धरान । धरानको बूढासुब्बा गोल्डकप इतिहासमा अमिट छाप बनेर ‘नेपाली फुटबल’ मा रहने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिमलाई नेपाली फुटबलमा भिœयाएर नेपाली फुटबललाई जुरुक्कै उचालेको छ । रजत वर्षमा प्रवेश गरेसँगै बूढासुब्बा गोल्डकपले नयाँ इतिहास कायम गरेको छ ।
विश्व रङ्गमञ्चमा फुटबलका फ्यान फलोइङहरू नै धेरै छन् र विश्वमा सबैभन्दा बढी खेलिने खेलमध्येमा पनि पर्छ । यसले गर्दा पनि फुटबलमा धरानेको पहिचान नै ‘बूढासुब्बा गोल्डकप’ ले बनाएको छ । २०५५ सालदेखि निरन्तर हुँदै आएको बूढासुब्बा गोल्डकपले रजत वर्षमा प्रवेश गरिरहँदा विभिन्न आयाम सिर्जना गरेको अवस्था छ । बूढासुब्बा गोल्डकपको विभिन्न आयामलाई हेरेर हामीले सात आयामबारे चर्चा गरेका छौँ ।
मिनी ब्राजिल
फुटबल भनेपछि ब्राजिल ‘पर्याय’ बन्ने गरेको छ । धेरैको दिमागमा पेले पुस्तादेखि भिनिसियस जुनियरको पुस्ता अर्थात् जेन–जी पुस्तासम्मले पहिरिँदै आएको ‘पहेँलो जर्सी’ को याद आइहाल्छ । यो त भयो विश्व फुटबलको कुरा । धरानलाई स्मरण गर्नेहरूले ‘मिनी ब्राजिल’ भनेर स्मरण गर्छन् । यो यहाँ मात्रै नभई नेपालभरि नै फुटबलमा मिनी ब्राजिलको नामले पहिचान बनाएको छ । भलै यहाँको क्लबले पहेँलो जर्सीलाई आधिकारिक जर्सी बनाएको छैन ।
पुराना पुस्तादेखि आजको जेन–जी पुस्तासम्म पनि धरानको फुटबलबारे अवगत छन् । फुटबलका गतिविधि पर्याप्त हुने भएकाले पनि धरानलाई मिनी ब्राजिलको उपनाम दिइएको हो । बूढासुब्बाकै कारण यहाँ टोल–टोलमा फुटबल खेलिन्छ । त्यसैले त होला धरानमा अहिले फुटबलको अर्को रूपमा फुटसलका मैदानहरू प्रशस्तै छन् ।
गोल्डकपको वीज
नेपालमा बूढासुब्बा गोल्डकप हुनुअघिसम्म ‘गोल्डकप’ नै भनी प्रतियोगिता गरिएको इतिहास छैन । त्यसअघिसम्म राजाका नाममा तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको नाममा प्रतियोगिता गराइँदै आएको इतिहास छ । जस्तोः महेन्द्र शिल्ड, वीरेन्द्र शिल्ड, विराट शिल्ड आदि । २०५५ सालदेखि बूढासुब्बा गोल्डकपको नाममा खेलाउन थालिएपछि नै गोल्डकपको वीजारोपण भएको हो । धरानले गोल्डकप सुरु गरेको केही समयपछि नै पोखरामा गोल्डकप सुरु भएको हो । पचासको दशकमा गोल्डकपको सुरुवात गर्ने पहिलो श्रेय नै बूढासुब्बा गोल्डकपलाई जान्छ । त्यसपश्चात् नै पोखरामा आहा रारा गोल्डकप सुरु भएको हो ।
यसपछि ६० को दशकको अन्त्यतिर तथा ७० को दशकमा गोल्डकपको बाढी आयो । जुन अहिले पनि निरन्तर छ । आयोजक धरान फुटबल क्लबले गोल्डकपको सुरुवात गर्ने पहिलो क्लब भएको दाबी यसअघि पनि गर्दै आएको हो र इतिहासले पनि त्यस्तै देखाउँछ । आजका दिनमा विभिन्न नाममा गोल्डकपहरू खेलाइँदै आएको छ भने केही गोल्डकपलाई मात्रै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आफ्नो तालिकामै राखेर खेलाउँदै आएको छ । जसमध्ये बूढासुब्बा पहिलो मानिन्छ ।
