विराटनगर । मोरङको धनपालथान गाउँपालिस्थित उमागौरी कृषि सहकारी संस्थाको करोडौँ रुपैयाँ ठगी मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि पाँच दिनको बिदा मागी शिक्षक अञ्जला कोइराला फरार भएकी छन् ।
विराटनगरस्थित विराट महेन्द्र रात्रि मा.वि.मा अध्यापन गराउँदै आएकी कोइराला ठगी मुद्दामा मोरङ अदालतबाट पक्राउ पुर्जी जारी भएपछि पुस १ गतेबाट लागू हुने गरी पाँच दिनको बिदा लिई सम्र्पकविहीन भएकी हुन् । सहकारी ठगी प्रकरणमा कोइरालासहित २५ जनाविरुद्ध जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले सोमबार ३५ दिने अदालती पक्राउ पुर्जी जारी गरेको छ । मुद्दा दायर हुँदासम्म उनी विराटनगरस्थित निवासबाट विद्यालय गई दैनिक हाजिर गरिरहेको जानकारहरू बताउँछन् । जिल्ला सरकारी वकिलको कार्यालयले २७ मङ्सिरमा उनलाई ‘फरार सूचीमा राखेर’ सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरेको थियो । अदालतबाट उनीसहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी हुने सङ्केत पाएपछि उनी फरार भएको स्रोत बताउँछ । मुद्दा दायर भएको बखतसम्म गत शुक्रबार विराटनगरको सहिद रङ्गशालामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएको प्रत्यक्षदर्शी बताउँछन् । आइतबार बिरामी भएको भन्दै विद्यालयलाई पाँच दिनको बिदा मागेको विराट महेन्द्र रात्रि मा.वि.का प्रधानाध्यापक झनकप्रसाद पराजुलीले जानकारी दिए । ‘उहाँले बिरामी भएँ भनेर पाँच दिनको बिदाको लेटर लेख्नुभएको छ’–उनले फोनसम्पर्कमा भने ।
ठगी प्रकरणमा जोडिएकी कोइराला, प्रतिनिधि सभाको सार्वजनिक लेखासमितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी हुन् । अञ्जला वि.सं. २०७२ देखि ०७८ सम्म सहकारीको सञ्चालक थिइन् । उनलाई आरएसडीसी लघुवित्त संस्थाले कालोसूचीमा राखेको छ । उमागौरी सहकारीमा २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ अपचलन भएको दाबीसहित अभियोग–पत्र दायर भएको छ । प्रतिवादीहरूलाई बिगो कायम गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदाबी अभियोग पत्रमा छ । सहकारीसम्बद्ध २६ जनाविरुद्ध गत मङ्सिर २७ गते मुद्दा दायर भएको छ । मङ्सिर २८ गते जिल्ला अदालत मोरङले सहकारीका एकजना सञ्चालक सदस्य तथा धनपालथान गाउँपालिका–४ का पूर्व वडाध्यक्ष रोशन राजवंशीलाई पक्राउ गरी पुर्पक्षमा पठाइसकेको छ ।
सहकारी रजिष्ट्रार कार्यालयले उक्त सहकारीका विषयमा प्रतिवेदन दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । त्यसपछि केही सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भयो तर लेखा समिति सभापतिकी पत्नी अञ्जलाविरुद्ध भने अनुसन्धान भएको थिएन । अदालतको आदेशपछि फरार अभियुक्त खोजी र पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको छ । ३५ दिनभित्र अदालतमा स्वयम् हाजिर नभएमा प्रहरीले फरार सूचीमा राखेर खोजतलास गर्नेछ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले अदालतले ३५ दिने अदालती पक्राउ पुर्जी जारी गरिसकेकाले प्रतिवादीको खोजीमा प्रहरी लागिपरेको बताए । ‘खोजी तीव्र पारेका छौँ’ उनले भने, ‘अदालतमा स्वयम् हाजिर भए भइहाल्यो, नत्र प्रक्रियाअनुसार पक्राउ गरी अदालतमा उपस्थित गराउनेछौँ ।’
ठगी प्रकरण के हो ?
