ वर्ग किलोमिटरमा फैलिएको धरान हुस्सुसँग परिचित बनेको २०३६ सालपश्चात् भएको जानकारहरू बताउँछन् । ‘२०३६ सालपश्चात् धरानमा हुस्सुको अनुभूति भएको हो’ अग्रज पत्रकार सुब्बा विगतको अनुभव सेयर गर्दै भन्छन् । हुस्सु धरानमा प्रवेश गर्नुका अनेकन कथाहरू छन् । पहिलो त चारकोशे झाडीको व्यापक कटानले गर्दा हो भन्नेहरूको कमी छैन । 

दोस्रो जलवायु परिवर्तनको प्रभाव धरानमा पनि परेको विज्ञहरू बताउँछन् । २०३७ को जनमत सङ्ग्रहपश्चात् चारकोशे झाडी कटान तीव्र भएको धेरैको बुझाइ छ । ठूला सडकहरू निर्माण हुन थालेसँगै रुखहरू काटिए । त्यसो त भारतमा रेल मार्ग निर्माण सुरु हुँदाताका राणा शासकहरूले व्यापक रूपमा रुख कटान गरी भारतलाई सस्तो मूल्यमा काठहरू निर्यात गर्थे ।

विमलकुमार शर्माले दी इम्पेरियल गजेटर अफ इन्डिया (सन् १९३१ः२६) लाई उद्धृत गर्दै हिमालखबरमा २०८१ साल कात्तिक ७ गते लेखेका छन्, ‘भारतमा सन् १८५१ म मालसामान तथा सन् १८५३ मा यात्रु ओसारपसार गर्ने गरी प्रयोगमा आयो । सोही रेगमार्ग निर्माण गर्न नेपाली काठ सस्तो र उपयुक्त देखिँदा माग बढ्यो । सोही मौकामा नेपालका राणाशासकले तराईका जङ्गलमा काठ बिक्री र त्यसैको आडमा जमिन आवाद गराई दोहोरो फाइदा लिन थाले ।’

हुस्सु लाग्नुका पछाडि वातावरणमा आएको परिवर्तन ठान्छन्, धरानका शिक्षासेवी अग्रज गोकुलप्रसाद श्रेष्ठ । उनी भन्छन्, ‘पहिला पहिला चाहिँ हुस्सु लागेको थाहा छैन । १०–८ वर्षदेखि लाग्न थालेको छ । वातावरणको कुरा त होला ।’ उनको भोगाइमा ८–१० वर्षयता शीत पनि पर्न थालेको छ । कागहरू देखिन थालेका छन् ।

विश्वमा औद्योगीकरणसँगै हरित गृह ग्याँसको उत्पादन तीव्र हुँदा त्यसको असर वातावरणमा देखिन थालेको छ । यसको प्रत्यक्ष मारमा नेपाल पनि परेको छ भने धरान त्यसबाट अछूतो छैन । जलवायु परिवर्तनको प्रभावबाट उच्च जोखिममा रहेको देशमध्ये नेपाल पनि रहेको बताइन्छ । सन् २०१९ मा एसियाली विकास बैङ्कले गरेको अध्ययनले २०५० सम्ममा जलवायु परिवर्तनका कारण नेपालले वार्षिक कुल गार्हस्थ्य उत्पादनको २ दशमलव २ प्रतिशत गुमाउने जनाएको छ । 

हरेक वर्ष तापक्रममा केही वृद्धि भइरहेको तथ्याङ्कहरूले पनि पुष्टि गर्दै आएका छन् । धरानकै तथ्याङ्कले पनि यसलाई पुष्टि गरेको छ । धरानस्थित जल तथा मौसम विज्ञान कार्यालयका अनुसार सन् २०२२ को नोभेम्बार महिनामा औसतमा २९.५ डिग्री सेल्सियन अधिकतम तापक्रम देखिन्छ भने न्यूनतम १५.९ डिग्री सेल्सियस देखिन्छ ।

सन् २०२३ को नोभेम्बरमा पनि औसतमा अधिकतम २९.९ डिग्री सेल्सियस र न्यूनतम १७.२ डिग्री सेल्सियस देखिन्छ । यस्तै सन् २०२२ को जनवरीमा अधिकतम २२.४ डिग्री र न्यूनतम १०.९ डिग्री तापक्रम देखिन्छ । यता सन् २०२३ को जनवरीमा अधिकतम २३.१ डिग्री र न्यूनतम १०.९ डिग्री तापक्रम रहेको देखिन्छ । यो तथ्याङ्कले पनि बर्सेनि न्यूनतम र अधिकतम तापक्रममा आंशिक वृद्धि भइरहेको देखाउँछ । यसले पनि धरानमा हुस्सु लाग्ने दरमा परिवर्तन भएको अनुमान गर्न सकिन्छ । 

आईयूसीएन नेपालका पूर्वप्रमुख, वातावरण तथा संरक्षणविद् राजेन्द्र खनाल धरानमा हुस्सु लाग्नुलाई जलवायु परिवर्तनको असर ठान्छन् । विगतको अनुभव सेयर गर्दै उनी भन्छन्, ‘तराईमा शितलहर चले पनि धरानमा मौसम सफा नै हुन्थ्यो । तर, केही दशकयता धरानमा पनि बाक्लो हुस्सु लाग्न थालेको छ । तराईको तातोपना धरानमा पनि सर्दै छ ।’

मौसमविद्हरू भने भौगोलिक अवस्थितिका कारण हुस्सु बढिरहेको बताउँछन् । जल तथा मौसम विज्ञान विभागका मौषमविद् सरोज पुडासैनी भन्छन्, ‘भौगोलिक अवस्थिति र ‘रेडिएसनल कुलिङ’ का कारणले शितलहर चल्ने गर्छ ।’ तर धरानमा के कारणले हुस्सु बढिरहेको छ भन्ने विषयमा व्यापक अनुसन्धान हुन नसकेकाले यसै भन्न सक्ने अवस्था नरहेको बताउँछन् । यता धरानका अग्रजहरूले १० वर्षयता हुस्सुको मात्रा निकै बढेको ठान्छन् । 

(खिलानाथ विकको सहयोगमा)