धरान । धरानमा झन्–झन् व्यापार–व्यवसाय खस्कँदै गएपछि यहाँका उद्योगी व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । विगतको गुल्जार धरानलाई फर्काउन स्थानीय सरकारसमेत मौन रहेको भन्दै उनीहरूले चिन्ता गर्न थालेका हुन् ।

बिहीबार धरानको होटल ड्रिमल्याण्डमा नेपाल पत्रकार महासङ्घ सुनसरीका नवनिर्वाचित अध्यक्ष सन्तोष काफ्लेलाई बधाइ दिन भेला भएका उद्योगी व्यवसायीहरूले धरानको साख जोगाउन सबै सरोकारवालाहरू चिन्तित हुनुपर्ने बताए ।

एक लाख ६६ हजार ५ सय ३१ जनसङ्ख्या भएको लाहुरेको सहर धरान कुनै समय गुल्जार थियो । कोशी करिडोरका पहाडी जिल्लाहरूमा खाद्यान्नलगायतका सामग्रीको निर्यात धरानबाट हुने गरेको थियो । व्यापारको ट्रान्जिट पोइन्ट धरान थियो । ओखलढुङ्गा, सोलु, ताप्लेजुङ, पाँचथर, खोटाङलगायतका पहाडी जिल्ला जाने बस, ट्याक्सीहरूको भीड धरानमा हुने गर्दथ्यो । बिहान ४ बजे गाडी चढेर ती जिल्लाहरूमा जान यात्रुहरू अघिल्लो दिन नै धरान आएर बस्ने गर्दथे । जसका कारण यहाँका होटल व्यवसाय पनि चलायमान थियो । ट्याक्सीहरूले इटहरीलाई सेन्टर पोइन्ट बनाएपछि पहाडी जिल्लाका व्यवसायीहरू धरानबाट सामान लिन छाडेर इटहरी, विराटनगर धाउन थालेका छन् ।

चैनपुर–७ मा सिलाइ कटाइ व्यवसाय गर्दै आएकी मनमाया तामाङ विगतमा धरानको पुरानो बजारबाट आफूलाई आवश्यक सामान लिएर धरानबाट बिहानै गाडी चढेर जाने गरेकी थिइन् । ट्याक्सीहरूले इटहरी स्टेन्ड बनाएपछि उनी सिधै इटहरी पुगेर सामान पनि त्यहीँबाटै लिँदै आएकी छन् । ‘धरान अहिले अपायक भयो । इटहरीबाट गाडी भरिएर आउँछन्, सामान लान र आफू जानसमेत समस्या भएपछि सामान किन्न इटहरी नै जान बाध्य भएकी हुँ’–उनी भन्छिन् ।

यातायात सेवामा असहज, ढुवानी सेवा अभाव, पर्याप्त गोदामघरको अभावसँगै व्यापारमा मन्दीले धरानको व्यापार चौपट भएको सुनसरी उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष गिरीधारी सापकोटाले बताए । लोड अनलोडको महँगो मूल्य, ट्राफिक प्रहरीको ज्यादतीलगायतका कारण पनि यहाँको व्यापार–व्यवसाय गुल्जार हुन नसकेको उनको भनाइ छ । स्थानीय सरकारसँग सहकार्य गरेर सुनसरी उद्योग वाणिज्य सङ्घले व्यवसायीहरूको समस्याबारे बृहत् छलफल गर्नु पर्ने सापकोटाको सुझाव छ ।

धरानको साख फर्काउन सरकारले धरान–६ मा निर्माण गर्ने भनिएको ‘औद्योगिक ग्राम’ सञ्चालन गर्नु जरुरी भएको अर्का युवा व्यवसायी नवीन राजभण्डारीले बताए । ‘धरानका धेरै व्यवसायी पलायन भइसके । भएकाले व्यवसाय पनि धान्न गाह्रो हुँदै आएको छ । सरोकारवालाहरूले अब चिन्ता गर्नुपर्ने बेला आएको छ’–राजभण्डारीले भने ।

राजमार्ग क्षेत्रमा अधिकांश सटरहरू यतिबेला खाली छ भनेर सूचना टाँसिएको छ । लगानीमैत्री वातावरण र स्थानीय सरकारले पनि यहाँका व्यवसायीहरूका लागि कर सहुलियतलगायतका विषयमा कुनै पहल नगर्दा यहाँको व्यापार–व्यवसाय क्रमशः घट्दै गएको सुनसरी उद्योग वाणिज्य सङ्घका सदस्य तथा होटल व्यवसायी नारायण लिम्बूले बताए ।