लेखा समिति सभापति सङ्घीय सांसद् ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन् । सहकारी सङ्कटमा परेको सङ्केत पाए पछि उनले २०७८ माघ ५ गते राजीनामा दिएकी थिइन् । अञ्जला वि.सं २०७२ देखि ०७८ सम्म सञ्चालक थिइन् । सोही समयमै सहकारीको रकम अपचलन भएको थियो ।
उनले महानगरपालिकाको शिक्षा महाशाखाको अभिलेखमा स्कुलबाट तलब पनि बुझिरहेको विवरण देखिन्छ । उमागौरी सहकारी सांसद् पोखरेलकै अगुवाइमा स्थापना भएको थियो । जसले गर्दा उनले आफ्नै पत्नीलाई सञ्चालक बनाएका थिए । सहकारी ठगी प्रकरणपछि कोशी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले अनुसन्धान गर्दा अञ्जलाको नाम हटाई प्रतिवेदन तयार गरेको थियो । विगत डेढ वर्षदेखि उमागौरीको कर्सियास्थित कार्यालय बन्द छ । रकम अपचलन सार्वजनिक भएपछि २० जना ऋणीले आफूहरू ठगिएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । महिला उद्यमशील कर्जाका नाममा सदस्यको कागजात सङ्कलन गरी सहकारीका पदाधिकारी तथा सञ्चालकले नबिल बैङ्कबाट ऋण निकालेका थिए । तर, संस्थाले केही सदस्यहरूलाई मात्रै ऋण दिएको थियो । ऋणीबाट सहकारीमा प्राप्त किस्ताबापतको रकम बैङ्कमा दाखिला नगरी घोटाला गरेको अनुसन्धानको क्रममा खुलेको थियो । ऋणीले बुझाएको रकम सञ्चालक आफैले प्रयोग गरेको प्रहरी अनुसन्धानबाट देखिएको थियो ।
‘नबिल बैङ्कलाई देखाई मिलाई संस्थाबाट वचतकर्ताहरूले लिने गरेको ऋणमा समेत हेरफेर गरी शेयर कमिसन, नियम विनियमको अवज्ञा गरी विभिन्न स्थानमा शाखा खोली बचत रकम उठाउने गरेको, कर्जा कमिसन तथा ऋण प्रवाह नगरी केही रकम मात्र प्रवाह गरी रकम खाने पचाउने नियतले संस्थाको जम्मा रकम २२ करोड ४८ लाख २७ हजार सातसयष् रुपैयाँ २० पैसा हिनामिना गरी सहकारी ऐनले निषेधित कार्य कसूर गरेको वारदात स्थापित हुन आयो’ प्रतिवादीविरुद्धको अभियोग पत्रमा उल्लेख छ । प्रहरीका अनुसार पदाधिकारी तथा सदस्यहरूले संस्थालाई नाफामा देखाउने उद्देश्यले गलत लेखा परीक्षण गराउने गरेको, संस्थाको बैठकमा सबै उपस्थित भएर निर्णय गर्ने गरेकोले ठगी प्रकरणमा सबैको संलग्नता देखिएको छ ।
अभियोग पत्रमा महिला उद्यमशीलता कर्जाको रकम पीडितको जग्गा धितोमा राखेर नबिल बैङ्कबाट ऋण प्रवाह गराई केही हिस्सा पीडितलाई दिने गरेको र बाँकी रकम लेखा समिति सभापतिकी पत्नी ‘अञ्जलासहितका अभियुक्तहरूले मिलेर खाएको’ अभियोगपत्रमा उल्लेख छ ।
अभियुक्तहरूले सहकारी ऐन, २०७४ को दफा १२२ को देहाय (घ), (ङ), (च), (छ) (ज), (ञ) र (त) बमोजिमको कार्यकसूर गरेको सप्रमाण पुष्टि भएको अभियोग पत्रमा उल्लेख छ । अभियुक्तहरुलाई सहकारी ऐनको दफा १२४ को उपदफा (१) को देहाय (घ) (५) बमोजिम बिगो कायम गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदावी पेश गरिएको छ । सरकारी वकिलको कार्यालय मोरङले दायर गरेको अभियोगपत्रमा ८ हजार ८ सय ४२ जना शेयर सदस्यहरूको ३ करोड ८ लाख ८० हजार ३ सय रुपैयाँ सेयर रकम रहेको र ७ सय ७ जना ऋणीहरूले २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ संस्थाबाट ऋण लिएको उल्लेख छ । जसमध्ये ८ करोड १३ लाख ६४ हजार ७ सय रुपैयाँ उठेको र बाँकी १६ करोड १६ लाख ५७ हजार ८ सय ३२ उठ्न बाँकी देखिएको उल्लेख छ ।
यी हुन् २५ प्रतिवादी
फरार प्रतिवादीको सूचीमा नेकपा (एमाले)का नेता मोरङको रङ्गेली नगरपालिका–२ का वडाध्यक्ष ४३ वर्षीय सन्तलाल खवास, सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार, सञ्चालक अञ्जला कोइराला, रोशन राजवंशी, लक्ष्मण साह रौनियार, आलम अनसारी मियाँ, शम्भुप्रसाद सिंह, आमोदकुमार मण्डल, ज्योति बाँस्कोटा, सुमन लोहनी, मित्रप्रसाद शिवाकोटी, सरदराज सिंह, जितमान ठाकुर, विजयकुमार यादव, सुरेन्द्रकुमार राजवंशी, अशोककुमार विश्वास, दिलमाया राई, उपासी राजवंशी, सोनु यादव, मोहम्मद नजाम उद्दीन, चम्पा गिरी, शम्भुप्रसाद सिंह, सन्तलाल खवास, लक्ष्मीदेवी कार्की, मो. नसरुद्दीन, मनोजकुमार सोनी र यशोदाकुमारी राजवंशी छन् ।