मन्दिरको नाममा गोल्डकप
नेपालको इतिहासलाई केलाउँदा फुटबलको प्रारम्भ राणाकालबाटै भएको मानिन्छ । वि.सं. १९२१ मा फुटबलको प्रारम्भ भएको मानिन्छ । जसलाई नारायण नरसिंह राणालाई नेपाली फुटबलका ‘पायोनियर’ मानिन्छ । नेपालमा अधिकांश खेलहरू राणा, राजा, उनीहरूका सन्तानहरूको नाममा अर्थात् समाजका लब्धप्रतिष्ठितको नाममा मात्रै प्रतियोगिता भएको पाइन्छ । नेपालमै पनि महेन्द्र शिल्ड, वीरेन्द्र शिल्ड, राष्ट्रपति रनिङ शिल्डलगायत सबै राजा तथा राष्ट्राध्यक्षको नाममा खेलाइँदै आएको थियो ।
तर, धरानमा गोल्डकपको सुरुवात नै भगवान्को नाममा सुरु गरिएको हो । धरानमा बूढासुब्बा अर्थात् बूढा बाजेको मन्दिरको नामबाट गोल्डकप खेलाउन थालिएको थियो । जुन आजपर्यन्त जारी छ । नेपालमा अन्य फुटबलहरू मन्दिरका नाममा खेलाइएका छैनन् । पोखरामा सुरु भएको आहा रारा गोल्डकप तालको नामबाट खेलाइएको हो । यस्तै अन्य गोल्डकपहरू पनि स्थानका नामबाट खेलाउने गरिएका छन् ।
विदेशी टिम
नेपालमा विदेशी टिमहरूलाई स्वागत गर्ने पहिलो फुटबल पनि बूढासुब्बा नै भएको आयोजक दाबी गर्छन् । २०५५ सालमा सुरु हुँदा पहिलो बूढासुब्बा नै विदेशी टिमले जितेको थियो । बूढासुब्बालाई अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपको नामले पनि चिनिन्छ । छोटकरीमा चाहिँ बूढासुब्बा गोल्डकप भनिन्छ ।
पहिलो गोल्डकपमा भारतको टिम बुल्गेरिया स्पोर्टिङ क्लबले उपाधि नै जितेर इतिहास रचेको थियो । यस्तै २०५७ सालमा भएको तेस्रो बूढासुब्बा पनि विदेशी टिमले नै जितेको थियो । जसमा बङ्गलादेशको धनमुन्दी क्लब रहेको थियो । यसरी विदेशी अर्थात् पाहुना टिमले बूढासुब्बामा फरक पहिचान मात्रै बनाएन । बूढासुब्बामा विदेशी टिमकै कारण चर्चामा रह्यो । विदेशी टिम भिœयाउने नेपालको पहिलो क्लब भएको क्लबको दाबी छ । यस्तै २०६२ सालमा पनि अफ्रिकन युनाइटेड क्लबले उपाधि जितेको थियो भने २०६९ सालमा हङ्कङ नेपाली महासङ्घ (हङ्कङ) ले उपाधि जितेको थियो । लगत्तै अर्को वर्ष अर्थात् २०७० मा पनि अफ्रिकन युनाइटेड क्लबले उपाधि जितेको थियो ।
विदेशी टिममा दोहोरो उपाधि जित्ने पहिलो टिम नै अफ्रिकन युनाइटेड बन्न पुगेको छ । यस्तै २०७५ सालमा डाफिन्स क्यामरुन र २०७९ मा केमरुन एफसीका नाममा उपाधि जितेको थियो । यसरी हालसम्म बूढासुब्बा गोल्डकपका ७ वटा उपाधि विदेश भित्रिएको छ । त्यस्तै २०६३ सालमा उपविजेता टिम पनि विदेशी टिम नै बन्यो । त्यो बेला अफ्रिकन युनाइटेड क्लब उपविजेता बनेको थियो ।
व्यावसायिक फुटबल