धरान पुरानो व्यापारिक केन्द्रको रूपमा परिचित सहर हो । पूर्वी पहाडी जिल्लाबाट कुनै समय हिँडेर आई यहाँबाट नुन, खाद्यान्न र अति आवश्यकीय वस्तु खरिद बिक्री गर्ने गरेको इतिहास धरानले बोकेको छ । धरानलाई अझै पनि व्यापारीहरूको सहर भनेर चिनिन्छ । तर पछिल्लो समय धरानको व्यापार–व्यवसाय चौपट हुन थालेको छ । विशेषगरेर कोरोनाको समयदेखि आर्थिक मन्दीले गर्दा थिलथिलो भएको धरानको व्यापार–व्यवसाय उठ्न सकिरहेको छैन । कोरोनाअघि मासिकरूपमा धरानको व्यापार–व्यवसायबाट ९० करोडसम्मको कारोबार हुँदै आएको थियो । मुलुककोे अर्थतन्त्रमा धरानको व्यापार र व्यवसायले ठूलो मात्रामा सहयोग गरेको थियो ।

तर कोरोनापछिको समयमा धरानको व्यापार व्यवसाय चौपट मात्रै भएको छैन, व्यापारीहरूले कोठाभाडा तिर्नसमेत नसकेपछि धरान बजारका अधिकांश सटरहरू खाली हुन थालेको व्यवसायीहरूको भनाइ छ । यहाँका व्यापारीहरू धमाधम पलायन हुन थालेको सापकोटाले बताउँछन् । 

‘मासिक ९० करोडसम्म कारोबार हुने तथ्याङ्क थियो । तर अहिले त्यस्तो छैन, व्यापार–व्यवसाय चौपट भएको छ’ सापकोटाले भने, ‘यहाँका व्यापारीहरूले इटहरी, विराटनगरजस्ता स्थानमा व्यापारको निम्ति विकल्प खोज्न थालेका छन् । धरानका लागि यो दुभौग्य हो ।’

यहाँको स्थानीय सरकार र सरोकारवालाहरूको बेवास्ताले पनि व्यापार–व्यवसाय माथि उठ्न नसकिरहेको धेरैको बुझाइ छ । स्थानीय सरकारले यहाँ व्यापारी व्यवसायी टिकाउने कुनै असल योजना ल्याउन सकेको छैन । स्थानीय सरकारले यहाँका व्यवसायीहरूसँग छलफल र संवादसमेत गर्न सकेको छैन । आन्तरिक राजस्व कार्यालयले पनि करको नाममा खुद्रा व्यवसायीहरू र साना व्यवसायीहरूलाई बढी दुःख दिने गरेको उनीहरूको गुनासो छ ।

धरानको आर्थिक उन्नति गर्न ट्राफिक व्यवस्थापन, लगानीमैत्री वातावरण, करमा सहुलियत, बैङ्किङ कारोबारमा सहजता, ढुवानी सेवालाई धरान केन्द्रित बनाउन जरुरी भएको पूर्वाञ्चल यातायात दुर्घटना नियन्त्रण प्रा.लि.का अध्यक्ष सूर्य पोखरेल बताउँछन् ।

यहाँ व्यापार–व्यवसाय चुनौतीपूर्ण भएको निर्माण व्यवसायी नरेश मगर बताउँछन् । धरानको व्यापार–व्यवसाय टाट पल्टिने अवस्थाबाट गुज्रिएको उनको भनाइ छ ।  पछिल्लो समय धरानका विषयमा धरानबाहिर नकारात्मक हल्ला भएको कारण पनि त्यसको असर व्यापार–व्यवसायमा परेको उनीहरूको बुझाइ छ । धरानमा बाहिरका मानिसहरू आउन रुचाउन छाडेका छन् । घुम्न आउनेहरू पनि प्रायः बास बस्न इटहरी, विराटनगर पुग्ने गरेकाले यहाँका होटल व्यवसायमा समेत असर परेको होटल व्यवसायीहरू बताउँछन् । 

महाभारत चुरे शृङ्खलासँग जोडिएको १ सय ९२ दशमलव ६१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको धरान करिब ३१.९२ क्षेत्रफलमा मात्रै व्यापार–व्यवसाय गर्न योग्य क्षेत्र छ । धरानको व्यापार–व्यवसायले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा थोरबहुत योगदान दिँदै आएको पाइन्छ । तर पछिल्लो समय घटेर गएको छ । क्षेत्रफलका हिसाबले सानो भए पनि ‘उत्तर–दक्षिण व्यापारका लागि धरानले ठूलो सहयोग पुर्याएको केन्द्रीय तथ्याङ्क विभाग २०७४’ को प्रतिवेदनमा उल्लेख छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घमा २०७९ मा वस्तुगत, वाणिज्य, उद्योग, एसोसिएट गरी ३ हजार ५ सय व्यापारिक प्रतिष्ठान नवीकरण भएका छन् । ८ हजारभन्दा बढी व्यवसायी दर्ता भएको सङ्घको रेकर्डमा छ । तर सबै चलायमान भने नभएको सङ्घका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ बताउँछन् । २०८०÷०८१ मा ७ सय नयाँ व्यवसाय दर्ता हुने श्रेष्ठले बताए । नयाँ बढेको देखिए पनि पुराना व्यवसाय निकै बन्द अवस्थामा रहेको उनले बताए । व्यवसायीहरूले उद्योग वाणिज्य सङ्घको निर्वाचनमा सहभागिताका लागि मात्र नवीकरण गर्ने गरेको व्यवसायीहरू बताउँछन् । 