बूढासुब्बा गोल्डकपको सुरुवातसँगै व्यावसायिक फुटबलको प्रारम्भ भएको हो । क्लबले प्रतिखेलाडी तथा टिमलाई नै पैसा दिएर बोलाउने पहिलो गोल्डकप पनि हो । त्यसअघिसम्म पनि खेलाडी तथा टिमलाई पैसा दिने प्रचलन नभएको दाबी क्लबमा लामो समयसम्म अध्यक्ष चलाएका हाल एन्फा कोशी प्रदेशका अध्यक्ष किशोर राई बताउँछन् । प्रत्येक टिम र खेलाडीहरूलाई पैसा दिनुपर्ने भएकाले पनि क्लबलाई केही आर्थिक भार पर्ने गरेको क्लबले विगतदेखि बताउँदै आएको छ ।
सुरुवाती चरणमा १०–१२ वटा टिमलाई बोलाइने गरेको भए पनि पछिल्लो दशकमा ८ वटा टिमलाई मात्रै समावेश गर्दै प्रतियोगिता गर्दै आएको छ । एउटा टिमलाई धरान बोलाएबापत करिब ३ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । क्लबका सचिव नवीन राईका अनुसार बाहिरबाट आउने टिमलाई खेलाडीसहित २५ जनालाई १५ सयका दरले रकम दिने गरेको छ । यदि पहिलो म्याच जितेमा थप २० हजार ‘अलाउन्स’ र दोस्रो म्याच जितेमा ३० हजार रुपैयाँ ‘अलाउन्स’ दिने गरेको छ । १४ औँ बूढासुब्बा गोल्डकपबाट भने ८ वटा टिमलाई मात्रै नियमित रूपमा खेलाउने गरेको छ ।
झापालीको नयाँ पहिचान
काठमाडौँको आरसिटी क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका किशोर राई ‘झापाली’ को पहिचान बूढासुब्बा गोल्डकपबाट फेरियो । उनी व्यवस्थापकीय भूमिकामा देखिए । उनी स्वयम्ले बूढासुब्बा गोल्डकपको ‘भिजन’ ल्याएका थिए । २०५५ सालमा धरानका नगर प्रमुख मनोजकुमार मेन्याङ्बोको कार्यकालमा बूढासुब्बा गोल्डकपको सोच आएको हो ।
लामो समय राष्ट्रिय खेलाडी रहेका झापालीले धरान फुटबल क्लब गठन गर्दै गोल्डकपको अवधारणा ल्याए । त्यो अवधारणा नै आजका दिनमा रजत वर्षमा प्रवेश गरेको छ । सचिव राई भन्छन्, ‘गोल्डकपको भिजन ल्याउने नै किशोर राई हो । मनोज मेन्याङ्बोका पालामा भिजन ल्याएर बूढासुब्बा सुरु गरिएको हो ।’
धराने खेलाडीका लागि प्लेटफर्म
बूढासुब्बा गोल्डकप धराने खेलाडीका लागि नयाँ प्लेटफर्म बनेर आयो । बूढासुब्बाबाटै चम्किएका केही खेलाडीहरू राष्ट्रिय खेलाडीसम्म बने । बूढासुब्बा गोल्डकपकै कारण धरान फुटबलमय बन्यो । खेलाडीहरूका लागि नयाँ नयाँ अवसरहरू सिर्जना ग¥यो । आयोजकका अनुसार बूढासुब्बाकै कारण सुरज खालिङ, मिलन श्रेष्ठ, सुमन सुवेदी, रोमी मोक्तान, शिवु राना मगरजस्ता खेलाडीहरू राष्ट्रिय खेलाडी बन्न पुगे ।
निकै वर्ष उनीहरू विभिन्न टिममा आबद्ध भई व्यावसायिक फुटबलमा बिताए । बूढासुब्बाकै कारण धरानमा एन्फाले तल्लो तहबाटै फुटबललाई विकास गर्ने उद्देश्यले धरानमा ‘एन्फा टेक्निकल’ को भवन मात्रै बनेन । त्यहाँबाट खेलाडीहरू उत्पादन पनि गरियो । यहीँबाट केही राष्ट्रिय खेलाडी पनि बन्न पुगे ।