कुनै बेला धरान शिक्षाको ‘हब’ थियो । शैक्षिक क्षेत्रबाट धरानले राम्रै आम्दानी गर्दै आएको थियो । धेरै विद्यार्थीहरू पहाडबाट अध्ययनका लागि धरान आउने गर्दथे । इटहरी, विराटनगरलगायतका सहरमा राम्रा कलेजहरू खुले पछि ती विद्यार्थी धरान आउन छाडे । यहाँ भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि फितलो व्यवस्थापन र बिरामीलाई झन्झट दिने प्रशासनिक प्रक्रियाले पहाडीभेगबाट उपचार गर्न आउने बिरामी पनि पछिल्लो समय विराटनगरतिर खुलेका ठूला र आधुनिक अस्पतालतिर सिधै जान थालेका कारण धरान सुनसान बन्न थालेको स्थानीय बताउँछन् । सिटी स्क्यान, एमआरआईजस्ता मेसिन नहुँदा यहाँको आम्दानी अन्यत्र गइरहेको छ । यहाँ राम्रो जनशक्ति भए पनि अस्पताल प्रशासनको उचित व्यवस्थापन अभावले    बिरामीले राम्रो सेवा लिन पाएका छैनन् ।

इन्जिनियरिङ अध्यायपन हुने पूर्वाञ्चल क्याम्पस, विज्ञान विषय अध्यापन हुने हात्तीसार क्याम्पस, संस्कृति विषय अध्यापन हुने पिण्डेश्वर विद्यापीठ र शिक्षा, मानविकी, व्यवस्थापन र कानूनको विषयमा अध्यापन हुने महेन्द्र बहुमुखी क्याम्पसमा ५० प्रतिशतभन्दा बढी विद्यार्थी सङ्ख्या घटेको छ । विद्यार्थी कोटा पूरा गर्न नै समस्या हुने गरेको सम्बन्धित क्याम्पसहरूले जनाएका छन् ।

धरानको व्यापार–व्यवसायमा व्यापक मन्दी आएको र व्यापारीहरू पलायन हुन थालेको भन्ने विषयले चर्चा पाइरहेका बेला मन्दीको प्रभाव र पलायनबारे कुनै आधिकारिक निकायले अध्ययन अनुसन्धान भने गरेको छैन । धरान उपमहानगरमा आधिकारिक कुनै तथ्याङ्कसमेत छैन । धरानको व्यापार–व्यवसाय घटेको चर्चा भए पनि यसको तथ्याङ्क उपमहानगरमा नभएको धरान उपमहानगरपालिका योजना महाशाखा प्रमुख सुरज श्रेष्ठ बताउँछन् । ‘उपमहानगरले आवधिक योजना बनाउँदै छ, उक्त योजनामा भने धरानको आर्थिक रूपरेखा आउनेछ’–योजना महाशाखा प्रमुख  श्रेष्ठले भने ।

धरानको आर्थिक उन्नति र व्यवसाय प्रवद्र्धनमा उपमहानगरको भूमिका शून्य भएको व्यवसायीहरूको आरोप छ । स्थानीय व्यापार र व्यवसाय प्रवद्र्धनका लागि उत्साह जगाउने उपमहानगरले कुनै कार्यक्रम नल्याएको व्यवसायीहरूको गुनासो छ । उपमहानगरले यही पुस २० गते धरान स्थापनाको अवसरमा धरान डे बृहत् कार्यक्रम गरेर मनाउने तयारी गरेको छ । एक सातासम्म विभिन्न कार्यक्रम गरी धरान डे मनाइरहँदा यहाँका व्यापार व्यवसायसम्बन्धीका समस्याबारे बहस छलफल गर्न उपमहानगरले कुनै कार्यक्रम तय गरेन । पुस २० गतेदेखि २४ गतेसम्म चल्ने धरान डेमा धरानको आर्थिक एजेण्डामा छलफल गर्ने कुनै कार्यक्रम तय गरिएको छैन । कार्यक्रममा खेलकुद र साङ्गीतिक कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।